पुल निर्माणमा अवरोध «

पुल निर्माणमा अवरोध

जनकपुरधाम-नेपाल–भारतको दशगजा क्षेत्रमा पिलर नै हराएको स्थानमा जवर्जस्ती चेकपोष्ट बनाउने भारतीय सुरक्षा निकायले सीमाक्षेत्रमा नेपाललाई पुल बनाउन अवरोध सिर्जना गरेको छ । सम्पूर्ण प्रक्रिया पूरा गरेर सीमा क्षेत्रमा निर्माण गर्न लागेको पुल भारतीय पक्षको अवरोधका कारण निर्माण कार्य अलपत्र परेको हो ।
धनुषाको मुखियापट्टी मुसरनिया गाउँपालिका वडा नं. ६ स्थित सानो सीमास्तम्भ २८७/२२ देखि दक्षिण–पश्चिम र मुख्य सीमास्तम्भ २८८ देखि ४ सय ५० मिटर उत्तर–पूर्वमा जमुनी नदीको ४० मिटर लम्बाइको पुल निर्माण भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले रोकेको छ । मुखियापट्टी मुसरनियालाई भारतको व्यापारी केन्द्र साहरघाट जोडने पुल निर्माणमा एसएसबीले अवरोध गर्दा निर्माण अन्यौलमा परेको छ ।
सडक डिभिजन कार्यालय जनकपुरको ८ करोड ४९ लाखको लागतमा सम्पूर्ण प्रक्रिया पूरा गरी पुल निर्माणका लागि गरेको टेण्डर रमण कमल जेभी कन्ट्रक्सनले ठेक्का कबोल गरेको छ । ठेक्का कबोल गरेर काम गर्दा भारतीय सुरक्षाकर्मीको अवरोधले निर्माण अन्योलमा परेको छ ।
गत महिना नेपाली सुरक्षा निकायले चेक पोष्ट दगजामा पर्ने भएकोले निर्माण रोक्न खोज्दा खोज्दै निर्माण कार्य अगाडि बढाएका थिए । भारतीय पक्षले नेपालतर्फको पुल नै भारतमा रहेको दाबी गर्दै भारतीय अधिकारीले नेपाली सुरक्षा निकायलाई गालीगलौज गर्नुको साथै अपशब्द समेत प्रयोग गरेको थिए ।
भारतीय पक्षले चेक पोष्ट बनाउने विषयमा विवाद बढेपछि नापी विभाग काठमाडौंका प्रमुख नापी अधिकृतसहितको टोलीले विवादित क्षेत्रमा पुगेर अवलोकन गर्दा दशगजाभन्दा पूर्व र जमुनी पुलको दक्षिण पूर्वको २८४/३५ र दक्षिण पश्चिमतिरको रिफरेन्स पिलर एसपी ५१ बीचको २ सय ८५ नम्बर स्तम्भ हराइरहेको पाइयो । प्रमुख नापी अधिकृत रमेश ज्ञवाली र नापी अधिकृत निर्मल कोइरालाको टोली धनुषाको जटही र भारतको पिपरौन जोड्ने दशगजा क्षेत्रकोे २ सय ८५ नम्बर स्तम्भ हराइरहेको बताए । प्रमुख नापी अधिकृत ज्ञवालीले सीमा स्तम्भको ‘पोजिस्निङ’ लिएर अध्ययन पछि मात्रै निर्माणाधीन क्षेत्र दशगजामा पर्ने/नपर्ने यकिन हुने बताए ।
धनुषामा नेपाल भारत ४१ किलोमिटर सीमा क्षेत्रमा १७ मुख्य सीमा स्तम्भ, २४ सहायक सीमा स्तम्भ, ९९ सानो सीमा स्तम्भ गरी १ सय ४० सीमा स्तम्भमध्ये ७७ सीमा स्तम्भ हराएको छ । सानो सीमा स्तम्भ ९९ मध्ये ७७ हराएको र ३४ पुनः निर्माण गर्नु पर्ने अवस्थामा छ । जिर्ण ७७ सीमा स्तम्भ मर्मत गर्नु पर्ने अवस्थामा छ ।
नेपाल भारतको दशगजामा दुईतर्फी समन्वय नहुँदा हराएको, बगेको र जिर्ण सीमा स्तम्भको पुर्न निर्माण हुन सकेको छैन । सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षा निकायले नियमित संयुक्त गस्ती र अनुगमन गरेपनि यहाँको समस्या ज्यूँका त्यूँ छ । भारतीय पक्षले नेपालतर्फबाट बन्ने पुल पुलेसा, सडक तथा कलभर्ट निर्माणमा अवरोध गर्दै आएका छन् ।
किरण कर्ण

प्रतिक्रिया दिनुहोस्