सहुलियत पसल असोज दोस्रो सातादेखि «
Logo

सहुलियत पसल असोज दोस्रो सातादेखि

विभिन्न संस्थानमार्फत् उपत्यकासँगै उपत्यका बाहिर सहुलियत पसल सञ्चालन गर्ने तयारी गरिएको छ । साथै सहकारीमार्फत् समेत सुपथ पसल सञ्चालन गरिने छ । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि यो वर्ष सरकारले बजेटमै रकमको व्यवस्था गरेको छ ।

सरकारले दशैंलाई लक्षित गरेर गरेर असोज दोस्रो सातादेखि सहुलियत पसल सञ्चालन गर्ने तयारी गरेको छ । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि असोज दोस्रो सातादेखि दशैं बजार सञ्चालन गर्ने तयारी गरिएको हो ।
नेपालीको महान चाडपर्वका रुपमा रहेका दशैं, तिहार र छठलाई लक्षित गरेर सहुलियत पसल सञ्चालन गर्न लागिएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ्ग कर्पाेरेशन र दुग्ध विकास संस्थानमार्फत् सहुलियत पसल सञ्चालन गर्न लागेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीका स्वकीय सचिव सन्तोष विष्टले उपभोक्तालाई राहत दिनका लागि असोज दोस्रो सातादेखि सहुलियत पसल सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिए । “चाडपर्वमा वस्तु तथा सेवाको खपत धेरै हुने भएकाले पनि उपभोक्तालाई राहत दिन सुपथ पसल सञ्चालन गर्न लागिएको छ,” उनले भने, “यो वर्ष सहुलियत पसल अर्थपूर्ण र प्रभावकारी हुने गरि सञ्चालन गरिने छ ।” सहुलियत पसलमा उपभोक्ताको गुनासो नआउने गरी बजारमा हुने कालाबजारी र कृत्रिम अभाव नियन्त्रण हुने गरी सुपथ पसल सञ्चालन गरिने उनको भनाइ छ ।
कुन वस्तुमा कति छुट दिने र कति गतेदेखि सञ्चालन गर्ने भनेर मंगलबार बस्ने सरोकारवाला निकायको बैठकले निर्णय गर्ने छ । विभिन्न संस्थानमार्फत् उपत्यकासँगै उपत्यका बाहिर सहुलियत पसल सञ्चालन गर्ने तयारी गरिएको छ । साथै सहकारीमार्फत् समेत सुपथ पसल सञ्चालन गरिने छ । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि यो वर्ष सरकारले बजेटमै रकमको व्यवस्था गरेको छ । सहुलियत पसलमार्फत् चिनी, नुन, घिउ, चामल, गेडागुडीसँगै अन्य खाद्यान्नमा छुट दिइने छ ।
खाद्य संस्थानले सिमी, फापर र बासमति चामलमा प्रतिकेजी १० रुपैयाँ छुट दिनका लागि प्रस्ताव गरेको छ । यस्तै जिरा, सोना, मकवानपुर चामलमा प्रतिकेजी पाँच रुपैयाँ छुट दिने प्रस्ताव गरेको छ । यस्तै साल्ट ट्रेडिङ्ग कर्पाेरेशनले चिनी प्रतिकेजीमा पाँच रुपैयाँ र अन्य खाद्यान्नमा आवश्यकताअनुसार छुट दिनका लागि प्रस्ताव गरेको छ । चाडपर्वको समयमा बजारमा वस्तु तथा सेवाको खरिद बिक्री बढी भई निजी व्यवसायीले कालोबजारी गर्न सक्ने हुँदा त्यसलाई नियन्त्रण गर्नका लागि सरकारले प्रत्येक वर्ष दशैं, तिहार र छठलाई लक्षित गरेर सहुलियत पसल सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्