आर्थिक अनियमितताको विवादमा खानेपानी कार्यालय «

आर्थिक अनियमितताको विवादमा खानेपानी कार्यालय

सोलुखुम्बु-जिल्ला खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय सोलुखुम्बु ७६ लाख ६७ हजार ८५ रुपैयाँ आर्थिक अनियमितताको विषयमा विवादमा आएको छ । डिभिजनको खानेपानी आयोजनाअन्तर्गत नाजिङ सेकारसिङ बाराने खानेपानी उपभोक्ता समितिमा आर्थिक अनियमितता भएको उजुरी जिल्ला प्रशासन कार्यालयमा परेपछि खानेपानी कार्यालय विवादमा तानिएको हो ।
उपभोक्ता समितिका कार्यसमिति सदस्य छोङवा शेर्पाले समितिमा आर्थिक अनियमितता भएको उजुरी जिल्ला प्रशासन कार्यालयमा दर्ता गराएपछि आर्थिक अनियमिताको रहस्य बाहिर आएको हो । शेर्पाले हालसम्म अध्यक्ष र सचिवले एकलौटी ढंगले समितिका अन्य पदाधिकारीलाई जानकारी नदिई किर्ते हस्ताक्षर गरेर रकम निकासा गरेको आरोप लगाएका छन् ।
उपभोक्ता समितिमार्फत आयोजना निर्माणको क्रममा खानेपानी तथा सबडिभिजन कार्यालयका प्रमुखसहित केही कर्मचारीलाई रकम बाँडफाँड गरेको शेर्पाको दाबी छ । आर्थिक अनियमितताको आरोप लागेका जिल्ला खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय सोलुखुम्बुका प्रमुख कुलप्रसाद शर्मालाई पटकपटक फोन सम्पर्क गर्दा उनले फोन उठाएनन् ।
सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी टुक्ति शेर्पाले जिल्ला प्रशासन कार्यालयमा छानबिनका लागि उजुरी परेको जानकारी दिँदै छानबिन पश्चात सत्यतथ्य बाहिर आउने बताए । अध्यक्ष शेर्पाले अनियमितता पुष्टि गर्न चुनौती दिँदै भ्रष्टचार गरेको सावित भएमा कारबाही भोग्न आफू तयार रहेको बताएका छन् ।
यता खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय सोलुखुम्बुका सूचना अधिकारी सोमप्रसाद आचार्यले भने बाहिर आएजस्तो अनियमितता नभएको दाबी गरे । बहुवर्षीय योजनाअन्तर्गत ३ वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने लक्ष्यसहित जनश्रमदान सहितको रकम कुल ७६ लाख ६७ हजार ८५ रुपैयाँ भएको जानकारी दिँदै निकासा र सम्झौताको विषयमा जुनसुकै बेला पनि कार्यालयमा आएर बुझ्न सकिने स्पस्ट पारे । खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय यसअघि पनि ढल ब्यवस्थापनका लागि ‘ढल निर्माण तथा प्रशोधन कार्यक्रमअन्तर्गत रकम काम सुरु नै नगरी भुक्तानी गरेको विषयमा विवादमा तानिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्