प्रदेश तीनलाई पुष्प उत्पादनको केन्द्र बनाइने «

प्रदेश तीनलाई पुष्प उत्पादनको केन्द्र बनाइने

प्रदेश नम्बर ३ का कृषि, भूमिव्यवस्था तथा सहकारीमन्त्री दावा दोर्जे लामाले प्रदेश ३ लाई पुष्प उत्पादन तथा बजारीकरणको हव बनाउने बताएका छन् । पुष्प क्षेत्रले रोजगारी सिर्जना र आयात प्रतिस्थापनमा योगदान गर्ने भन्दै मन्त्रालयले नीजि क्षेत्रसँग मिलेर पुष्प प्रवद्र्धनमा काम गर्ने प्रतिबद्धता उनले जनाएका हुन् ।
नेपालमा पुष्प व्यवसायबाट अर्थतन्त्रको विकासमा पनि योगदान पुग्ने भएकाले फूल खेती गर्न सामुदायिक वन र पर्ति जग्गालगायत उपयोगमा नभएका जग्गा उपयोग गर्नुपर्नेमा मन्त्री लामाको जोड छ । “सामुदायिक वनमा जडीबुटी, कृषिका सामग्री तथा फलफूल उत्पादन गर्न सकेमा कृषि वस्तुको लागत मूल्य घट्दै अन्तर्राष्ट्रिय बजारसमेत प्रतिस्पर्धी हुन सक्छ,” सोमबार राजधानी काठमाडौंमा सम्पन्न फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान) को २६ औं साधारणसभा तथा अधिवेशनमा उनले भने, “जग्गाको उपयोगमा संघीय सरकारले पनि सहयोग गर्नुपर्छ, हामीले यस क्षेत्रलाई उच्च प्राथमिकता दिएर काम गर्छौं ।” कृषिप्रधान मुलुकमा फलफूल विदेशबाट आयात गरिनु विडम्बनापूर्ण रहेको चर्चा गर्दै उनले सामूहिक खेती प्रणालीको विकासमा गएर पुष्प खेती गर्नुपर्नेमा जोड दिए ।
हालसम्म नेपालमा ४३ जिल्लामा करिब १ सय ५५ हेक्टर पुष्पखेती विस्तार भएको विभागको तथ्यांक छ । विभागले पुष्प ब्यवसायीहरूको छाता संगठनका रूपमा रहेको फ्यानसँगको सहकार्यमा सरकारले वार्षिक रूपमा पुष्प प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्दै आएको छ । उनका अनुसार हाल नेपाली बजारमा वार्षिक २ अर्ब रूपैयाँ बराबर फूलको कारोबार हुँदै आएको छ भने प्रत्यक्ष तथा अप्रत्यक्ष ४० हजारभन्दा बढीले रोजगारी पाइरहेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले जग्गामा गरिएको पुष्पखेती महँगो हुँदै गएको बताए । उनले पुष्प व्यवसायको प्रवद्र्धनका लागि सरकारी जग्गा भाडामा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने बताए । प्रदेश ३ का कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डा. विजयचन्द्र झाले पुष्प व्यवसायको प्रवद्र्धनका लागि प्रदेश ३ ले प्रवद्र्धनमुखी कार्यक्रम अघि बढाएको जानकारी दिए । फ्यानका अध्यक्ष कुमार कसजु श्रेष्ठ लगायतका वक्ताले संघीयतामा गइसकेकाले उपत्यकासमेत रहेको तीन नम्बर प्रदेशबाट पुष्प प्रवद्र्धनको नमुना कार्यक्रम अगाडि बढाउन सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्