अब बंगलादेशमा पनि वाईवाई चाउचाउ उत्पादन

काठमाडौं-सीजी ग्रुपले बंगलादेशमा वाईवाई चाउचाउ उत्पादन गर्ने भएको छ । भारतलगायतका विभिन्न मुलुकमा प्लान्ट स्थापना गरी चाउचाउ उत्पादन गर्दै आएको सीजी ग्रपले आगामी महिना अर्थात् जुनदेखि बंगलादेशमा स्थापना भएको प्लान्टबाट उत्पादन गर्न भएको हो । नेपालमा नवलपरासीको दुम्कौलीस्थित सीजी इन्डिस्ट्रियल पार्क र पश्चिम नेपालको बर्दियामा प्लान्ट खुलेसँगै अहिले पूर्वी नेपालको दुहवीमा अर्को प्लान्ट सञ्चालनको तयारीमा छ ।
चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले नेपाल र भारतमा अत्याधिक रुचाइएको वाईवाईले अब बंगलादेशमा छिट्टै उत्पादन सुरु गर्ने बताएका छन् । चौधरीका अनुसार अर्को एक वर्षभित्र काजकस्तान र इजिप्टबाट उत्पादन पनि उत्पादन सुरु गर्ने लक्ष्य छ । नेपाली ब्रान्ड वाईवाई संसारभर फैलने यात्रा अझ तीव्र गतिले बढिरहेको छ । उनले आइतबार ट्वीटमार्फत सन् २०१९ को जुनभित्र इजिप्टबाट पनि वाईवाई उत्पादन थाल्ने बताएका छन् ।
समूहले यसअघि युरोपको सर्बियाबाट समेत उत्पादन सुरु गरेको छ । युरोपेली बजारमा पाएको सकारात्मक प्रतिक्रियाले झनै उत्साहित बनाएको चौधरी बताउँछन् । विश्वका तीन दर्जनभन्दा बढी मुलुकमा वाईवाई पुगेको छ । चाँडै नै साउदी अरेबियाबाट पनि यसको उत्पादनको तयारी भइरहेको छ । चौधरीका अनुसार वाईवाईको विस्तार मध्यपूर्व, युरोप, अफ्रिका, ल्याटिन अमेरिकामा प्लान्ट जडान गरेरै फैलाउने योजनाअनुसार धेरैजसो काम सम्पन्न भइसकेको छ । हाल विश्वको चाउचाउ बजारमा वाईवाईको हिस्सा तीन प्रतिशत पुगिसकेको छ भने सन् २०२० सम्ममा ५ प्रतिशत पु¥याउने लक्ष्य छ । यसका लागि प्लान्ट संख्या पनि १ दर्जन पुग्ने भएको छ ।