२०७६ मा साक्षर नेपाल «

२०७६ मा साक्षर नेपाल

स्लग : शिक्षा तथा साक्षरता दिवस 

 ‘समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवम् दिगो शैक्षिक पूर्वाधार’ सहितको आदर्श वाक्यका लिएर ३९ औं राष्ट्रिय शिक्षा दिवस तथा ५२ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइएको छ । शिक्षा तथा साक्षरता दिवसको अवसरमा शनिबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न शैक्षिक संस्था र व्यक्तिलाई सम्मान गरेका थिए ।
स्थानीय तथा प्रदेश सरकारहरूले पनि योे अवसरमा देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले अगाडि सारेको राष्ट्र निर्माणको अभियान समृद्ध नेपाल सुखी नेपालीलाई सफल पार्ने एक सशक्त माध्यम पनि शिक्षा भएकोले साक्षरता र शिक्षा दिवसको महत्व रहेको बताए ।
यो अभियानकै अंगका रुपमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी भर्ना अभियान दुई चरणमा संचालन गरी सामाजिक उत्तरदायित्व बोध गराउँदै उल्लेख्य संख्यामा विद्यालय बाहिरका बालबालिकालाई विद्यालय ल्याउन सफल भएको जनाएको छ । साथै विद्यालय टिकाउने चुनौतितर्फ पनि मन्त्रालय सचेत रहेको मन्त्री पोखरेलले बताए । शिक्षा दिवसको अवसरमा शिक्षामन्त्री पोखरेलले सामुदायिक विद्यालय सुधार कार्यक्रमका २२ बुँदे घोषणापत्रसमेत सार्वजनिक गरेका छन् ।
शिक्षा दिवसको अवसरमा नेपाल विद्याभूषण क पिएचडी २३१ जना, नेपाल विद्याभूषण ख स्नातकोत्तर ११८ जना, नेपाल विद्याभूषण ग (स्नातक) १७ जना, नेपाल छात्रा विद्यापदक २० जना गरी कुल ३८६ जनालाई विभूषित गरिएको छ । त्यसैगरी उत्कृष्ट कार्य सम्पादन गर्ने सामुदायिक र संस्थागत विद्यालयका १३ जना प्रधानाध्यापकलाई पनि सम्मानित गरिएको छ ।

यी हुन् सरकारका प्राथमिकता क्षेत्र
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले साक्षरता तथा शिक्षा दिवसको अवसरमा शैक्षिक क्षेत्रका प्राथमिकता सार्वजनिक गरेका छन् । यसअन्र्तगत सार्वजनिक शिक्षाको रुपान्तरण, वातावरणमैत्री हरित शैक्षिक संस्थाको निर्माण, गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार, साक्षर नेपाल वर्ष २०७६ र ज्ञानमा आधारित समाज निर्माणका केन्द्रित उच्च शिक्षा कार्यक्रम रहेका छन् ।

उत्कृष्ट शैक्षिक संस्था र व्यक्ति
केन्द्रीय बहिरा विद्यालय काठमाडौं

कक्षा १० तर्फ सामुदायिक विद्यालयहरू
शितलादेवी सामुदायि माध्यमिक विद्यालय (कास्की)
त्रि–पद्म विद्याश्रम माध्यमिक विद्यालय (ललितपुर)
कालिका माध्यमिक विद्यालय (बुटवल)

संस्थागत विद्यालयहरू
मदरल्याण्ड माध्यमिक विद्यालय (पोखरा)
जेम्स माध्यमिक विद्यालय (ललितपुर)
ज्ञान निकेतन माध्यमिक विद्यालय (काठमाडांै)

कक्षा १२ तर्फ सामुदायिक विद्यालयहरू
अमरसिंह माध्यमिक विद्यालय (पोखरा)
विश्व निकेतन माध्यमिक विद्यालय (काठमाडौं)
बज्रवाराही माध्यमिक विद्यालय (ललितपुर)

संस्थागत विद्यालयहरू
एसओएस हर्मन माइनर माध्यमिक विद्यालय (भक्तपुर)
एभरेष्ट इङ्गलिस बोर्डिङ्ग माध्यमिक विद्यालय (मोरङ्ग)
नेशनल सेकेण्डरी स्कुल (ललितपुर)

उत्कृृष्ट क्याम्पस
पृथ्वीनारायण क्याम्पस (पोखरा, आंगिक तर्फ)
लुम्विनी वाणिज्य क्याम्पस (रुपन्देही, सामुदायिक क्याम्पस तर्फ)
मनमोहन इन्स्टिच्यूट अफ हेल्थ साइन्स (काठमाडांै, निजी क्याम्पस तर्फ)

सीटीईभीटीबाट
लहान प्राविधिक शिक्षालय (सिरहा, आंगिक शिक्षालयतर्फ)
पद्मोदय माध्यमिक विद्यालय (दाङ्ग, सामुदायिक विद्यालयतर्फ)
मनमोहन पोलिटेक्निक इन्स्टिच्यूट (मोरङ्ग, साझेदारीतर्फ)
नेशनल ह्युमन रिसोर्स डेभलपमेन्ट एकेडेमी (धनुषा, निजीतर्फ)

५ प्राथमिकताका क्षेत्र
सार्वजनिक शिक्षाको रुपान्तरण
वातावरणमैत्री हरित शैक्षिक संस्थाको निर्माण
गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार
साक्षर नेपाल वर्ष २०७६
ज्ञानमा आधारित समाज निर्माण

शैक्षिक पुनर्संरचनाको खाँचो छ

गिरिराजमणि पोखरेल
मन्त्री, शिक्षा, विज्ञान तथा प्रविधि
सरकारले ३९ औं राष्ट्रिय शिक्षा दिवस तथा ५२ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर शैक्षिक क्षेत्रका केही महत्वपूर्ण प्राथमिकता सार्वजनिक गरेको छ । यसमा सार्वजनिक शिक्षाको रुपान्तरणअन्र्तगत सार्वजनिक संस्थाबाट प्रदान गरिने शिक्षाप्रति जनताको विश्वास कमजोर देखिएको विद्यमान अवस्थामा यसको लागि रुपान्तरणको खाका ल्याउनुपर्ने आवश्यकता छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि नयाँ खाकाको घोषणा गर्नुपरेको छ । संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा विद्यालय तथा विश्वविद्यालय तहको सार्वजनिक शिक्षाप्रतिको जनविश्वासलाई पुनर्जिवित गर्नु हाम्रो प्राथमिकताको विषयभित्र पर्दछ । यसरी नै दोस्रो प्राथमिकतामा वातावरणमैत्री हरित शैक्षिक संस्थाको निर्माण हो ।
यसवर्षको शिक्षा दिवसको अवसरमा हामी सम्पूर्ण शैक्षिक संस्थाहरूलाई वातावरणमैत्री बनाउने दिशामा अघि बढ्न आग्रह गरिरहेका छौं । विद्यालय तथा क्याम्पसमा वृक्षारोपण, फूलवारी निर्माण, सरसफाइ, हरित इको क्लब गठनजस्ता कार्यहरू सञ्चालन गरेर सम्पूर्ण शैक्षिक संस्थाहरूलाई हरित संस्थाको रुपमा विकास गरिने छ । यसरी नै तेस्रो प्राथमितामा गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार गर्ने योजना रहेको छ । प्राविधिक तथा व्यावसायिक शिक्षा प्रदायक संस्थाहरूको विस्तार, शिक्षाको गुणस्तर सुधार, सार्वजनिक पोलिटेक्निकहरूको निर्माण गर्दै प्राविधिक तथा व्यावसायिक धारको शिक्षा विस्तार गर्न गइरहेका छौं । समग्र शिक्षा प्रणालीमा जीवनोपयोगी सीपको एकीकरणमार्फत् सीपयुक्त जनशक्ति विकासमा केन्द्रित गरिने योजना रहेको छ ।
चौथोमा प्राथमकितामा आगामी २०७६ साललाई साक्षर नेपाल वर्षका रुपमा मनाउन मन्त्रालयले तयारी गरिरहेको छ । हालसम्म ४७ जिल्ला साक्षर घोषणा भैसकेका छन् भने बाँकी ३० जिल्लालाई साक्षर घोषणा गरी सिंगो मुलुकलाई नै साक्षर घोषणा गर्नका लागि साक्षर नेपाल वर्षले मद्दत गर्नेछ भन्ने मैले विश्वास लिएको छु । घरधुरी सर्भेक्षण गरी स्थानीय सरकारले तथ्यहरू सार्वजनिक गर्ने कार्यक्रम छ ।
यस अभियानमा सम्पूर्ण सरोकारवाला एवम् पत्रकार मित्रहरूलाई आ–आफ्नो ठाउँबाट योगदान गर्न समेत आह्वान गर्दछु । यसरी पाँचौ प्राथमिकतामा ज्ञानमा आधारित समाज निर्माणका केन्द्रित उच्च शिक्षा रहेको छ । उच्च शिक्षालाई अनुसन्धान, नवप्रवर्तन तथा खोजमा आधारित बनाई वास्तवमै ज्ञान उत्पादनको स्रोतको रुपमा विकास गर्नुपर्छ । यसका लागि सबै विश्वविद्यालयहरूले आफ्ना संस्थाहरूमार्फत ज्ञानको उत्पादन गर्दै ज्ञानमा आधारित समाज निर्माणमा योगदान गर्न सक्नुपर्छ । यो अवसरमा सबै उच्च शिक्षा प्रदायकहरूलाई म यसतर्फ गम्भीर भएर लाग्न अनुरोध गर्दछु ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय हाल शैक्षिक पुनरसंरचनाका साथै शिक्षाको विकास मार्फत समृद्ध राष्ट्र निर्माणको दिशामा अगाडि बढेको छ । त्यसै क्रममा संघीय संरचनामा आधारित लोकतान्त्रिक एवम् समावेशी समानतामूलक समाज निमार्णका लागि संघ, प्रदेश र स्थानीय तह समेतलाई समेट्ने गरी शिक्षाको भावी नीति, रणनीति र संरचना सहितको मार्गदर्शन नेपाल सरकार समक्ष सिफारिस गर्न उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन भएको छ । आयोगले आफ्नो कार्यलाई सिघ्रताका साथ अगाडि बढाइरहेको कुरा यहाँहरूलाई सर्वविदितै छ । यस सिलसिलामा मन्त्रालय आयोगद्वारा माग भए बमोजिमका विषय क्षेत्रहरूमा आधारित रहेर आफ्नो सुझावहरू प्रदान गरी राष्ट्रको शिक्षा विकासमा सहभागी भइदिनु हुन सम्वन्धित सवै सरोकारवालाहरूलाई आग्रह गर्दछु ।

प्रतिक्रिया दिनुहोस्