टेलिकमको फोरजी २ सहरमा सीमित «

टेलिकमको फोरजी २ सहरमा सीमित

टेलिकमभन्दा झन्डै ६ महिनापछि फोरजी सञ्चालन इजाजत पाएको बहुराष्ट्रिय कम्पनी एनसेलले धेरै सहरमा फोरजी सेवा विस्तार गरिसकेको छ ।

नेपाल टेलिकमले फोरजी (फोर्थ जेनेरेसन) सेवा सुरु गरेको एक वर्षसम्म विस्तार गर्न असफल भएको छ । टेलिकमले निकै भव्यताका साथ सुरु गरेको पछिल्लो प्रविधि फोरजी सेवा एक वर्ष अवधिमा अझै दुई सहरमामात्र सीमित छ । अन्य मुलुकभन्दा निकै ढिलोगरी नेपालमा भित्रयाएको यो सेवा विस्तारमा कम्पनी कमजोर देखिँदा प्रतिस्पर्धी निजी कम्पनीले फाइदा लिएको छ ।
भ्वाइस सेवाका साथै डेटा सेवाको गुणस्तरमा फड्को मार्ने, कम्पनीको आम्दानी बढाउने, ग्राहकलाई नयाँ सेवा उपलब्ध गराइ प्रतिस्पर्धी बजारमा आफूलाई अब्बल बनाउन ठूलो लगानीसहित सुरु गरिएको सेवाले अपेक्षाकृत उपलब्धि हासिल गर्न भने नसकेको कम्पनीकै अधिकारीहरू स्वीकार्छन् । टेलिकमभन्दा झन्डै ६ महिनापछि फोरजी सञ्चालन इजाजत पाएको बहुराष्ट्रिय कम्पनी एनसेलले धेरै सहरमा फोरजी सेवा विस्तार गरिसकेको छ ।
टेलिकमले हालैमात्र फोरजी विस्तारका लागि एलटीई कोरतर्फ एक, नेटवर्कको सप्लाइतर्फ दुई गरी तीनवटा बोलपत्र आह्वान गरेको छ । छिटो सेवा सञ्चालनमा ल्याएको टेलिकम बोलपत्रको प्रक्रियाले गर्दा पनि प्रतिस्पर्धामा पछाडि पर्ने गरेको कम्पनीका सहप्रवक्ता शोभन अधिकारी बताउँछन् । नेपालभर एकैसाथ फोरजी सेवा विस्तार गर्ने योजनाका कारण केही ढिला भए पनि यसलाई ढिला भन्न नमिल्ने उनको दावी छ । “हामीले व्यापारलाई मात्रै हेरेको भए आज धेरै ठाउँमा पुग्न सक्थ्यौं, तर सहरदेखि गाउँसम्म सेवा विस्तार गर्नु हाम्रो दायित्व हो,” अधिकारी भन्छन्, “सरकारको दायित्व भनेको नाफा कमाउनेभन्दा सेवा पुर्याउनेमा नै हुन्छ ।” फोरजीको ‘इको सिस्टम’का रूपमा रहेका अन्य कम्पोनेन्ट मोबाइल नेटवर्क, मोबाइल सेट, भ्यालु एडेड सर्भिस, इ–कमर्सलगायत पनि सँगै एडभान्स हुनुपर्ने उनी बताउँछन् । केही ढिला भए पनि देशभरका ग्राहकले फोरजी सेवा छिट्टै पाउने उनी भन्दै टेलिकमले दीर्घकालीन योजनासहित देशभर फोरजी सेवाको बोलपत्र आह्वान गरेको अधिकारीले बताए ।
टेलिकमले भ्वाइस ओभर एलटीई सेवा नेपालमा उपलब्ध गराइ गुणस्तरीय सेवा दिने बताएको छ । टेलिकमको प्रि–बिडिङमा भारतको टेक महिन्द्रा, कोरियाको सामसुङ इलेक्ट्रोनिक्स, फिनल्याण्डको नोकिया, हङकङको डाटाङ सफ्टवेयर, सिंगापुरको सिटियस कम्युनिकसेन, चीनको हुवावे टेक्नोलोजिज्, चीनकै जेडटीई कम्युनिकेसन र इजरायलको एयरस्पान नेटवर्क सहभागी थियो । कम्पनीले आह्वान गरेको बोलपत्रमा पनि यीनै कम्पनी सहभागी हुने अनुमान गरिएको छ ।
टेलिकमले सञ्चालनमा ल्याएको फोरजी सेवामा ३२.४ एमबीपीएस पिक डाटा रेट डाउनलोड गति छ । आईपी टेलिफोनी, गेमिङ
सर्भिस, भिडियो कन्फरेन्सिङ, हाइडेफिनेसन मोबाइल टिभी तथा क्लाउड कम्प्युटिङ फोरजी सेवाका मुख्य आर्कषण हुन् । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले ‘टेक्नोलोजी न्युट्रल’ गरी १८०० मेगाहर्ज ब्याण्डमा टेलिकमलाई फोरजी सेवा सञ्चालन अनुमति दिएको थियो । ग्राहकले आफूले चाहेको नेटवर्क अपरेटर र फ्रिक्वेन्सी परिवर्तन गरेर सेवा लिन सक्ने प्रविधि ‘टेक्नोलोजी न्यूट्रल’ हो ।
तत्कालिन व्यवस्थापिका संसद्को लेखा समितिले गत साउनमा फोरजीको लाइसेन्स प्रतिस्पर्धी कम्पनीको तुलनामा छिटो पाए पनि टेलिकमले ढिलासुस्ती गरेको भन्दै देशभर फोरजी सेवा पुर्याउने विस्तृत कार्ययोजना माग गरेको थियोे । समितीले लगानीको तुलनामा सेवाको गुणस्तर कमजोर भएको भन्दै सेवा विस्तार र गुणस्तर सुधारसम्बन्धमा तीन महिने, अर्धवार्षिक र वार्षिक कार्ययोजना बनाइ सात दिनभित्र पेश गर्न पनि टेलिकमलाई निर्देशन दिएको थियो । तर कम्पनीले फोरजी सेवा आक्रामक रूपमा अगाडि बढाउन सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्