अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताका लिग १९ लाख खर्च लाग्ने «

अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताका लिग १९ लाख खर्च लाग्ने

पोखरामा मंगलबारदेखि राष्ट्रियस्तरको भलिबल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्ले आयोजनामा मंगलबारदेखि पोखरा रंगशालामा राखेप च्याम्पियनसिप–२०७४ अन्तर्गत २१औं संस्करणको महिला तथा ३१औं संस्करणको पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष याम गुरुङले बताए । प्रतियोगिता सम्पन्न गर्न करिब १९ लाख खर्च लाग्ने उनले जनाए । प्रतियोगिता अवलोकनका लागि लिग चरणका खेलहरुमा एक सय र सेमिफाइनल तथा फाइनल खेल अवलोकनका लागि २ सय रुपैयाँ प्रवेश शुल्क राखिएको संघले जनाएको छ ।
प्रतियोगितामा विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाल पुलिस क्लब, पश्चिमाञ्चल, मध्य पश्चिमाञ्चल, सुदूर पश्चिमाञ्चल, मध्यमाञ्चल र पूर्वाञ्चल विकास क्षेत्र सहभागी हुने भएका छन् । प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले नगद २० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएका छन् ।
सो प्रतियोगिताबाट भलिबलका उत्कृष्ट खेलाडीहरू छनोट गरी सन् २०१८ मा आयोजना हुने १७औं एसियाली खेलकुद तथा सन् २०१९ मा आयोजना १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सहभागिताका लागि छनोट गरिने जनाए । जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्षसमेत रहेका गुरुङले नेपालको राष्ट्रिय खेलका रूपमा घोषणा भइसकेको भलिबल खेलमा दुई महत्वपूर्ण प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नका लागि आयोजित यो प्रतियोगिता कोसेढुंगा सावित हुने दाबी गरे । उनका अनुसार महिला तथा पुरुष दुवैतर्फ २५-२५ जना छनोट गरिनेछ । उनीहरुलाई क्लोज क्याम्पमा राखेर पछि १२÷१२ जना छनोट गरेर राष्ट्रिय टिम घोषणा गरिने गुरुङले बताए ।

 

प्रतिक्रिया दिनुहोस्