सैन्य अभ्यासमा सहभागी नभएपछि भारतले जनायो असन्तुष्टि «

सैन्य अभ्यासमा सहभागी नभएपछि भारतले जनायो असन्तुष्टि

भारतले संयुक्त सैन्य अभ्यासमा नेपाली सेना सहभागी नभएकोप्रति असन्तुष्टि जनाएको छ । सोमबार प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटेर नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले सैन्य अभ्यासमा सहभागी हुने पूर्व निर्धारित कार्यक्रम रद्द गरेकोमा असन्तुष्टि जनाएका हुन् ।
आइतबारमात्रै नेपालको प्रधानसेनापतिमा थापा नियुक्त भएका थिए । त्यसको भोलिपल्ट सैनिक मुख्यालयमै शिष्टाचार भेटका लागि भन्दै पुगेका भारतीय राजदूत पुरीले सैन्य अभ्यासमा सहभागिताबाट पछि हटेकोमा असन्तुष्टि जनाएको उच्च स्रोतले कारोबारलाई बतायो ।
सुरुमा राजदूत पुरीले प्रधानसेनापतिमा नियुक्त भएकोमा थापालाई बधाई तथा शुभकामना दिँदै दुवै देशबीचको सम्बन्धमा थप नयाँ उचाइमा पुग्ने बताएका थिए । त्यसपछि उनले सैन्य अभ्यास र नेपालको सहभागिता नभएकोबारे कुरा उठाएका थिए ।
“सैन्य अभ्यासमा भाग नलिएकोमा उहाँले गम्भीर चासो जनाउनु भयो, त्यसमा असन्तुष्टि पनि झल्कन्थ्यो,” उच्च स्रोतले भन्यो, “तर हामीले सेनाबाट सरकारको निर्णय कार्यान्वयन गरेको र यसलाई अन्यथा लिन नहुने बतायौं ।” तर सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले भने भारतीय राजदूत सिंहसँग प्रधानसेनापतिको पूर्वनिर्धारित तालिका अनुसार नै शिष्टाचार भेट भएकोले सैन्य अभ्याससँग नजोड्न आग्रह गरे । “सैन्य अभ्यास सुरु हुने दिन र राजदूतले प्रधानसेनापतिसँग भेटेको मिति एकै दिन हुने संयोगमात्रै हो,” उनले भने, “भेटमा आपसी हित र पारस्पारिक सम्बन्धका विषयमा कुराकानी भयो, यसलाई यतिमा मात्रै बुझौं ।” प्रवक्ता भण्डारीले सरकारले दिएको निर्देशनअनुसार नै सैन्य अभ्यासबारे नेपाली सेनाले निर्णय पनि स्पष्ट पारे ।
सैन्य अभ्यासमा सहभागीताबारे सरकारसँग औपचारिक अनुमतिका लागि सेनाले गत साता मात्रै रक्षा मन्त्रालयसमक्ष पत्र पठाएको थियो । तर रक्षाले चौतर्फी विरोधका बाबजुद सैन्य अभ्यासमा जाँदा देशको हितमा नहुने भन्दै सोही अनुसार निर्णय लिनुपर्ने सुझाव दिएको थियो । रक्षाको उक्त सुझावपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सैन्य अभ्यासमा सहभागी नहुन सेनालाई निर्देशन दिएका थिए ।
राजदूत पुरीसँगको भेटमा भएका कुराकानीबारे सेनाले भने औपचारिक रुपमा केही खुलाएको छैन । राजदूत पुरीसँग प्रधानसेनापतिको शिष्टाचार भेटवार्ता भएको र त्यस क्रममा पारस्पारिक आपसी हित तथा द्विपक्षीय सम्वन्धका विषयमा कुराकानी भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
भारतको महाराष्ट्र स्थित पूणे (भारतीय सेनाको दक्षिण कमान्ड)मा बिमस्टेक फोरममा आवद्ध नेपालसहित ७ मुलुकका सेनाको भदौ २५ देखि ३१ गतेसम्म ६ दिन लामो संयुक्त सैन्य अभ्यास आयोजना गर्ने कार्यक्रम तय भएको थियो । तर उक्त सैन्य अभ्यास नेपालको हितमा नहेको भन्दै सहभागी नहुन सुरक्षा तथा परराष्ट्रविज्ञ र सत्तारुढ दलहरुकै नेताले सुझाव दिएपछि प्रधानमन्त्री ओलीको निर्देशनमा नेपालीले सेना सैन्य अभ्यास सहभागीता जनाएन । त्यतिमात्रै होइन, सेनाले सैन्य अभ्यासमा पर्यवेक्षकका रुपमा पठाइएका ३ अधिकृत पनि फिर्ता बोलाइएको स्पष्ट पारिसकेको छ । सैन्य अभ्यास सोमबारदेखि भारतको महाराष्ट्र स्थित पूणेमा सुरु भएको छ । सैन्य अभ्यासमा नेपाल बाहेक थाइल्याण्ड पनि सहभागी भएन । बाँकी भारत, श्रीलंका, बंगलादेश, भुटान र म्यानमारका सेना मात्रै सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्