Logo

अन्तरिक्षमा विलाशी होटल बनाउदै रुस

अमेरिकाको निजी कम्पनीले सामान्य मानिसलाई पनि अन्तरिक्षमा लैजाने योजना बनाउदै गरेको समयमा रुस भने कुनै अपत्यारिलो तर अनौठो काममा जुटेको छ । रुसी स्पेस कम्पनी रोसकान्समस अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन अर्थात आईएसएसमा एक विलाशी होटल बनाउने तयारीमा जुटेको छ ।
यो होटल बनिसकेपछि जो कोही पनि ४ करोड डलर खर्च गरेर होटलमा एक वा दुई हप्ताका लागि बस्न सक्ने छन् । यसका अतिरिक्त २ करोड डलर दिएर होटलका पाहुनालाई अन्तरिक्ष यात्रीसँग स्पेसवाक गर्ने अवसर पनि मिल्ने छ । पपुलर मेकानिक्समा छापिएको समाचार अनुसार रुसी स्पेस ठेकेदार आरकेकेलाई यो होटलको निर्माणको रणनीति तयार गर्ने जिम्मेवारी दिइएको छ । यो होटल निर्माण गर्नका लागि करिब २७.९ करोडदेखि ४४.६ करोड डलर खर्च हुन सक्ने बताइएको छ ।
यो होटलमा सुत्नका लागि ४ वटा कोठा र यसमा ९ इन्चको झ्याल हुनेछ । यसको साथसाथै होटलमा मेडिकल तथा हाइजिन स्टेसन तथा १६ इन्चको झ्याल भएको लन्ज क्षेत्र पनि हुने छ ।
आजसम्म पनि आईएसएस जानका लागि रुसकै सोयूज यानको प्रयोग गरिदै आएको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पनि आफ्ना अन्तरिक्ष यात्रीलाई यसै यानबाट पठाउदै आएको छ । तर बोइङ तथा स्पेस एक्स जस्ता अमेरिकी कम्पनीले पनि अन्तरिक्ष यान बनाइरहेका छन् । यो सफल भएपछि नासालाई रुसको सोयुजको आवश्यकता पर्नेछैन ।
प्रत्येक वर्ष करिब ६ यात्रुले एक साता अन्तरिक्ष होटलमा बिताएमा कम्पनीले ७ वर्षमा आफ्नो लागत उठाउने बताइएको छ । यो होटल निर्माणका लागि कम्तीमा पनि पाँच वर्ष लाग्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्