सरकारीमा मिसियो निजी विद्यालय «

सरकारीमा मिसियो निजी विद्यालय

महोत्तरी – महोत्तरीको बर्दिवास–८ हात्तिलेटमा संचालित एक निजी विद्यालय सरकारी विद्यालयसँग गाभिएको छ । २०६७ सालमा संचालन गरिएको मोडेल एकेडेमी इङ्लिस बोर्डिङ स्कुल सोही ठाउँमा संचालन भैरहेको शिशु कल्याण आधारभूत विद्यालयमा गाभिएको हो ।
निःशुल्क र गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धतासहित स्कुल समायोजन गरिएको शिशु कल्याणका प्रधानाध्यापक हेम कुमार थापाले बताए । “विगत ३ वर्षदेखि स्कुललाई एक बनाउने वैचारिक छलफल भैरहेको थियो । आज यो स्कुलले मूर्त रुप पाएको छ,” थापाले भने, “अब स्कुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै स्थापित गर्न हामी लागिपरेका छौं ।”
नाफा कमाउने उद्देश्यले नभई सामाजिक सेवाको लागि आफूले स्कुल खोलेकाले स्कुल समायोजन गर्न आफूहरु सहमत भएको मोडेलका प्रिन्सीपल कृष्ण बहादुर बलम्पाकिले बताए । उनका अनुसार स्कुल वरपर गरिक, दलित, पिछडिएको वर्गको बसोबास बढी भएकाले अभिभावकले नै सर्वसुलभ शिक्षा पाउने आशामा स्कुल एक बनाउन जोड दिएका थिए । अभिभावककै चासो र चिन्ताले स्कुल एक भएको उनले बताए ।
भदौ ६ गते शिक्षा विज्ञान तथा प्रविधि मन्त्रि गिरिराजमणि पोखरेलले औपचारिक उद्घाटन गरेपछि दुवै स्कुलका विद्यार्थी शिशु कल्याण विद्यालयमा अध्ययन गर्न थालेका छन् । स्कुल एक बनाउने सहमति भएपछि गत साउन ८ गतेबाट नै दुवै स्कुलका विद्यार्थी मोडेल स्कुलमा पढ्दै आएका थिए ।
स्कुल समायोजन उद्घाटन कार्यक्रममा मन्त्री पोखरेलले दुईवटा स्कुल एक भएपछि पहिला भन्दा उत्कृष्ट बनाउने गरी योजना बनाएर काम गर्न सुझाव दिएका छन् । निजी र सरकारी विद्यालयबीच एकता हुनु प्रगतिशिल काम भएको पोखरेलले बताएका थिए ।
मोडेलका १ सय १४ र शिशु कल्याणका ५७ जना विद्यार्थीलाई सोहि स्कुलमा दरबन्दीमा रहेका ४, बालविकास कोटाबाट १ र मोडेलबाट थपिएका ६ जना गरी ११ जना शिक्षकले अध्यापन गराउने छन् ।
प्रशस्त आयस्रोत नभएका कारण छोरालाई निकै मुस्किलले मोडेलमा पढाइरहेको बताउँदै अविभावक कुमारी दर्लामीले अब सरकारी स्कुलमा तिनै शिक्षकहरुले पढाउँदा पढाई पनि राम्रो हुने र छोरालाई पढाउन खर्च कम लाग्ने भएपछि खुशी लागेको बताइन् ।

सुनिता बराल

प्रतिक्रिया दिनुहोस्