नेपालीकरणका नाममा लाइसेन्स बिक्री

एक वर्षमा एउटै कार्यालयबाट २६ सय लाइसेन्स नेपालीकरणएक वर्षमा एउटै कार्यालयबाट २६ सय लाइसेन्स नेपालीकरण एउटा लाइसेन्सबापत ८० हजारसम्म लिएको अनुमान चारवटै कार्यालयको नेपालीकरणको फाइल छानबिन गरिरहेका छौं : विभाग |
सुकेधारामा रहेको सवारी चालक अनुमतिपत्र कार्यालयले नेपालीकरण (विदेशी लाइसेन्सलाई नेपालमा मान्यता दिने काम)का नाममा लाइसेन्स बिक्री गरेको भेटिएको छ । यातायात व्यवस्था विभागले डेढ सातापहिले नेपालीकरण गरिएका लाइसेन्सको फाइल झिकाएर छानबिन गरिरहेका बेला गत साता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुकेधारा कार्यालयका दुई कर्मचारीलाई घुस लिँदै गर्दा पक्राउ गरेको थियो । यससँगै उक्त कार्यालयले नेपालीकरणका नाममा लाइसेन्स बिक्री गर्ने गरेको पुष्टि भएको छ ।
विदेशी लाइसेन्सको नेपालीकरणमा अनियमितता भएको उजुरीपछि विभागले सुकेधारा कार्यालयलाई प्राथमिकतामा राखेर अन्य सबै कार्यालयबाट नेपालीकरण गरिएको फाइल मगाएर छानबिन सुरु गरेको थियो । त्यही बीचमा अख्तियारले छानबिनमै रहेको एउटा कार्यालयबाट घुससहित कर्मचारी पक्रिएको विभागले जनाएको छ । विभागले अन्य कार्यालयहरूमा पनि यस्तै अनियमितता भएको हुनसक्ने भन्दै छानबिनलाई तिब्रता दिएको यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईले जानकारी दिए । अहिले उपत्यकामा रहेका चारवटै लाइसेन्स कार्यालयबाट नेपालीकरण हुँदै आएको छ । “त्यसरी नेपालीकरण गर्दा सिधै अनियमितता भएको पाएका छौं,” महानिर्देशक भट्टराईले भने, “थप नेपालीकरण गरिएका फाइल विभाग झिकाएर छानबिन गरिरहेकाले दोषी पाइए कानुनअनुसार कारवाही गर्न मिल्नेलाई गर्छौ र नमिल्नेलाई कारवाहीका लागि माथिल्लो निकायलाई सिफारिस गर्छौं ।”
विभागले विदेशी लाइसेन्सलाई नेपालीकरण गर्न सकिने निश्चित ‘गाइडलाइन’ दिएको र त्यसभन्दा बाहिर गएर लाइसेन्स दिनेलाई क्षमा दिनसक्ने अवस्थामा आफूहरू नहुने भट्टराईले बताए । सरकारले सवारी चालक अनुमतिपत्र लिन चाहने सेवाग्राहीको सुविधाका लागि काठमाडौं उपत्यकामा एकान्तकुनाबाहेक थप तीनवटा नयाँ कार्यालय सञ्चालनमा ल्यायो । विभिन्न मितिमा ठूलो भ¥याङ, सुकेधारा र जगातीमा २०७३ मा नयाँ लाइसेन्स कार्यालय खुले । तर उक्त कार्यालयहरू लाइसेन्स लिनेका लागि सेवा दिनेभन्दा बिचौलियाको मिलेमतोमा लाइसेन्स बिक्री गर्ने अड्डाको रूपमा देखिन थालेका छन् ।
सुकेधारास्थित कार्यालयबाट स्थापनाको एक वर्ष नपुग्दै २ हजार ६ सयवटा विदेशी लाइसेन्स नेपालीकरण भइसकेका छन् । त्यसमध्ये विभागले ५ सयवटा स्याम्पल ल्याएर छानबिन गरिरहेका छ । अन्य सबै कार्यालयका नेपालीकरण गरिएका फाइसमेत ल्याएर छानबिन गरिरहेको छ । नेपालीकरण गर्दा एउटा लाइसेन्सबापत ८० हजार रूपैयाँसम्म लिइएको फेला परेको छानबिनमा संलग्न विभागका एक अधिकारीले जानकारी दिए । “यो त बसपार्कमा दसैंमा टिकट बिक्री गरेभन्दा पनि छाडा रूपमा लाइसेन्स खरिदबिक्री भएको देखिन्छ,” ती अधिकारीले भने, “यस्तो अवस्था आउँदासम्म विभागको गाइडलाइन नहेर्ने त्यहाँका कार्यालय प्रमुखमाथि नै गम्भीर प्रश्न तेर्सिएको छ ।”
नेपालीकरणसँगै वर्ग थप गर्नेमा पनि लाइसेन्स कार्यालयहरूबाट अनियमितता भएको आशंका भइरकेको छ । यातायात व्यवस्था विभागको नेतृत्व गरेयता विभागका महानिर्देशक भट्टराईले चारवटा अनियमितता बाहिर ल्याइसकेका छन् । उनले यसअघि भेरी अञ्चल लाइसेन्स कार्यालय, कोशीको राजस्व हिनामिना र महेन्द्रनगरमा चोरीका सवारी दर्ता गरिएका कुरा छानबिन गरी बाहीर ल्याएका थिए ।