कोहलपुर नगर विकास समितिको बजेट ५७ करोड २२ लाख «

कोहलपुर नगर विकास समितिको बजेट ५७ करोड २२ लाख

नेपालगन्ज-पश्चिम नेपालको केन्द्रविन्दु मानिएको कोहलपुर नगर विकास समितिले चालु आर्थिक वर्ष ०७५–०७६ का लागि ५७ करोड २२ लाख बजेट विनियोजन गरेको छ । गत आर्थिक वर्षमा ३० करोड ४० लाख बजेट विनियोजन गरको नगर विकास समितिले चालु आर्थिक वर्षमा गत बर्षको तुलनामा २६ करोड ८२ लाख बढि रकमको बजेट विनियोजन गरेको हो ।
कोहलपुर नगर विकास समितिका अध्यक्ष अवराज खड्काले चालु आर्थिक वर्षमा बिनियोजन गरिएको बजेटका बारेमा जानकारी दिंदै कोहलपुरलाई पश्चिम नेपालकै सबैभन्दा स्मार्ट सिटी बनाउने उदेश्यका साथ बजेटलाई गत तर्षको तुलनामा दोब्बर भन्दा पनि बढी पारिएको बताए ।
अध्यक्ष खड्काका अनुसार बिनियोजित बजेटमा भौतिक पूर्वाधार तर्फ विशेष जोड दिईएको छ भने नगरविकास भित्र रहेका सडकहरुको स्तरोन्नतीका लागि ठुलो मात्रामा बजेट छुट्टाईएको छ ।
बसपार्कको कमर्सियल भवन निर्माणका लागि ९ करोड छुट्याएको नगर विकासले राष्ट्र बैंकको जग्गा वरपर बाटो ग्रावेल, नाला तथा फुटपाथ निर्माणका लागि १५ करोड, गोलपार्क क्षेत्र वरपरका घडेरीहरुका लागि सडक तथा ड्रेन निर्माणकामा ३ करोड र क्रिकेट मैदान जाने सडक तथा शाखा बाटोहरु निर्माणका लागी ३ करोड र गोलपार्कमा भ्यू टावर निर्माणका लागि ३ करोड रकम छुट्टाएको छ ।
त्यसैगरी नगरभित्र विद्युतीकरणका लागि १ करोड, कोहलपुर खुल्ला शहिद मञ्चमा पर्खाल निर्माणका लागि २ करोड, डुडुवा खोलामा तटबन्धनका लागि २ करोड, नगरभित्रका बिभिन्न क्षेत्रमा नाली निर्माण तथा बाटो ग्राबेलका लागि ४ करोडको रकम बिनियोजित गरिएको नगर विकास समितिका अध्यक्ष खड्काले जानकारी दिए ।
कोहलपुरको समग्र विकासका लागि कोहलपुर नगरपालिका र नगरविकास समिति विच समन्वय र सहकार्य भैरहेको जनाउँदै अध्यक्ष खड्काले विकासका योजनाहरु नदोहोरिएको बताए ।
उता, कोहलपुर नगरपालिकाले पनि नगर विकास समितिले गत बर्षको तुलनामा दोब्बर बढी बजेट विनियोजन गरेकोमा समितिप्रति आभार ब्यक्त गरेको छ ।
कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले नगरपालिका र नगरविकास समिति दुबैको एउटै र साझा लक्ष्य नै कोहलपुरलाई स्मार्ट सिटी बनाउने रहेको जनाउँदै दुबै संस्थाले मिलेर काम गरिरहेको जनाए ।
उनले कोहलपुरलाई यस क्षेत्रकै नमुना नगरका रुपमा विकसित गर्ने योजनाका साथ अगाडी बढेको बताए ।

प्रतिक्रिया दिनुहोस्