शैक्षिक समुन्नतिबाट समृद्धि «

शैक्षिक समुन्नतिबाट समृद्धि

आर्थिक र नैतिक सुशासन र समन्यायमा शिक्षाले समृद्धिलाई वकालत गर्न सक्नुपर्छ ।

नेपालले २००७ सालको प्रजातान्त्रिक प्राप्तिसँगै राजनीतिगत तथा शैक्षिक परिवर्तनका विभिन्न मोड, घुम्ती पार गर्दै आइरहेको छ । सङ्क्रमणकालीन युगको घाउमा मल्हम लगाउन संविधान कार्यान्वयनका आशा र अपेक्षासँगै आत्मनिर्भर नेपालको अभिलाषा छ । संघीय गणतान्त्रिक युगसम्म आइपुग्दा समाजतिर उन्मुख समृद्ध राष्ट्रको निर्माणमा शिक्षाले पनि मोडिने जमर्को गरिरहेको वर्तमान अवस्थामा हामी छौँ । गुणात्मक परिवर्तनको अपेक्षामा शिक्षाले सम्बन्ध गाँस्छ । समावेशी र समतामूलक समाज निर्माण गर्दै समाज रूपान्तरणमा सापेक्षित शिक्षाको जग बसाल्ने सोचमा राष्ट्रिय स्वाभिमान उँचो नबनेको होइन । समृद्धिका अपेक्षामा शिक्षाको जग मजबुत बन्नैपर्छ । शिक्षा र सुशासनको जगमा समृद्धिले मौलाउने बाटो र माटो पाउँछ । २०७५ सालको ३९ औँ राष्ट्रिय शिक्षा दिवस तथा ५२ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको आदर्श वाक्य ‘समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवम् दिगो शैक्षिक पूर्वाधार’ सँगै शैक्षिक सबलतालाई उच्च तहमा राखेर तौलिने जमर्को गरिएको छ । यता भौतिक संरचनाको जीर्ण अवस्था, शिक्षकमा उत्साह नहुनु, नीतिलाई तालिमका पत्रमा सीमित भइरहनु अनि शिक्षाले राजनीतिका आडमा रहेर हजुराइँ गरिरहनु आजको समस्या हो ।
नेपालले सेप्टेम्बर ८ लाई अन्तर्राष्ट्रिय साक्षरता दिवसका रूपमा मनाइँदै आएको छ । यस वर्ष ‘डिजिटल संसारमा साक्षरताको महत्व’ भन्ने नारासहित चेतनामूलक अभ्यास गरिएका छन् । ९५ प्रतिशतभन्दा बढी साक्षरता भएका जिल्ललाई पूर्ण साक्षर भनिँदै आईए पनि नेपालमा ४५ जिल्लामा मात्र यस दायरामा समेटिएका छन् । बल्ल नेपालमा ८१ प्रतिशत साक्षर रहेको पाँच वर्षभन्दा माथिको जनसङ्ख्याको तथ्याङ्क छ । सरकारले साक्षरता अभियानमा एउटा फड्को मारिरहँदा जनगणनाका आधारको संख्यालाई नियाल्दा आझै १७ लाख, ३८ हजार ६ सय ४३ जना निरक्षर रहेको अनुमान गर्न सकिन्छ । ५३ हजार बालबालिका त विद्यालयबाहिरै छन् । यस मानेमा महत्वाकाङ्क्षी निरक्षरता उन्मूलनका योजनाअनुरूपका कार्यान्वयनका सवालमा सरकार र सरोकारवालाले समयमा सचेतता अपनाउँदै जानुपर्ने देखिन्छ । शिक्षामा विकास गर्नुपर्छ भन्ने बदलिँदो सोचमा रहेर प्रौढ शिक्षाले एउटा फड्को त मार्ला तर सिकाइको प्रभावकारिताका आधारमा साक्षरता विकासको पहुँच विस्तारका नीतिमा ठोस तथ्याङ्क र योजना कार्यान्वयनका विषय अब सान्दर्भिक हुन सक्लान् ।
समाजवादले समृद्धिसँग सम्बन्ध राख्छ । संविधानले समाजवादउन्मुख अवधारणामा समाजलाई डोराउन चाहेको छ । समाजवादलाई प्रज्ञा दर्शन कोशले ‘समाजमा रहेको आर्थिक विषमता हटाई समता ल्याउनुपर्छ । देशको सम्पूर्ण सम्पत्तिमा कसैको एकलौटी अधिकार हुन नदिई सबैले मिलेर परिश्रम गर्दै उत्पादन र उपभोग्य साधनमा समाजको साझा अधिकार रहनुपर्छ भन्ने राजनीतिक सिद्धान्त’ हो भनी प्रस्ट्याएको छ । माक्सवादी मान्यता अनुसार ‘सबैलाई योग्यता अनुसारको काम तथा काम अनुसारको दाम’ दिनुपर्छ भन्ने मूल नीतिको सारमा समाजवाद सञ्चालित हुन्छ । समाजवाद आफैमा राजनीतिगत मान्यता, सिद्धान्त र दर्शन पनि हो । उत्पादनका साधनमा राज्यको स्वामित्व रहने मान्यताको समाजवादी मान्यताले राष्ट्रलाई समृद्धितर्पm लम्काउँछ भन्ने मान्यतामा नेपालको शिक्षा पनि लम्किरहेको छ । भनौँ, माक्सको साम्यवादभन्दा अलिक कम नयाँ लोकतान्त्रिक मान्यताबाट मुलुकले समृद्धिको अपेक्षा बोकेको छ । समृद्धिको आशामा गुणस्तरीय, व्यावहारिक र प्राविधिक तथा प्रविधिमैत्री शिक्षा विकासले प्रत्यक्ष सम्बन्ध राख्छ । शिक्षाले दक्ष जनशक्ति उत्पादन हुन्छ तब समाजवादको अठोटलाई व्यावहारिकता दिन्छ । नेपालले शिक्षित जनशक्तिलाई समयानुसार आफ्नै मुलुकमा अवसर दिने र आवश्यक जनशक्ति उत्पादन गर्दै जाने हो भने यहाँको श्रमशक्ति होइन वस्तुलाई निर्यात गर्न सक्छ ।

समृद्धिका पक्षमा शिक्षा
वास्तवमा समृद्ध राष्ट्र त्यतिखेर निर्माण हुन्छ जतिखेर जनताका हातमा सीप र मनमा जोस तथा सरकारमा स्पष्ट विकासवादी योजना हुन्छ । राज्यले अवसरै अवसर प्रदान गरिरहन्छ, जब श्रमको अवसर र मूल्य दिन्छ तब यो देशको दक्ष जनशक्तिको जवानी, पारिवारिक प्रेम, सद्भावले खाडीमा कौडीको भाउमा बिक्नुपर्ने छैन । सम्भावनाका चाङभित्र रहेको स्वाभिमानमा अवसरको अभावले हतौडा हानिरहँदा हाम्रो मुलुक आझै २१ दशमलव ६ प्रतिशत जनता गरिबीको रेखामुनि बसेर छाक टार्ने ध्याउन्नमा तड्पिरहेका छौँ । दौँतरी युगको जापानले यन्त्रमानवलाई निर्देशन गरिरहँदा हामी खच्चरलाई भारी बोकाएर उकालोमै उसै गरी पसिना पुछिरहेकै छौँ । बलात्कार, विभेद, अन्यायको सङ्कुचनले विकासमा लाग्ने महत्वपूर्ण समय खेर गइरहेको छ । विकासको बाधक अशिक्षा र अभावको जलन हो ।
करिब ४०.३५ प्रतिशत युवाशक्ति देशमा छन् । तथ्याङ्कले नेपाली जनताको प्रतिव्यक्ति आय हजार डलरभन्दा माथि पुगेको भनिरहँदा करिब २.३ प्रतिशत युवाशक्ति बेरोजगारीका कारण अशान्त छन् भने ३५.८ प्रतिशत अर्धबेरोजगार छन् । आर्थिक वर्ष ०७४/७५ मा मात्र १ लाख ४० हजार युवाले श्रम स्वीकृति लिएको तथ्यले परदेशमा बेचिएका युवाशक्तिको श्रमलाई बोध गराउँछ । अर्को हृदयविदारक वेदनालाई नियाल्दा घरको सानो बाकसमा पैसा जम्मा गर्न चाहेर प्रतिदिन १ हजार बढी नेपाली युवा एयरपोर्टबाट खादा र टीका लाएर बाहिरिन्छन् र हालको तथ्याङ्कअनुसार गत साल मात्र ८२१ जना युवा आफै ठूलो बाकसमा भरिएर भित्रिए । नेपाल आमाले त्यो रगत र आँसुमा पोतिएको रेमिट्यान्सबाट समृद्ध राष्ट्रको परिकल्पना गर्न चाहन्नन् । हाल करिब ४३ लाख युवा बिदेसिएका छन् ।
‘समृद्ध नेपाल : सुखी नेपाली’ को नारा घन्किरहँदा यहाँ जल, जङ्गल, जमिन, जडीबुटी, जनशक्ति विकासका सम्भाव्यताका चाङ छन् । आदर्शताको गफ पनि खुबै हुन्छ । पर्यटन विकासको सम्भाव्यतासँगै होमस्टेमा आकर्षित पाहुनाले समृद्धिको एउटा खुड्किलो चढाउन मद्दत पुग्छ । विडम्बना, हाम्रो कृषिप्रधान मुलुकका करिब दुईतिहाई जनता कृषिमा रहिरहँदा बेरोजगारीको पीडा अनि बाँझो खेतको विलौनासँगै दैनिक उपभोग्य खाद्यान्न पनि बाहिर देशबाट आयात गरिरहँदा मन कटक्क हुन्छ । २०६१ सालदेखि सुरु गरिएको भर्ना अभियानले २०७५ सम्म आइपुग्दा ‘हामी सबैको इच्छा : अनिवार्य नि:शुल्क शिक्षा’ को नारालाई गुञ्जायमान पार्दै हामी परिवर्तनमा जटिलता भेटिरहन्छौँ । भूकम्प र बाढीपहिरोका कारण विद्यालयका भौतिक संरचना आझै जीर्ण छन् । उता शिक्षकले नवीन ज्ञान र परिवर्तनमा जाँगरै चलाउँदैन । व्यवस्था परिवर्तन भए पनि विचार परिवर्तन नहुँदा शिक्षामा जटिलताका चाङ छन् ।
बालमैत्री शिक्षाका पाटामा रहेर युनेस्कोको अवधारणालाई सिकाइ जान्न, गरेर सिक्न, दिगो सिकाइ तथा बाँच्नका लागि सिक्न आग्रह गरिरहँदा हामी समृद्ध समाजमा बाधैबाधा भेट्छौँ । दिगो विकासको सम्बन्धमा नातो गाँस्नुपर्ने शिक्षाले बजेटमा बढाबा दिँदै जाने भने पनि शिक्षित बरोजगारीको हीनताबोध कम हृदयविदारक लाग्दैन । अर्को पाटोमा कैयौँ हिमाली, दुर्गममा चेतनाको अभाव र अशिक्षाको प्रताडना छ । यहाँ तराईको आर्तनाद खुब गुञ्जिरहँदा वर्षमा ६ महिना पनि पढ्न नपाउने हिमाली जनताले यो आवाजका बारेमा केही बुझ्नै जानेका छैनन् । तिनमा आझै देश र अधिकार माग्ने विषय छायामा छ । भलै कर्तव्य पूरा गर्लान् तर नाकमा सिँगान र थोत्रो बख्खु लगाएर गाईवस्तु स्याहार गरिरहँदा जिन्दगीको संसारै फरक लाग्छ । जेजति गफ गरिए पनि चोरलाई चौतारो र साधुलाई सुली चढाउने अनैतिकताको जलनमा स्वतन्त्र न्यायालय नै दुर्गन्धित भइरहेका समाचार पुराना बन्नै सकेका छैनन् । जनतामा अविश्वासको पीडा छ । तीतो यथार्थतालाई नियाल्दा मुलुकका ३० जिल्ला आझै पूर्ण साक्षर बन्न नसकेका खबर छन् । वर्तमानको पछिल्लो तथ्याङ्कले करिब ३ लाख निरक्षर रहेको तथ्याङ्क पस्केका समाचार छन् । यसर्थ मुलुकले मुहार फेर्न शिक्षाको लगामलाई अब राजनीतिको डोरीबाट छुटाएर शिक्षाकै कसीमा नि:स्वार्थ दौडाउनुपर्छ ।

सम्भाव्यताका आधार
मुलुकको विकासका लागि कृषि, लघु तथा बृहत् उद्योग व्यवस्थापन, घरेलु उद्योगका विभिन्न पाटा, पर्यटन विकास, आयमूलक कार्यक्रम, रुचिकर बौद्धिक शिक्षा विकास, ज्ञानमूलक, सीपमूलक र आयमूलक शिक्षाको विकासबिना समाजवाद उन्मुख दिगो विकासको लक्ष्य सम्भव छैन । जलविद्युत् विकासका पाटा, आधुनिक खेती प्रणाली, रेल्वे सेवा विकास या त वैकल्पिक ऊर्जा विकासमा मुलुकले युवाशक्तिको पाखुरीलाई पूजा गर्न सिकोस् । विकासका नाममा विनास होइन समृद्धिसँग शान्तिको पथ प्रदूषित बन्नुहुन्न तब समाजवाद उन्मुख समृद्ध मुलुकको सपना साकार बन्न सक्छ । श्रमशक्ति र युवाशक्तिलाई सूचना प्रविधिसँग गाँसेर वैज्ञानिक समाजवादको परिकल्पनामा विश्वको शिक्षा उन्मुख भइरहेको छ । रोजगारमूलक तथा सीपमूलक प्राविधिक शिक्षाको विकासबिना समृद्धिका सपना टुहुरा हुन्छन् । अपूरा र अधुरै रहन्छन् । हामीले बल्ल समाजको सुशासन, न्याय प्रणाली, विभेदरहित समतामूलक समाजका विषयमा बोल्न थालेका छौँ । विकसित मुलुकले रकेट प्रक्षेपण गर्दै ब्रह्माण्डको अवलोकन गरिरहँदा हामी गुणात्मक परिवर्तनका बाधक दासप्रथा, शोसक, सामन्ती संस्कार छोइछिटो गरेर वर्गीयताकै सङ्कीर्णतामा नराम्ररी फसेका छौँ । हामी आझै सामन्ती सोच र साम्राज्यवादी संस्कारको सङ्क्रमणमा जेलिइरहेका छौँ । यसो भनिरहँदा हाम्रो नेपाली विविधतामा रहेको जिउँदाको जन्ती मर्दाको मलामी बन्ने सामाजिक संरचनामा डढेलो लाग्नु हुन्न । पर्यटक भित्रिँदा विकृति भित्रिन्नु हुन्न । मौलिकता मर्नु हुन्न । हाम्रा सांस्कृतिक सहिष्णुता र भाइचारा, भाषा, भेष, सकारात्मक परम्परामा धमिरा लाग्नु हुन्न ।
समाज रूपान्तरण गर्ने बुद्धको शान्तिप्रेमी स्वरलाई छोडेर हामी नेपालीहरू हिटलरको क्रुरतालाई अवश्य चाहन्नौँ । भाइचारा सद्भावरहितको छाडा प्रवृत्तिले समाजवादी शिक्षालाई विकसित तुल्याउनै सक्दैन । अत: आर्थिक र नैतिक सुशासन र समन्यायमा शिक्षाले समृद्धिलाई वकालत गर्न सक्नुपर्छ । सामाजिक द्वन्द्व होइन समतामूलक समाजमा रहेर शिक्षित वर्गले जागिरको भीख माग्ने सैद्धान्तिक शिक्षा होइन, व्यावहारिक परिवर्तनकारी शिक्षाले मात्र दिगो शैक्षिक पूर्वाधारलाई स्थायित्व दिन्छ । सर्वहारा वर्गले अवसर पाउने व्यावहारिक चेतनामूलक प्राविधिक शिक्षासँग समृद्धि र दिगो विकासका अभिलासा उनिन्छन् । दिगो विकासमा बाह्य तथा आन्तरिक पुँजीको सन्तुलन मिलाएर समाजलाई जिउँदो प्रयोगशाला बनाउन सक्ने नीति तथा योजनाको आवश्यकता छ । जैविक विविधता, सामाजिक सद्भाव र सहिष्णुता, इतिहास र संस्कृतिमा आघात नपुग्ने गरी समृद्धिको नारा घन्काउँदै शान्तिको बिगुल फुक्ने समाजवाद र दिगो शैक्षिक पूर्वाधारको विकासमा अब नेपाल आमा नातो गाँस्न चाहन्छिन् ।

प्रतिक्रिया दिनुहोस्