Logo

बाजुरामा दैनिक उपभोग्य वस्तुको हाहाकार

बाजुरा-लगातारको वर्षाले सदरमुकाम मार्तडी जोड्ने साँफे–मार्तडी सडक खण्ड दुई महिनादेखि अवरुद्ध भएपछि बाजुरामा दैनिक उपभोग्य वस्तुको अभाव भएको छ ।
लगातारको वर्षाले दुई महिनासम्म यातायात नचले पछि दैनिक उपभोग्य वस्तुको हाहाकार भएको हो । सदरमुकाम मार्तडी जोड्ने साँफे–मार्तडी सडक खण्डअन्तर्गत पर्ने बूढीगंगा नगरपालिकाको बाम्का, गुइँगाड, बल्दे, द्धारी हँुदै बडिमालिका नगरपालिकाको विभिन्न ठाउँमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो ।
यातायात बन्द हुँदा जिल्लाका बडिमालिका र बूढीनन्दा नगरपालिका, गोमूल गाउँपालिका, स्वामीकार्तिक, खापर, जगन्नाथ, हिमाली र खप्तड छेडेदह गाउँपालिकामा दैनिक उपभोग्य वस्तुको हाहाकार भएको सदरमुकाम मार्तडीका व्यापारीले बताएका छन् ।
सधैंका वर्ष कच्ची सडकका कारण हिउँदमा मात्र यातायात चल्ने सडक खण्ड यो वर्षमात्र मार्तडीसम्म कालोपत्रे भएको थियो । सडक कालोपत्रे भएपछि मौजुद दैनिक उपभोग्य वस्तु राखिएन । यसै वर्ष बाढीले सडक तहस नहस बनाएर दैनिक उपभोग्य वस्तुको हाहाकार भएको उद्योग वाणिज्य संघका अध्यक्ष देवबहादुर रोकायाले बताए ।
हिउँदमा पानी नै नपर्ने र खेती नै लाग्दैन वर्षामा बाढी पहिरोले सडक अवरुद्ध भएपछि स्थानीय भोकमरीको मारमा परेका छन् । बाजुरामा चामल, दाल, ग्यास, तरकारी पीठोलगायतका दैनिक उपभोग्य वस्तुको बढी अभाव भएको सिंह ब्रदर्शका सञ्चालक हंशबहादुर सिंहले बताए । लगातार पानी परिरहेकाले तत्काल सडक खुलाउन पनि अप्ठेरो भएको र पानी कम हुने बित्तिक्कै सडक सञ्चालनका लागि सडक डिभिजनसँग कुरा भइरहेको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए ।
जिल्लामा रहेको नेपाल खाद्य संस्थानमा समेत चामल र गहँु सकिएर खाद्य गोदाममा ताला लगाएर बस्नु परेको नेपाल खाद्य संस्थानका निमित्त कार्यालय प्रमुख मेखराज ओझाले जानकारी दिए । सडक अवरुद्ध भएसँगै बिरामीसमेत मारमा परेका छन् । जिल्लामा उपचार हुन नसेकेर जिल्ला बाहिर रिफर गर्नुपर्ने बिरामी बढी मारमा परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा समेत औषधि अभाव हुन थालेको स्वास्थ्यकर्मीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्