अछाममा राहदानी लिने घटे «

अछाममा राहदानी लिने घटे

अछाम-अछाममा राहदानी लिनेहरुको संख्या घट्दो क्रममा रहेको तथ्यांकले देखाएको छ । जिल्ला प्रशासन कार्यालय अछामका अनुसार पछिल्ला आर्थिक वर्षहरुमा राहदानी लिनेहरुको संख्या घट्दै गइरहेको पाइएको हो ।
आर्थिक वर्ष २०७३-०७४ मा प्रशासन कार्यालयबाट ३ सय ६४ जनाले राहदानी लिएका थिए भने यो संख्या आव ०७४-७५ मा ३ सय जनामा झरेको छ । यस्तै राहदानी विभागमा लिने गरी आव २०७३-७४ मा ८ सय २० जनाले सिफारिस लिएकोमा गत आर्थिक वर्ष ०७४-७५ मा ७ सय ७६ जनाले मात्रै सिफारिस लिएका कार्यालयको राहदानी फाँटका कर्मचारी टंक ढुंगानाले बताए ।
आर्थिक वर्ष ०६७-६८ देखि जिल्ला प्रशासन कार्यालय अछामबाट राहदानी बनाउने तथा सिफारिस गर्ने काम सुरु भएको थियो । हालसम्म काठमाण्डौं सिफारिस र जिल्ला प्रशासन कार्यालय अछाममा प्राप्त हुने गरी ९ वर्षको अवधिमा ९ हजार ५ सय १४ जनाले राहदानी लिएको तथ्यांक रहेको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार आर्थिक वर्ष ०७१-७२ यता राहदानी लिनेहरुको संख्या घट्दै गइरहेको हो । उक्त आर्थिक वर्षमा एक हजार ९ सय ८५, ०७२-७३ मा एक हजार पाँच सय २५ जनाले राहदानी लिएका थिए । यो संख्या आव ०७३-७४ मा घटेर एक हजार एक सय ८४ मा झरेको थियो भने गत आर्थिक वर्ष एक हजार ७६ जनाले अछामबाट राहदानी लिएका कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी शितल रावलले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय अछामबाट ५ हजार दस्तुर तिरेमा छिटोमा ४५ दिन र ढिलोमा ९० दिनभित्र राहदानी प्राप्त हुने गर्दछ । यस्तै प्रशासनको सिफारिसमा राहदानी विभागमा लिन चाहेमा १५ हजार दस्तुर तिरेमा १ दिन, साढे १२ हजार तिरेमा ३ दिन र १० हजार तिरेमा १ हप्ताभित्र राहदानी प्राप्त गर्न सकिने प्रावधान रहेको छ ।
अछामका अधिकांश युवाहरु रोजगारीको सिलसिलामा भारत जाने र त्यहाँ राहदानी आवश्यक नहुने हुँदा राहदानी लिनेहरुको संख्या पनि धेरै नरहेको अछामका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्