युट्युब हेरेर प्यारागलाइडिङ निर्माण «

युट्युब हेरेर प्यारागलाइडिङ निर्माण

जुम्ला-कर्णालीमै पहिलो पटक जुम्ली युवाको साहसिक यात्रा प्यारागलाइडिङको परीक्षण उडान सफल भएको छ । तातोपानी गाउँपालिका–५ का स्थानीय युवा टंक नेपालीद्वारा निर्माण गरिएको प्यारागलाइडिङको शुक्रबार परीक्षण उडान सफल भएको छ । प्रतिभाशाली टंक नेपालीले समग्र कर्णालीलाई पर्यटनमा आत्मनिर्भर बनाउन तथा आर्थिक समृद्धिका लागि व्यावसायिक प्यारागलाइडिङ उडानको शुक्रबार परीक्षण उडान सफल भएको हो ।
पर्यटन प्रबद्र्धन तथा आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण बढाउन तथा कर्णाली क्षेत्रलाई चिनाउनका लागि व्यावसायिक प्यारागलाइडिङ उडानको लक्ष्य लिएको निर्माणकर्ता प्रतिभाशाली युवा टंक नेपालीले बताए । उनले भने, “युट्युबका माध्यमबाट सबै हेरेर बनाउन सिकेको हुँ । यसका लागि औपचारिक कुनै अध्यायन पनि गरेको छैन । मेरो सिक्ने माध्य नै युट्युब थियो ।”
सबै युट्युबमा हेरेर बनाए, अन्नत आज सफल भएको भन्दै निकै खुसी थिए टंक नेपाली । कर्णालीलाई चिनाउने मेरो अभियान युट्युब हेरेर गरेको मेहनत आज सबैको प्रसंशाको विषय भनेको भन्दै आगामी दिनमा हेरिकप्टरसमेत बनाउने क्षामता आफूमा रहेको दाबी गरे । प्रेरणाको स्रोत युट्युब थियो ।
हेरेरै बनाए, सफल भए, यसमा सघाउने सबैलाई धन्यवादसमेत दिए । प्यारागलाइडिङ निर्माण तथा उडानले आफ्नो प्रतिभा पहिचान हुनुका साथै, पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने विश्वासका साथ व्यापार छोडेर यता लागेको बताए । प्यारागलाइडिङ निर्माण सामग्री सबै बाहिरी जिल्लाबाट ल्याउनुपर्ने बाध्यात्मक परिस्थितिका कारण खर्च व्यवस्थापनमा निकै समस्या भएको उनको भनाइ छ ।
परीक्षण उडानका लागि निर्माण गरिएको प्यारागलाइडिङका लागि झन्डै ५ लाखभन्दा बढी व्यक्तिगत खर्च लागेको बताए । कर्णाली क्षेत्रलाई चिनाउने आधार भनेकै पर्यटन हो । सरकारको लगानी पर्याप्त चाहिन्छ ।
व्यावसायिक उडान गर्छौैं
शुक्रबार गरिएको परीक्षण उडानमा पाइलट लोकेश शाही, पदमबहादुर शाही तथा निर्माणकर्ता टंक नेपालीले आम जुम्लीलाई प्यारागलाइडिङ उडानको चमत्कार देखाए । लाम्रा गाउँको डाँडाँबाट दुइटा परीक्षण उडान पाइलटहरूले सफल बनाइ आम जुम्लाई रमाइलो प्रदानसमेत गरे । प्यारागलाइडिङ उडान हेर्नकै लागि पश्चिम नाग्म र पूर्व सदरमुकाम देखिका हजारौं मानिसको भीड थियो ।
उडानपश्चात् निर्माणकर्ता टंक नेपालीलगायत दुवै पाइलटलाई आफन्त तथा हेर्न गएका फूलमाला सिन्दरले सम्मानसमेत गरे । टंक नेपालीले भने, प्यारागलाइडिङ उडानप्रति नागरिकलाई चासोलाई मध्यनजर गर्दै व्यावसायिक उडान थाल्ने बताए । उनले भने, “बाह्य तथा आन्तरिक पर्यटकहरूलाई १५ सयदेखि ३० हजार रुपैयाँसम्मको शुल्कमा प्यारागलाइडिङमा जुम्लाको दृश्य अवलोकन गराउने सबैलाई सुनाए । एकतर्फ पर्यटन गतिविधि बढ्ने, अर्कोतिर आर्थिक हिसाबले पनि बलियो भइने, त्यसका लागि व्यावसायिक उडान गर्न तयार रहेको उनको भनाइ छ ।
भारतको मनाली बाट प्यारागलाइडिङ उडान सिकेर आएका लोकेश शाही र पदमबहादुर शाहीले जुम्लामा प्यारागलाइडिङ उडानको सम्भावना र चुनौती उत्तिकै रहेको बताए ।
१ करोड ऋण आवश्यक
जुम्लामा प्यारागलाइडिङको व्यावसायिक उडानका लागि नयाँ प्यारागलाइडिङ निर्माणका लागि आवश्यक खर्च जुटाउन स्थानीय सरकारसँग ऋण माग्ने उनीहरूको योजना छ । अहिले आफ्नै व्यक्तिगत खर्चमा टंक नेपालीले, गलाइइट १, टिपहार २ वटा, सोलो प्यारामिट २ अल्टालाइटलगायतका विभिन्न सामग्री आफ्नै खर्चमा उत्पादन गरी परीक्षण उडान गरेका हुन् ।
जसका लागि ५ लाख बढी खर्च लागेको छ । तर, टंक नेपालीले, भने, व्यावसायिक उडानका लागि नयाँ प्यारागलाइडिङ निर्माण गर्न झन्डै १ करोड बजेट आवश्यक छ । कम्पन्नीमा दर्ता भएर, सरकारसँग ऋण माग्छौ, ब्याज तिर्ने गरेर । उनले थपे, पर्यटन प्रबद्र्धनका लागि साहसिक यात्रा प्यारागलाईडिङ उडानलाई निरन्तरता दिन्छु, आफ्नो एक घर धितोमा राखेर भए पनि १ करोड ऋण निकालेर नयाँ थप, प्यारागलाइडिङ उत्पादन गरी व्यावसायिक उडान थाल्ने दाबी गरे ।
कम्पन्नीमा दर्ता, भएपछि सरकारलाई नियमति कर तिर्नेदेखि हरेक पक्षमा ध्यान दिनेछु । तर, सरकारले ऋण दिनुपर्ने उनको माग छ ।
पर्यटक तान्ने विश्वास
शुक्रबार परीक्षण उडानका क्रममा थामि नसक्ने मानिसको भिडले प्यारागलाईडको नियमित उडानले पर्यटक तान्ने विश्वास गरिएको छ । झण्डै १० हजार मानिस शुक्रबार प्यारागलाइडिङ उडान हेर्न बिहानैदेखि भीड लागेका थिए । आन्तरिक पर्यटकलाई १५ सयमा उडान गरिने भएपछि त, पालो भ्याइनभ्याइ हुने अवस्था देखिएको कर्णाली डाइनामिक एयर रिर्सच एन्ड एड्भन्चर गुपका प्रमुख टंक नेपालीले बताए । बाह्य पर्यकटलाई ३ हजार लगिनेछ ।
आफ्नो भिडियो बनाउन तथा दृश्य अवलोकन गर्नका लागि प्यारागलाइडिङ उडान गर्नेको भीड लागेको थियो पहिलो दिनमै । पहिलो दिन निःशुल्क गरे पनि आगामी दिनमा आन्तरिक तथा बाह्य पर्यटकलाई शुल्क लगाइनेछ । जुम्ला हुँदै राराताल जाने पर्यटकहरूलाई अनिवार्य प्यारागलाइडिङ चड्ने वातावरण सिर्जना गर्ने उनीहरूको भनाइ छ ।
जुम्लामा पर्यटन चहलपल
जुम्ला जिल्ला आफैंमा एक पर्यटकीय जिल्ला हो । जुम्लामा विभिन्न सम्भवनाले भरिएको क्षेत्र हो । मात्रै लगानीको खाँचो छ । एकपछि अर्को गर्दै जुम्लामा पर्यटन चहलपल निकै बढेको छ । कर्णालीकै ठूलो शान्ति स्तुपा निर्माण पछि दैनिक सयौको भीड त्यता लाग्ने गरेको छ । भने, होमस्टे तथा कृत्रिम ताल निर्माणको परिकल्पना गरिएको गुठीचौरमा भीड दैनिक त्यस्तै छ ।
ठाकुर, विष्टमा पर्यटकहरूको घुइँचो छ भने, जुम्लाको तातोपानीमा शनिबार लाग्ने भीड कम हुँदैन । त्यसैमा शुक्रबारदेखि जुम्ली युवाले बनाएको प्यारागलाइडिङको सफल उडान भएपछि पर्यटन चहलपलह बढेको हो । एक पटक हिजोआज लाम्रा नपुग्ने मानिस कोही बाँकी छैनन् । प्यारागलाइडिङ उडान पहिलो चोटी देखेका जुम्ली आकाशमा चरा उडे जस्तै गरेको देख्दा दंग छन् ।
घरको काम छोडेर पनि त्यहाँ हेर्न जानेको घुइँचो दिनानु दिन छ । यसको व्यवस्थापन तथा स्तरी सेवा दिने विषयमा टंक नेपालीको टोली लागि परेको छ । लुकेर रहेका प्रतिभाशाली युवाहरूलाई सरकारले लगानी गर्न आवश्यक रहेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्