निर्देशन नमान्ने ठेकेदारलाई कारबाही : गृहमन्त्री «

निर्देशन नमान्ने ठेकेदारलाई कारबाही : गृहमन्त्री

गोरखा-रोकिएका विकास निर्माणका काम अझै सुरु नगर्ने ठेकेदारलाई सरकारले कारबाही गर्ने भएको छ । विकास निर्माणमा आलटाल गर्ने ठेकेदारलाई कारबाहीका लागि सरकारले एकीकृत रूपमा अघि बढने निर्णय गरेको गृहमन्त्री रामबहादुर थापाले बताए ।
गोरखा प्रेस सोसाइटीले सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा उनले सरकारको निर्देशन अटेर गर्नेलाई कारबाही हुने बताए । “हामीले लामो समयदेखि काम रोकेका ठेकेदारलाई काम थाल्न पहिले नै निर्देशन दिएका हौं,” उनले भने, “अझै पनि काम नथाल्नेलाई अब कारबाही हुन्छ । हामी ब्याक भएका छैनौ, बेथिति अन्त्य गर्न सरकार प्रतिबद्ध छ ।” समयमै ठेकेदार कम्पनीले सडक नबनाउँदा दुर्घटनाको जोखिम बढिरहेको उनले बताए । “सडकसँग सुरक्षाको विषय जोडिन्छ । बर्सेनि करिब २ हजार नेपालीको सडक दुर्घटनामा ज्यान जाने गरेको छ । त्यसैले पनि सर्वसाधारण नागरिकसँग जोडिएका सवालमा ढिलासुस्ती हुनु हुन्न ।”
तिब्बतसँग सीमा जोडिएको उत्तरी गोरखामा हेलिकोप्टर उडानमा कडाई गरिएको प्रसंगमा उनले सरकारको अनुमति बेगर उडान गर्न नपाइने बताए । गृहमन्त्री थापाले भने, “नाका भनेको संवेदनशील हुन्छ । तस्करी हुनसक्छ, आपराधिक गतिविधि हुन सक्छन् । अनुमति नलिनेलाई कडाइ हो । अनुमति लिने त उडान गर्न सक्छन् ।” नयाँ सरकार बनेको ६ महिनामा नै बेथिति नियन्त्रण गर्न सरकार सफल भएको उनले दाबी गरे । वैदेशिक रोजगारमा ठगी नियन्त्रणको प्रक्रियाअघि बढेको जानकारी दिँदै उनले सुन तस्करी समूहको सञ्जाल ध्वस्त पारेको जानकारी दिए । नकरात्मक शक्तिले सरकार असफल बनाउने प्रयास गरे पनि त्यो सफल नहुने उनले बताए । “विस्फोटन गर्ने, जनअदालत गठन गर्दै हिँड्ने, जनप्रतिनिधिको राजीनामा माग्ने, विभिन्न बहानामा देश टुक्राउन चाहनेको प्रयासलाई सरकारले असफल बनाउँछ ।” लोकतान्त्रिक प्रतिस्पर्धामा हारेका यस्ता गतिविधिमा लागेको उनको भनाइ छ । पक्राउ परेका विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्तालाई अदालतले रिहा गरेपछि फेरि पक्राउ परेको विषयमा उनले अदालत र सरकारले आआफ्नो काम गरेको बताए । “अदालत र सरकार दुवैले आफ्नो काम गरेका हांै । अदालतको आफ्नै प्रक्रिया छ । सरकारको आफ्नै प्रक्रिया छ ।” सरकारमा मन्त्री फेरबदलको अहिले कुनै तयारी नभएको उनको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालयको भवन उद्घाटन
जिल्ला प्रशासन कार्यालय गोरखाको भवन उद्घाटन गरिएको छ । पुरानो भवन भूकम्पले भत्किएपछि सोही ठाउँमा बनाइएको नयाँ भवनको गृहमन्त्री रामबहादुर थापाले उद्घाटन गरेका हुन् । तीन करोड १९ लाख रुपैयाँको लागतमा तयार भएको ३ तले भवनमा १८ कोठा छन् । २०७२ असोज २८ गतेबाट बनाउन थालिएको भवन २०७४ असार मसान्तमा निर्माण पूरा भएको हो । निर्माण पूरा भएसँगै प्रशासन कार्यालयले त्यहींबाट सेवा दिन थाले पनि शनिबार औपचारिक रूपमा उद्घाटन गरिएको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय गोरखाका इन्जिनियर केदार थापाले भवनसम्बन्धी जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्