‘अप्रशोधित तेल परीक्षण गरेर गुणस्तरहीनको मुद्दा’ «

‘अप्रशोधित तेल परीक्षण गरेर गुणस्तरहीनको मुद्दा’

सरकारले प्रोबायोटिक इन्डष्ट्रिज प्रालिको उत्पादनमा तोकिएको मापदण्डभन्दा उच्च मात्रामा ‘फ्याट्टी एसिड’ भेटिएको दाबी गरे पनि गुणस्तर संकलनकै क्रममा बदमासी गरिएको पाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवसमेतको उपस्थितिमा भएको गुणस्तर संकलन गर्दा तयारी उत्पादनको नभइ प्रशोधनकै क्रममा रहेको तेलको गरिएको खुलेको छ । मन्त्रालयले गलत नमूना लिएर परीक्षण गरेको भन्दै आलोचना भएपछि उद्योगमन्त्रीले भने तोरीको दाना नभेटिएकाले उद्योगमा शिलबन्दी गरिएको भन्दै विषयान्तर गर्न खोजेको उद्योग पक्षले आरोप लगाएको छ ।
मन्त्री यादव आफैं अनुगमनमा गएपछि स्थानीय प्रशासनमार्फत भदौ पहिलो साता उद्योगमा ताल्चा लगाइएका छ । यादव भने त्यसको एक साताअघि उद्योग निरीक्षणमा गएका थिए । उद्योगले भने दुई महिनाअघि अन्तर्राष्ट्रिय गुणस्तर चिह्न आईएसओ पाएको थियो । वीरगञ्जको जगरनाथपुरमा रहेको यो उद्योगमाथिको छापाको स्थानीय उद्योगी व्यवसायीले भने तीब्र विरोध गरेका छन् । खाद्य सुरक्षा व्यवस्थापन प्रणालीको उच्च मापदण्ड पूरा गरेकै कारण कृषिजन्य उद्योगका रूपमा नेपालमै पहिलो पटक यो प्रमाण पत्र पाएको उद्योगमाथि कारबाहीको बचाउ गर्न मन्त्रीले भने विदेशबाट तोरीको तेल ल्याएर बिक्री गरेको अर्को आरोप लगाएका छन् । “निम्बसले नेपालमै उत्पादन गर्ने स्वीकृत लिए पनि तोरीको तेल विदेशबाट ल्याएर बिक्री गर्ने गरेको पाइएकाले उद्योग शिल गरी सञ्चालकलाई बयानका लागि बोलाउने तयारीमा छौं,” मन्त्री यादवले केही दिनअघि सञ्चारकर्मीहरूसँग भनेका थिए ।
यता, उद्योग बन्द गराइएको विरुद्ध प्रोबायोटिक इन्डष्ट्रिजले उत्प्रेषणको आदेश माग गर्दै मन्त्रालय तथा जिल्ला प्रशासनविरुद्ध दायर गरेको रिटमा सोमबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले विपक्षीका नाउँमा कारणदेखाऊ आदेश जारी गरेको छ । दुवै पक्षलाई छलफलको लागि भदौ २८ गते (बिहीबार) बोलाइएको छ । निवेदक प्रोबायोटिक इन्डष्ट्रिजका तर्फबाट डा. दिनेश गौतमले दायर गरेको रिटमा अन्तरिम आदेश माग गरिएकोमा उक्त दिन यसबारे निर्णय हुनेछ । रिट निवेदकका पक्षबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, बालकृष्ण ढकाललगायतले बहस गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्