विशाखापट्टनमबाट पहिलोपटक वीरगन्जमा ईसीटीएसजडित रेल «

विशाखापट्टनमबाट पहिलोपटक वीरगन्जमा ईसीटीएसजडित रेल

वीरगन्ज-भारतको आन्ध्रप्रदेशमा रहेको विशाखापट्टनम बन्दरगाहबाट पहिलोपटक इलेक्ट्रोनिक्स कन्टेनर ट्र्याकिङ सिस्टम (ईसीटीएस) जडान गरिएको मालवाहक रेल नेपालको सुक्खा बन्दरगाहमा आइपुगेको छ । भदौ १२ गते विशाखापट्टनमबाट ९० टीईयुज बोकेर नेपालको सुक्खा बन्दरगाहका लागि छुटेको मालवाहक रेल १४ औं दिनमा सोमबार साँझ नेपालको वीरगन्ज स्थित सिर्सिया सुक्खा बन्दरगाहमा आइपुगेको हो ।
२० फिट र ४० फिटको कन्टेनर बोकेको रेलमा विशाखापट्टनम बन्दरगाहमा लगाइएको इलेक्ट्रोनिक्स कन्टेनर ट्र्याकिङ सिस्टमसहितको मालवाहक रेल आएको छ । योसँगै अब विशाखापट्टनमबाट सिधा सीआईए (कस्ट इस्युरेन्स फ्रेट) वीरगन्जको सुक्खा बन्दरगाहमा आएको छ । यसअघिका दिनमा तेस्रो मुलुकबाट सामान लिएर आउने कन्टेनर कोलकाता वा विशाखापट्टनमसम्म पु-याउनुपर्ने बाध्यता रहेको थियो । अब भने विशाखापट्टनमबाट आएको कन्टेनर वीरगन्ज सुक्खा बन्दरगाहमा नै बुझाइदिए हुन्छ । कोलकाता बन्दरगाहबाट आउने रेलहरू त्यहिँ सबै भन्सार जाँचपास कागज बनाएर ल्याउनुपर्ने बाध्यताका कारण समय पनि लाग्ने र झन्झटिलो पनि रहेको थियो ।
विशाखापट्टनमबाट आउने रेलमा भने अब सिधा सिपिङ कम्पनीले वीरगन्जमा सीआईएफ दिने भएकोले कोलकाताबाट आयात गर्दा लाग्ने विलम्ब शुल्क तथा ड्यामरेज चार्जबाट भने नेपाली आयातकर्ताहरू मुक्त हुने भएका छन् । सिर्सिया सुक्खा बन्दरगाहस्थित भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत सूर्यप्रसाद सेढार्इंका अनुसार अब विशाखापट्टनमा नै कस्टम ट्रान्जिट डिक्लियरेसन (सिटिडी) अनलाइनमार्फत कम्प्युटरले प्रविष्ट गर्ने र कन्टेनरमा इलेक्ट्रोनिक डाटा जडान गरिन्छ । त्यसरी जडान गरिएको सिस्टम सहितको मालवाहक कन्टेनर वीरगन्ज सम्म ढुवानी गर्ने संस्था कंकरलाई ढुवानीको लागि जिम्मा दिइन्छ । रक्सोल आईपुगेपछि त्यो इलेक्ट्रोनिक डिभाइस निकालिन्छ । यसरी विशाखापट्टनमबाट आएको सामान नेपालको सीमासम्म सुरक्षित पुग्यो भन्ने सिस्टमबाट सबै जानकारी पाउन सकिन्छ । यसले नेपाललाई धेरै फाईदा हुने भन्सार प्रमुख सेढार्इंको भनाइ छ ।
नेपाल र भारतको पारवहन तथा रेलवे सेवा सम्झौता ट्रान्ससिपमेन्टमा जानुपर्छ भन्ने थियो । यसले अब पूरा पेपरलेस ढंगले काम हुनेछ । “अब विशाखापट्टनमबाट हाम्रो सामान तेश्रो मुलुकबाट आउँदा ठिक छ कि छैन भनेर हेरेर मात्रै पठाउने भएकोले यहाँबाट मान्छे पनि जानु परेन, समयको पनि बचत भयो । लागत पनि कम हुन्छ,” सेढाईंले भने, “फाइल र पेपरको ठेली लानुपर्दैन, काम एकदम सरलीकृत भयो । सिआईएफ वीरगन्जमा नै दिएको हुँदा उताबाट आउने कन्टेनरहरू हामीले वीरगन्जमा नै बुझाईदिए पुग्छ । अब समय र लागत दुवै बचत हुन्छ ।”
वीरगन्जस्थित सुक्खा बन्दरगाहमा नै सीआईएफ दिएपछि अब नेपाली आयातकर्ताहरूले ड्यामरेज र विलम्व शुल्क नपर्ने र लागत पनि कम पर्न जान्छ । जसले गर्दा नेपाली उपभोक्तालाई पनि प्रत्यक्ष फाइदा पुग्ने वीरगन्ज उद्योग वाणिज्य संघका सचिव माधव राजपालले बताए । तर, वीरगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष प्रदीप केडिया भने यो सिस्टमले थप खर्च बढेको बताउँछन् । उनले भने, “ट्र्याकिङ सिस्टम लगाउन आयातकर्ताहरूलाई प्रतिकन्टेनर तीनदेखि चार हजार रुपैयाँ खर्च थप भएको छ । हाम्रो भनाइ के थियो भने, डिभाइस लगाएर पनि फाइदा छैन । कन्टेनर चार्जको नाममा लाग्ने खर्च घटाउन पाए राम्रो हुन्छ ।” उनले सीआईएफ वीरगन्ज नै भयो भने मात्र नेपाली आयातकर्तालाई फाइदा हुने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्