सोलुका ३४ वडा सचिवविहीन «

सोलुका ३४ वडा सचिवविहीन

सोलुखुम्बु-हिमाली जिल्ला सोलुखुम्बुका अधिकांश वडा सचिवविहीन भएका छन् । ८ स्थानीय तह र ५२ वडा रहेको सोलुखुम्बुमा अहिले धेरै वडा सचिवविहीन छन् । ५२ वडामध्ये ३४ वडा, वडा सचिवविहीन छन् । सोलुदूधकुण्ड नगरपालिकाको २ नम्बर वडा र ९ नम्बर वडामा सचिव नभएको मेयर नाम्गेल जाङबु शेर्पाले बताए ।
नेचा सल्यान गाउँपालिकाको १ नम्बर र २ नम्बर, लिखुपिके गाउँपालिकाको ४ वटा वडा, सोताङको ३, थुलुङ दूधकोसीको ९ मध्ये ७ वटा वडा र माप्य दूधकोसीको ६ वटा वडा सचिवविहीन छन् । त्यस्तै खुम्बु पासाङ ल्हमू गाउँपालिकाको ५ वटै वडा र महाकुलुङ गाउँपालिकाको ५ वटै वडा गरी ३४ वटा वडा वडा सचिवविहीन छन् । वडा सचिवको ठाउँमा स्वास्थ्यकर्मी र अन्य विषयगत शाखाका कर्मचारीलाई खटाइएको छ
सचिव नहुँदा कार्य सम्पादनमा समस्या हुने गरेको थुलुङ दूधकोसी गाउँपालिका–७ देउसाका वडाध्यक्ष राम संघर्ष किराँतीको भनाइ छ । कतिपय स्थानीय तहमा भने एउटै वडा सचिवले सबै वडा हेर्नु परेकाले पनि समस्या हुने गरेको माप्य दूधकोसी गाउँपालिकाकी उपाध्यक्ष जुनिता माया मगरले बताए । उनका अनुसार माप्यमा हाल एउटै वडा सचिवले ७ वटै वडा हेर्दै आएका छन् । ३ वटा वडामा सचिव थप गरिएको भए पनि हालै गाउँपालिकामा नियुक्त भएकाले सम्पूर्ण कार्यभार सम्हाल्न केही समय लाग्ने उपाध्यक्ष मगरको भनाइ छ । एउटै सचिवले धेरै वडा हेर्नुपर्दा सामाजिक सुरक्षा भत्ता समयमा वितरण गर्न नसकिने, पन्जिकरण सेवामा समस्या हुने र प्रशासनिक कामले गति लिन नसक्ने माप्य दूधकोसी गाउँपालिका वडा नम्बर ६ र ७ का वडा सचिव पशुपति पोखरेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्