गौचन हत्या प्रकरण : सत्तारुढ सांसदले मागे गृहमन्त्रीको राजीनामा
काठमाडौं : सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका सांसदहरुले गृहमन्त्री जनार्दन शर्माको राजीनामा मागेका छन् । मंगलबार व्यवस्थापिका संसद बैठकमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको काठमाडौंमा दिनदहाडै हत्या हुँदा पनि दोषाी पक्राउ नपरेको भन्दै कांग्रेस सांसदहरुले गृहमन्त्रकिो राजीनामा मागेका हुन् ।
कांग्रेस सांसद रामहरी खतिवडाले गृहमन्त्रीले नैतिकतको आधारमा राजीनामा दिनुपर्ने बताए । “दिनदहाडै मान्छेलाई गोली हानेर मारिएको छ । जनताको शान्ति सुरक्षाको जिम्मा गृहमन्त्रालय र गृहमन्त्रीको हो । राजधानीमै जनतालाई सुरक्षित महसुस गराउन नसक्ने गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ,” उनले भने, “सुरक्षा दिन नसक्ने गृहमन्त्रीले चुनाव गराउयन सक्दैन । यस्तो अवस्थामा संसद र प्रदेशको निर्वाचन सम्भव छैन ।” गौचनको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कानुनी कठघरामा उभ्याउन पनि उनले सरकारसँग माग गरे ।
कांग्रेसकै सांसद दिपक गिरीले हत्यामा संलग्नहरुको पहिचान गरेर कडाभन्दा कडा कारबाही गर्न माग गरे । आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको नजिकै व्यवसायीको हत्या हुनुले निर्वाचन शान्तिपूर्ण रुपमा हुनेमा आशंका उत्पनन भएको उनले बताए । “हाम्रा गृहमन्त्रीले कत्तिको शान्ति सुरक्षाको प्रत्याभूति गराउनु भएको रहेछ भन्ने गौचन हत्याको घटनाबाटै थाहा हुन्छ,” कांग्रेसकै सांसद रोमी गौचन थकालीले भने,“संसद भवनबाट तीन सय मिटरको दूरीमा दिउँसै मान्छे मारिएको छ । यसलाई सरकारले गम्भीररुपमा लिनु प¥यो ।” उनले गौचन हत्याबारेको अनुसन्धान र छानविनको काम कहाँ पुग्यो जानकारी गराउन पनि गृहमन्त्रीसँग माग गरे ।
संसद बैठकमा एमाले सांसद जनार्दन ढकालले पनि व्यवसायी गौचनको हत्याबारे तत्काल छानविन गर्न माग गरे । चुुनावको मुखमा राजधानीमा दिउँसै व्यवसायीको हत्या हुनु चानचुने नभएको भन्दै उनले भने, “घटनाले व्यवसायीहरु त्रसित छन्। शान्ति सुरक्षाको प्रत्याभूति गराउन सरकार किन चुकेको हो? यसको जवाफ दिनुपर्छ ।” नेकपा माओवादी केन्द्रका सांसद रामनारायण विडारी , नेपाल लोकतान्त्रिक फोरमका प्रमुख सचेतक योगेन्द्र चौधरीलगायत सांसदहरुले कमजोर सुरक्षा व्यवस्थापनका कारण दिउँसै हत्या भएको आरेप लगाए ।