Logo

जिल्लामा ल्याब परीक्षण नहुँदा समस्या

दाङ-जिल्लामा ल्याब परीक्षणको व्यवस्था नहुँदा समस्या भएको व्यवसायीहरूले बताएका छन् ।
दाङ देउखुरी होटल व्यवसायी समितिका अध्यक्ष रुद्रबहादुर डाँगीले जिल्लामा परीक्षणका लागि ल्याबको व्यस्था नहँुदा समस्या भएको बताए । कुनै पनि समस्या देखिएका परीक्षणका लागि बाहिर जानुपर्ने बाध्यता छ । राज्यले यसतर्फ ध्यान दिनु पर्ने बताए । उनले होटल व्यवसाय कृषि तथा खाद्यसँग जोडिने भन्दै खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट सचेतना दिनुपर्ने समेत बताए । “सबै व्यसायीलाई गुणस्तरका बारेमा जानकारी हुदैन यसका बारेमा राज्यले सचेतना दिन आवश्यक छ,” अध्यक्ष डाँगीले भने । यसरी सचेतना दिएमा होटलमा खाद्य वस्तु प्रयोग गर्दा सहज हुने बताए ।
डेरी व्यवसायी गंगाधर भुसालले जिल्लामा ल्याबको व्यवस्था नहुँदा समस्या भएको बताए । “कस्तो दूध आएको छ भनेर परीक्षण गर्ने व्यवस्था जिल्लामा छैन,” भुसालले भने । यसले गर्दा डेरी व्यवसायीलाई समस्या पारेको बताए । बाहिरबाट गुणस्तरीय दूध नआएमा त्यसको जिम्मेवार व्यवसायीले लिनुपर्ने अवस्था छ । राज्यले जिल्लामा ल्याब परीक्षणको व्यवस्था गरिदिनु पर्ने उनको भनाइ छ ।
बेकरी व्यवसायी नरेश श्रेष्ठले जिल्लामा प्राविधिक जनशक्तिको अभाव रहेको बताए । जसले गर्दा काम गर्दा समेत समस्या पर्ने गरेको उनको भनाइ छ । प्राविधिक रूपमा दक्ष जनशक्ति नहुँदा कहिले काहीं जिल्लामा उत्पादन हुने वस्तुमा समेत समस्या देखिन सक्ने बताए । “काम गर्ने जनशक्ति पाइँदैन पाइए पनि धेरै रकम दिनुपर्ने बाध्यता छ,” व्यवसायी श्रेष्ठले भने । धेरै रकम दिन साना व्यवसायीलाई समस्या रहेको उनको भनाइ छ । “लगानी सानो हुन्छ आम्दानी पनि कम हुन्छ कसरी धेरै रकम दिने,” श्रेष्ठले भने । जिल्लामा गुणस्तरीय वस्तु उत्पादन भए पनि बाहिरबाट आएका वस्तु प्रयोग गर्ने गरेको उनले बताए । स्वदेशी उत्पादनलाई प्राथमिकता दिएर अगाडि बढनु पर्ने उनको भनाइ छ ।
दक्ष कर्मचारीको अभाव रहेको मसला व्यवसायी सुधिर शाहले बताए । सानो लगानीमा सञ्चालन गरेका व्यवसायीले बाहिरबाट आउने सामानसँंग प्रतिस्पर्धा गर्नुपर्दा समस्या हुने गरेको उनको भनाइ छ । स्थानीय उत्पादनलाई भन्दा बाह्य उत्पादनलाई प्राथमिक्ता दिइने गर्दा स्थानीय व्यवसायी मर्कामा पर्ने गरेको शाहले बताए । चाउमिन व्यवसायी ज्ञानबहादुर बुढाले चाउमिनको कच्चा पदार्थसमेत जिल्ला बाहिरबाट ल्याउनु पर्ने बाध्यता रहेको बताए ।

उद्योगहरूको सर्वेक्षण हुँदै
जिल्लामा रहेका साना उद्योगको अवस्थाबारे सर्वेक्षण थालिएको छ । नेपाल एग्री बिजनेस इनोभेटिएन सेन्टरले सर्वेक्षण गर्न थालेको हो । साना उद्योगको अवस्था कस्तो छ, राज्यबाट के सहयोग आवश्यक छ, समस्या कसरी समाधान गरेका छन् लगायतका बारेमा सर्वेक्षण गरिने वरिष्ठ खाद्य प्राविधिक विज्ञ जीवनप्रभा लामाले बताइन् । अध्ययन सकेर राज्यलाई सर्वेक्षणको नतिजा बुझाइने भएको छ । राज्यले त्यसैअनुसार उद्यमीलाई सहयोग गर्ने र अरु कुन कुन उद्योग आवश्यक रहेका छन त्यस्ता उद्योग स्थापना गर्ने उनको भनाइ छ । राज्यले नीति बनाउँदा यस प्रकारका सर्वेक्षण गरी त्यसैअनुसार अगाडि बढने दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी दिए । सर्वेक्षणमा आउने व्यक्तिलाई सही सूचना दिएर सहयोग गर्न समेत उद्यमीलाई उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्