नाडा अटो शो आजदेखि «

नाडा अटो शो आजदेखि

सवारी तथा सवारीजन्य वस्तुहरुको कुम्भ मेलाका रुपमा लिइने नाडा अटो शो आजदेखि हुँदैछ । काडमाडौंको भृकुटीमण्डपमा हुने अटो शोमा सवारी किन्नेहरुका लागि यो उपयुक्त समय हुँदै हो भने सवारी विक्रेताहरुका लागि त्यो भन्दा ठूलो उत्सव हुने गरेको छ । सवारी विक्रेताहरुले वर्षभरि बिक्री गर्ने सवारीको करिब ४० प्रतिशत अटो शो तथा दसैंतिहरको समयमा हुने गरेको व्यवसायीहरुको भनाइ छ ।
अटो शोमा उपभोक्ताले एकै ठाउँमा धेरै ब्रान्डका धेरै मोडल हेर्न तथा रोज्न पाउँछन् भने सवारी विक्रेताले एकै ठाउँमा अधिक उपभोक्ता पाउँछन् । यसले पनि नाडा अटो शो आफैंमा एउटा ब्रान्डको रुपमा स्थापित भइसकेको छ । नेपालमा उपलब्ध सबैजसो दुईपांग्रे, चारपांग्रे सवारी र सवारीजन्य उत्पादन नाडा अटो शोमा राखिन्छन् । सवारी खरिद गर्ने उपभोक्ताहरुका लागि पनि अन्य समयको तुलनामा केही सस्ता र विभिन्न स्किम पाइने हुँदा यो नै उपयुक्त समय हुँदै आएको छ । यही सहभागिता र बिक्रीको हिसाबले पनि नाडा अटो शोलाई सवारी तथा सवारीजन्य वस्तुको कुम्भ मेला भनिँदै आएको छ ।
अटो शो हुने व्यवसायी तथा उपभोक्ताको सहभागिता नै नाडा अटो शोको मुख्य विशेषता भएको अटो नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष शम्भुप्रसाद दाहालले बताए । “अटो शोमा सवारी बिक्रेता तथा उपभोक्ता आमनेसामने हुन्छन् । त्यहाँ सवारी कम्पनीहरुले उपभोक्तालाई आफ्नो उत्पादनबारे भरपुर जानकारी दिन्छन् र उपभोक्ताले आफ्नो चाहना र रोजाइ अनुसारको सवारी खरिद गर्न सक्छन्,” उनले भने । अटो शोको अर्को विशेषता हो, हरेक वर्ष नयाँ नयाँ ब्रान्डका कार तथा मोटरसाइकल भित्रिनु । सवारी कम्पनीहरु जसरी नयाँ र परिष्कृत मोडलका सवारी ल्याउँछन् । उपभोक्ताहरु पनि त्यही अनुसार स्तरिय आउन थालेको व्यवसायीहरुको भनाइ छ ।
चाडपर्व समेत नजिकिँदै गरेकाले अटो शोको व्यग्र प्रतिक्षामा व्यवसायी र उपभोक्ता दुवै रहेका नाडाका सचिव अनुप बरालले बताए । “सवारी प्रदर्शनीले सबै पक्षलाई फाइदा पुगेको छ । यसले अन्य व्यवसायलाई पनि चलायमान बनाउँछ,” बरालले भने । सवारी सम्बन्धी अध्ययन गर्न चाहने व्यवस्थापन, अटोमोबाइल इन्जिनियरिङ लगायतलाई समेत अटो शोले फाइदा पु¥याउने उनको भनाइ । अटो शोले उपभोक्तालाई पनि सवारीबारे पूर्ण ज्ञना लिइ आफ्नो रोजाइमा रहेको सवारी खरिद गर्ने अवसर दिन्छ ।
अटो शोबाट व्यवसायीले मात्र नभई अन्य धेरै पक्ष लाभन्वित हुन्छन् । अटो शोले समग्र अटो उद्योग नै मोविलाइज हुने व्यवसायीहरुको भनाइ छ । यो अर्थमा पनि नाडा आटो शो सवारीको नेपाली कुम्भ मेला नै हुने गरेको छ । विगत ७-८ महिनादेखि बैंकहरुमा देखिएको तरलता अभावले सवारी व्यवसायमा आएको मन्दता अटो शोले चलायमान बनाउने अपेक्षा व्यवसायीहरुले लिएका छन् । सवारी व्यवसायीसँगै उपभोक्ताले समेत अटो शोबाट धेरै नै लाभ लिन सक्छन् ।
अटो शोमा नेपालमा उपलब्ध सबै कम्पनीलाई समावेश गर्न सकिने अवस्था स्थान अभावका कारण नरहेको नाडाको भनाइ छ । तथापी अधिकांश कम्पनीहरुलाई समावेश गर्न कोसिस गरिएको आयोजकले बताएको छ । भृकुटीमण्डपमा भदौ २६ देखि ३१ गतेसम्म हुने अटो शो दुईपांग्रे र चारपांग्रे गरि ३९ वटा ब्राण्डका सवारी कम्पनीले सहभागिता जनाएका छन् । यो संस्करणको अटो शोमा कमर्सियल सवारीलाई भने सहभागी गराइएको छैन ।
मेलामा सवारी साधनको प्रदर्शनीका साथै सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेण्टसका नयाँ प्राविधिक विकास, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एशोसेरिजहरूको सहभागिता रहने छ । जसमा नेपालमै उत्पादित सामाग्रीहरू समेत राखिने छन् । यो वर्ष बैंक तथा वित्तीय संस्थाहरुको भने सहभागिता रहने छैन ।
अवलोकनकर्ताहरूको सुविधालाई लक्षित गर्दै र व्यवस्थापनमा समेत सहज हुने भएकाले २ पांग्रे, ४ पांग्रे, कमर्सियल गाडीहरू तथा वित्तिय संस्थाहरूको छुट्टा–छुट्टै ठाउँ निर्धारण गरिएको छ । ७० वटा भन्दा बढी संस्थाका १ सय २० भन्दा बढी स्टल मेलमा रहनेछन् । नाडा अटोमाबाइल एसोसिएसन अफ नेपालले सवारी, पार्टपुर्जा, तथा यससँग सम्बन्धी एसोसिरिजहरुको प्रदर्शनी नाडा अटो वर्सेनि गर्दै आएको छ ।
नाडाले आठौं संस्करणदेखि मेला वर्षेनी गर्न थालेको हो । त्यो भन्दा अघि हरेक दुई वर्षमा गर्दै आएको थियो । यसले पनि उपभोक्तामा सवारीको महत्व बढ्दै भएको व्यवसायीहरुले बुझेको प्रष्ट हुन्छ । अटो शोमा व्यवसायीहरुले उपभोक्ता आकर्षित गर्न विभिन्न उपहार, स्किम, डोर प्राइज लगायत योजना ल्याउने गरेका छन् जुन अन्य समयमा पाइँदैन ।
नेपालको अटो क्षेत्रमा वार्षिक करिब ६-७ हजार करोडको कारोबार हुने गरेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ । अटो शोमा सवारी तथा सवारी जन्य उत्पादनका साथै नविनतम प्रविधि, नयाँ मोडल लगायतको डिस्प्ले हुनेछ ।
प्रदर्शनीमा नयाँ प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस, जेनेरेटर, ग्यारेज उपकरण, ब्याट्रि तथा नेपालमै उत्पादित सामग्रीको समेत रहने छ । अटो शोमा सर्वसाधारणसहित अटो उद्योगी, व्यापारी, व्यापार विश्लेषक, अर्थशास्त्री तथा नीति निर्माताको समेत सहभागिता रहने अपेक्षा रहेको छ ।

यी हुनेछन् नयाँ ब्रान्ड
नेपाली बजारमा नयाँ नयाँ सवारी ब्रान्ड भित्रने क्रम बढ्दै गएको छ । बजारमा सवारी माग बढ्दै भएकाले नयाँ ब्रान्ड भित्रिनु स्वभाविक नै हो । यो वर्षको अटो शोमा ४ वटा दुईपांग्रे नयाँ ब्रान्डले सहभागिता जनाउँदै छन् भने एउटा चारपांग्रे नयाँ ब्रान्ड आउँदैछ ।
एमएडब्लू फाइफले जिपका सवारी नेपाली बजारमा भित्र्याएको हो । नाडा अटो शो २०१८ मा जिपका कम्पास र ¥याङ्लर मोडल प्रदर्शनीमा राखिने छन् । त्यस्तै दुई पांग्रेमा एफटेक ब्रान्डको मोटरसाइकल म्याक्स भिजनले भित्र्याएको छ । चिनियाँ उत्पादन एनआइयु विद्युतीय सवारी समेत अटो शोमा हुनेछ । यो विद्युतीय स्कुटर नेपालमा इको इन्फिनिटीले ल्याएको हो ।
आइएमई अटोमोटिभ्सले अमेरिकी ब्रान्डको मोटरसाइकल हार्ले डेभिडसन नेपालमा भित्र्याएको छ । यो मोटरसाइकल पनि अटो एक्सपोमा सहभागि हुनेछ । त्यस्तै एसडब्लूएम नामक दुईपांग्रे सवारीले पनि अटो शोमा सहभागिता जनाएको नाडाले जनाएको छ । यो मोटरसाइकल ग्यान अर्थमुभर्सले बजारमा ल्याएको हो ।

अटो शोमा निम्न कुरामा ध्यान दिनुस्
विश्वमा अटो शो भन्नेबित्तिकै सबैको ध्यान तानेकै हुन्छ । मध्यम र उच्च परिवारको लागि विशेषगरी अटो शोमा आकर्षण गर्न छुट तथा नयाँ नयाँ सवारीको लन्च समेत गरिन्छ । नेपालमा पनि प्रत्येक वर्ष नाडा अटो शो भृकुटीमण्डपमा मंगलबारदेखि एक आइतबारसम्म सवारी मेला सुरु हुँदैछ । दुईपांग्रे देखि चारपांग्रे सवारीका उपभोक्ताहरु अटो शोमा गाडी खरिदको लागि विभिन्न योजना बनाइरहेका छन् । तपाईं यदि अटो शो मा सवारी खरिद गर्दै हुनुहुन्छ भने निम्न कुरामा ध्यान दिनुस् ।

कस्तो सवारी खरिद गर्ने योजना बनाउनुस्
सबैभन्दा पहिले तपार्इं गाडी खरिद गर्ने योजना बनाएर अटो शोमा जाँदै हुनुहुन्छ भने आफूले खरिद गर्ने सेगमेन्टका गाडी अझै सक्नुहुन्छ भने ब्रान्डसमेत पहिले नै छान्नुपर्दछ । यदि पहिले छान्न सक्नुभएन भने अटो शोमा कुन मोडलका कस्ता कस्ता गाडीहरु राख्दैछन् जानकारी लिनुस् । अटो शोमा पुगेरै छान्न खोज्दा धेरै मोडल र ब्रान्ड हुने भएकोले अलमलिन सक्नु हुन्छ ।

समय धेरै लिएर जानुस्
अटो शोमा हेरेर फर्कनेगरी भन्दा पनि आफूले खरिद गर्ने गाडीको टेष्ट ड्राइभ समेत गर्नेगरी समय निकाल्नुस् । सकेसम्म सबै स्टलहरु हेर्नुस् । यदि समयले साथ नदिएमा आफूले खरिद गर्ने ब्रान्डको स्टलमा जान सक्नु हुन्छ । वा अटो शोको अवलोकनले नै तपाईले खरिद गर्ने सवारीको अन्तिम निर्णय लिन पनि सक्नुहुन्छ । धेरै स्टलहरु हुने भएकोले समय पर्याप्त चाहिने हुन्छ ।

तयारीसहित जानुस्
तपाईंले खरिद र हेर्न चाहेका सवारीको बारेमा अध्ययन र तयारी गरेर जानुस् । मोडलहरुको सकेसम्म फोटो वा फिचरहरुको बारेमा अध्ययन गरेर जानुस् । त्यसो गर्दा तपाईलाई अटो शोमा झनै सजिलो हुन्छ । साथै आफूले खरिद गर्ने गाडीको बजेटको बारेमा समेत अध्ययन गरेर जानुस् । जसले गर्दा सवारी छनोटमा तपाईलाई झनै सहज हुन्छ ।

परिवारसँग छलफल गर्नुस्
अटो शोमा सवारी खरिद गर्नुभन्दा पहिले आफ्नो परिवारसँग छलफल गर्नुस् । एक्लैको निर्णय गलत पनि हुनसक्छ । परिवारमा आफ्ना बालबच्चाको समेत रुचीको ख्याल गर्नुस्, जसले परिवारिक सुख प्राप्ती हुन्छ ।

शोका अन्य गतिविधिमा समेत सहभागी हुनुस्
अटो शो गइसकेपछि सवारीसहित, लुब्रिकेन्ट, स्पेयर्स पार्ट्स तथा बिमा र अटो लोनका विषयमा समेत जानकारी लिनुस् । साथै सडक सुरक्षाका बारेमा समेत जनचेतना कार्यक्रम हुने भएकोले उक्त कार्यक्रममा समेत सहभागी हुनुस्, जसले सडक अनुशासनका विषयमा तपाई बुझ्ने मौका पाउनुहुन्छ ।

धेरै प्रश्न गर्नुस्
अटो शोमा गइसकेपछि आफूले खरिद गर्न लागेको सवारीको बारेमा प्रर्दशकहरुसँग धेरै प्रश्न गर्नुहोस् । जसले गर्दा तपार्इंलाई सवारीका फिचरको बारेमा धेरै जानकारी प्राप्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस्