बर्दीको आडमा अपराध अस्वीकार्य : प्रहरी «

बर्दीको आडमा अपराध अस्वीकार्य : प्रहरी

नेपाल प्रहरीले बर्दीको आडमा कुनै पनि प्रकारका अपराध स्वीकार्य नभएको स्पष्ट पारेको छ । नागरिकको जनधनको सुरक्षा र कानुन कार्यान्वयनमा समेत कसैसँग कुनै प्रकारको सम्झौता नहुने पनि प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता शैलेश थापाले सञ्चारकर्मीहरुसँगको कुराकानीमा कानुन कार्यान्वयनका क्रममा प्रहरीबाट समेत त्रुटी र कमीकमजोरी भएका र त्यसलाई सुधार गरेर अघि बढ्ने प्रतिवद्धता जनाए । “कानुन कार्यान्वयन गर्ने क्रममा हामीबाट पनि कमीकमजोरी भएका छन्, त्यसलाई सुधार गरेर अघि बढ्छौं,” प्रवक्ता क्षेत्रीले भने, “तर गम्भीर अपराधमा संलग्न सुरक्षाकर्मी वा सर्वसाधारा जोकोही पनि कानुनी दायरामा ल्याउँछौं ।”
कञ्चनपुरकी किशोरी निर्मला पन्त बलात्कारपछिको हत्या प्रकरणमा अनुसन्धानमा कमीकमजोरी भएपनि दोषीलाई कानुनी दायरामा ल्याउन काम भइहेको उनले स्पष्ट पारे । अघिल्लो वर्षको तुलनामा बलात्कारलगायत लैंगिक हिंसाजन्य घटनामा ३० प्रतिशतले बढेको पनि उनले बताए । “बलात्कार लगायतका लैंगिक हिंसाजन्य अपराध अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतले बढेको छ,” प्रवक्ता क्षेत्रीले भने, “तर यो प्रहरीले काम नगरेर बढेको नभई हिंसाजन्य कसूर प्रहरी समक्ष दर्ता भएको कारणले हो ।” निर्मला पन्तको बलात्कार प्रकरणमा प्रहरी वा अरु कोहीको पनि संलग्नता देखिए कारबाही गरिछाड्ने र अनुसन्धान प्रतिवेदन छिट्टै सार्बजनिक गरिने उनले स्पष्ट पारे । स्वीकार गर्दै गल्ती गर्ने जोकोहीलाई सुरक्षाकर्मी र नागरिक कसैलाई पनि नछोडिने प्रतिवद्धता उनले जनाए ।

सीके राउत र विप्लव समूहका १५८ पक्राउ
यसैबीच, नेपाल प्रहरीले ५ महिनाको अवधिमा स्वतन्त्र मधेस स्थापनाका नाममा मुलुक विरुद्ध अभियान चलाउँदै आएका सीके राउत र नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका डेढ सय भन्दा बढी नेताकार्यकर्ता पक्राउ गरेको छ । गत वैशाखयता राज्य विप्लव र अन्य अपराध अभियोगमा सीके राउत र विप्लव समूहका १ सय ५८ जना नेताकार्यकर्ता पक्राउ परेका हुन् ।
पक्राउ परेका विरुद्ध तोडफोड आगजनी, जबर्जस्ती चन्दा तथा फिरौती असुल, राज्य विरुद्धको अपराधलगायत कसूरमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ । वैशाख यताको ५ महिनाकै अवधिमा प्रहरीले १ हजार ९ सय १९ केजी गाँजा, ३ सय ४० केजी चरेस, २ केजी हेरोेइन र १२ केजी अफिम सहित १२ हजार ३ सय १ जनालाई पक्राउ गरिएको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले जानकारी दिए । यो अवधिमा विभिन्न अपराधमा संलग्नबाट १ सय ३ थान हतियार र १ सय ६९ थान गोली गठ्ठा पनि वरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्