सभामुख महराद्वारा झांगमु–तातोपानी र केरुङ–रसुवागढी पुल शिलान्यास «

सभामुख महराद्वारा झांगमु–तातोपानी र केरुङ–रसुवागढी पुल शिलान्यास

ल्हासा-चीन भ्रमणमा रहेका सभामुख कृष्णबहादुर महराले झांगमु–तातोपानी र केरुङ–रसुवागढी नाका पुल पुनर्निर्माण र महावाणिज्य दूतावास भवनको शिलान्यास गरेका छन् ।
सभामुख महराले आइतबार ल्हासास्थित एक विशेष समारोहका बीच नेपाल–चीन सीमा नाकाका अन्तर्राष्ट्रियमैत्री पुलको पुनर्निर्माण तथा महावाणिज्य दूतावास भवनको शिलान्यास गरेका हुन् ।
सभामुख महराको प्रमुख आतिथ्यमा ल्हासाबाटै भिडियो प्रविधिबाट गरिएको शिलान्यास समारोहमा तिब्बत जनकांग्रेसका अध्यक्षसहितका पधाधिकारीको सहभागिता थियो । २०७२ वैशाख १२ गतेको महाभूकम्पका कारण नेपाल–चीन जोड्ने दुवै पुल क्षतिग्रस्त भएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला संयुक्त वक्तव्यमा दुई मितेरी पुल बनाउने सहमति भएसँगै चीन सरकारले पुल पुनर्निर्माण कार्यअघि बढाउन लागेको हो । यी दुई मैत्री पुल निर्माण भएसँगै दुई देशबीच व्यापारका साथै पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्नेछ ।
शिलान्यास कार्यक्रममा सभामुख महराको प्रतिनिधिमण्डल, ल्हासास्थित नेपाली महावाणिज्यदूत, परराष्ट्र मन्त्रालयका सहसचिव, सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक तथा नेपाल–चाइना फ्रेन्डसिप एसोसिएसनका पदाधिकारीको उपस्थिति रहेको थियो । ल्हासास्थित शिलान्यास गरिएको उक्त भवन चीन सरकारको स्वामित्वमा नियोगले सन् २०७५ सम्मका लागि भाडामा लिएको छ ।
पुल पुनर्निर्माण तथा दूतावास भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै सभामुख महराले ल्हासामा रहेको नेपाली वाणिज्य दूतावास नेपाल र चीनबीच सुमधुर सम्बन्धको प्रतीकको रूपमा रहेको बताए ।
“‘ल्हासामा रहेको वाणिज्य दूतावास नेपालको प्राचीन वाणिज्य दूतावासमध्येको एक हो,” सभामुख महराले भने, “यो वाणिज्य दूतावास नेपाल र चीनबीच सुमधुर सम्बन्धको प्रतीकको रूपमा रहेको छ र भविष्यमा दुई मुलुकबीचको सम्बन्धको कोशेढुंगाको रूपमा रहनेछ ।”
पहिलो पटक आफूले तिब्बत स्वायत्त क्षेत्र भ्रमण गर्दाको क्षण स्मरण गर्दै सभामुख महराले तिब्बतको भौतिक विकासबाट आफू धेरै प्रभावित भएको बताए । तिब्बत प्राचीनकालदेखि नै चीन प्रवेश गर्ने मुख्य मार्गको रूपमा रहेको चर्चा गर्दै सभामुख महराले सुख र दुःख दुवै समयमा नेपालले चीनको स्वशासित क्षेत्र तिब्बतबाट महत्वपूर्ण सहयोग पाइरहेकोमा खुसी व्यक्त गरे ।
‘सुख र दुःख दुवै समयमा नेपालले चीनको स्वशासित क्षेत्र तिब्बतबाट महत्वपूर्ण सहयोग प्राप्त गरिरहेका छौं, उनले भने, “चीनको स्वशासित क्षेत्र तिब्बत हाम्रो घनिष्ठ मित्र, असल छिमेकी र शुभचिन्तक हो । नेपालको बाह्य सम्बन्धको पाटोमा तिब्बतको महत्वपूर्ण स्थान रहेको छ ।”
तिब्बत चीनको एक भाग हो भन्ने कुरामा नेपाल सरकार अडिग रही एक चीन नीतिमा पूर्ण प्रतिबद्ध रहेको दोहो¥याउँदै सभामुख महराले नेपाली भूमि कुनै पनि छिमेकी राष्ट्रको हितविपरीत प्रयोग हुन नदिने कुरामा सजग रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्