औसतीकरण : लागत व्यवस्थापनको अचुक उपाय «

औसतीकरण : लागत व्यवस्थापनको अचुक उपाय

लगानीकर्ताका लागि एभरेजिङ दीर्घकालमा सम्पत्ति आर्जन (वेल्थ म्याक्सिमाइजेसन) गर्न लागत–लाभ सन्तुलनको अचुक, अनिवार्य र अविभाज्य औजार (टुल्स) हो ।

औसतीकरण के हो ?
अंकित वा निश्चित मूल्यमा सार्वजनिक निष्कासन, हकप्रद वा बोनस सेयरबाहेक प्रत्येक खरिदको सेयरको लागत फरक हुन सक्छ । एउटै कम्पनीको सेयर एकै दिन वा विभिन्न समयमा फरक–फरक दरमा किनिएको हुन्छ । यसका अतिरिक्त उही कम्पनीको बोनस, हकप्रद र प्रिमियम मूल्यमा किनिएको एफपीओले पनि विगतको वास्तविक खरिद लागतमा प्रभाव पारिरहेको हुन्छ । यसरी विभिन्न समय र दरमा खरिद भएको एउटै कम्पनीको सेयरको औसत लागत (एभजेरज कस्ट) गणना गर्दै लागत व्यवस्थापन गर्ने उपाय औसतीकरण अर्थात् एभरेजिङ हो ।
कारोबारीहरूले सेयरको बजार मूल्य घटिरहेको वा थप घट्ने सम्भावना देखिएको अवस्थामा घाटा कम गर्न ‘स्टप लस’ रणनीति अपनाउँछन् र आफ्नो जोखिमवहन क्षमता वा तोकिएको घाटा नजिक बिक्री गरेर बस्छन् । तर, दीर्घकालीन वा मध्यकालीन लगानीकर्ताहरू यस्तो नोक्सानीबाट बच्न वा बजार मूल्यभन्दा आफूसँग भएको सेयरको लागत बढी भएको अवस्थामा सस्तोमा थप सेयर किनेर औसत लागत घटाउँछन् । यो सेयरको लागत व्यवस्थापन रणनीति हो ।

कहिले ?
एभरेजिङ बजार घट्दा, स्थिर वा सामान्य रहँदा वा बढ्दा कहिले कहिले गर्ने त ? धेरैको बुझाइमा स्थिर वा सामान्य तथा बढ्दो बजारमा लगानीकर्ताको सेयर सम्पत्तिमा त्यति नकारात्मक असर पर्दैन वा बढिरहने हुँदा लागत र लाभको त्यति चासो रहँदैन, तर बजार घटेको अवस्थामा मानसिक तनाव हुने हुँदा लागतमा निकै चासो रहन्छ । यसर्थ, घट्दो बजारमा आफ्नो औसत लागत र बजार मूल्यबीच तादाम्यता राख्न पनि अनिवार्य रूपमा एभरेजिङ गर्नैपर्ने हुन्छ भने अन्य अवस्थामा ऐच्छिक अवसर हो ।
लगानीकर्ताले औसत लागत र बजार मूल्यका आधारमा एभरेजिङ कहिले गर्ने ध्यान दिनुपर्छ । आफ्नो जोखिम वहन क्षमता, लगानीका लागि उपलब्ध रकम, स्रोत र बजार मूल्यमा आएको वा सम्भावित परिवर्तनका आधारमा निश्चित प्रतिशतले बजार मूल्य (सामान्यत: १० प्रतिशतले बजार मूल्य कम भएमा) र औसत लागतबीच फरक हुँदा एभरेजिङ गर्नुपर्छ । बजार स्थिर वा सामान्य रहँदा स्वेच्छिक र घट्दा अनिवार्य रूपमा एभरेजिङ गर्नुपर्छ अन्यथा आफ्नो लागत उच्च रहन गई प्रतिस्र्धात्मक क्षमता कम हुने मात्र होइन, तुलनात्मक लाभ पनि कम हुनेछ ।

किन ?
जसरी भूकम्पको पूर्वानुमान गर्न सकिन्न, त्यस्तै बजार कहिले र कतिसम्म घट्छ वा बढ्छ ठ्याक्कै अनुमान गर्न सकिन्न । जति नै बजारको जानकार, अध्ययनशील र विज्ञता हासिल गरेको व्यक्तिले पनि बजारमा प्रचलित मूल्य वा सामान्य तलमाथिको मूल्यमा नै सेयर खरिद गर्ने हो । बजारमा उतारचढावसँगै उनीहरूको लागत बजार मूल्यको तुलनामा केही फरक हुन्छ नै । हुन त केही विज्ञहरूले प्राविधिक विश्लेषण (टेक्निकल एनालाइसिस) ले बजारको चाल अध्ययन गर्दै खरिद वा बिक्री गर्ने समय वा बजारको अवस्था अनुमान गर्न सकिने दाबी गरे पनि लगानीकर्ताले बजारको चालअनुसार आफ्नो औसत लागत व्यवस्थापन गर्न एभरेजिङ अनिवार्य मान्निछ ।
कुनै पनि कम्पनीको सेयर सार्वजनिक निष्कासन होस् वा दोस्रो बजारमा भनेको परिमाणमा एकैपटक किन्न पाइन्न वा सकिँदैन । यस्तो अवस्थामा विभिन्न दरमा कम्पनीको सेयर किन्नु बाध्यता र व्यावहारिकता नै हो । यसरी किन्दै जाँदा आफूले धारण (होल्ड) गरेको सेयरको औसत लागतभन्दा बजारमा उक्त कम्पनीको सेयर मूल्य निकै घटेको अवस्थामा (क) सेयरको औसत लागत घटाउँदै वास्तविक प्रतिफल (डिभिडेन्ड यिल्ड) बढाउन, (ख) बजारले उपलब्ध गराएको लागत व्यवस्थापनको अवसरको सदुपयोग गर्न र (ग) भविष्यको सम्भावित मूल्यवृद्धिको फाइदा लिन पनि लगानीकर्ताहरूले अनिवार्य रूपमा एभरेजिङ गर्नुपर्छ ।

कसरी ?
कतिपयको विचारमा बजार तलमाथि भइरहने हुँदा सदैव एभरेजिङ गर्न सकिन्न र लगानीका लागि आवश्यक रकम पनि हुँदैन । त्यसमाथि एभरेजिङ प्राय: बियरिस अवस्था वा बजार घट्दो अवस्थामा गरिने हुँदा लगानीकर्तासँग एक त थप सेयर खरिद गर्ने रकम हुँदैन भने बैंक तथा वित्तीय संस्था र व्यक्तिगत ऋणसमेत पाइँदैन । त्यसैले एभरेजिङ व्यावहारिक रूपमा निकै कठिन काम हो । यसका लागि लगानीकर्ताले लगानी योजना बनाउँदा नै एउटा मापदण्ड तयार गरी बजारमा तत्काल लगानी एवम् सम्भावित अवसर र जोखिम व्यवस्थापनका लागि आवश्यक रकमका साथै वैकल्पिक स्रोतको पूर्वतयारी गर्नुपर्छ । उपलब्ध रकमलाई विभिन्न क्षेत्रका विभिन्न कम्पनीमा पटक–पटक गरेर लगानी गर्दा तत्कालको केही लाभ गुमे पनि बजारले सिर्जना गर्ने अवसरको फाइदा उठाउन सकिन्छ । यो भनेको लगानी र तरलताको उचित सन्तुलन पनि हो ।
एभरेजिङ गर्न सबैभन्दा पहिले बजारको बियरिस, बुल वा स्थिर कुन प्रवृत्ति, आफ्नो औसत लागत र बजार मूल्यको तुलनात्मक अवस्था, एभरेजिङको उद्देश्यको यकिन गर्नुपर्छ । प्रत्येक अवस्थामा एभरेजिङ सम्भव भए पनि त्यसको प्रक्रिया र उद्देश्य फरक हुनेछ ।
बढ्दो बजारमा आज सस्तोमा किनिएको सेयर भोलि थप केही महँगोमा किन्दा पनि औसत लागत कम हुँदा बढी फाइदा हुने ढंगले गर्नुपर्छ भने घट्दो बजारमा हिजो महँगोमा किनिएको सेयरमा आज सस्तोमा किन्दा औसत लागत कम हुने गरेर एभरेजिङ गर्नुपर्छ । सामान्यत: एभरेजिङ गर्दा निम्न कुरामा ध्यान दिनुपर्छ :
१.विभिन्न समय र मूल्यमा खरिद वा प्राप्त कुल सेयर संख्याले कुल लागतलाई भाग गरेर प्रतिकिता औसत लागत निकाल्ने र बजारमा प्रचलित मूल्यसँग तुलना गर्ने । मानौं, ए कम्पनीको विभिन्न दरमा खरिद गरिएको सेयर ४ सय २५ कित्ता, ७५ कित्ता बोनस र १ सय ५० कित्ता हकप्रदमा समेत कुल रु. २ लाख ५१ हजार ५ सय ५० लागेको छ भने औसत लागतप्रति किता रु. ३८ सय ७ (रु. २,५१,५५०/६५०=रु. ३८७) । बजारमा उक्त कम्पनीको प्रचलित दर करिब रु. ३ सय १० छ ।
२.बजार प्रवृत्ति र आफूले खरिद गरेको वा एभरेजिङ गर्न खोजेको कम्पनीको आधारभूत सूचकहरूको अध्ययन गरी सम्भावित दिशा आकलन गर्ने ।
३.एभरेजिङ गर्न आवश्यक र उपयुक्त कम्पनीहरूको सूची र प्राथमिकता तयार गरी आवश्यक रकम र स्रोत पहिचान गर्ने । जगेडा रकम उपलब्ध नभएको अवस्थामा वैकल्पिक स्रोतहरूमध्ये कम लागतको वा सहज स्रोत परिचालन गर्न सकिन्छ । कुनै विकल्प नभएमा घाटा कम भएको र भविष्यमा तुलनात्मक रूपमा कम मूल्य बढ्ने कम्पनीको सेयर बेचेर भए पनि बढी घाटा भएको तर पछि बढी नाफा दिने कम्पनीको सेयरको एभरेजिङ गर्ने ।
४.स्थिर वा सामान्य अवस्थामा पनि आफूसँग भएको सेयरको औसत लागत बजार मूल्यभन्दा बढी छ र भविष्यमा बजारमा मूल्य बढ्ने अवस्था देखिएमा केही परिमाणमा सेयर किनेर औसत लागत बजार मूल्यनजिक पुग्ने । बजार अझै तल जाने अवस्थामा पनि सानो परिमाणमा सेयर किन्ने र केही दिन कुरेर थप केही सेयर किन्ने । जब बजार न्यूनतमतिर पुगेको आकलन गरिन्छ, औसत लागतलाई बजार मूल्य नजिक पुराउन आवश्यक परिमाणमा सेयर किन्ने । यसको विपरीत बजार बढ्दो वा बुलिस र औसत लागतभन्दा बजार मूल्य बढी भएको अवस्थामा सेयर किन्नुभन्दा केही सेयर बेचेर मुनाफा सुरक्षित (प्रफिट बुक) गर्ने र मूल्य केही घटेमा पुन: खरिद गरेर औसत लागत व्यवस्थापन गर्ने । यदि थप संख्यामा सेयर संकलन गर्ने र बुलिसको सुरु अवस्थामा सानो परिमाणमा सेयर किन्दै जान सकिन्छ ।
५.बुलिसभन्दा बियरिस बजारमा एभरेजिङ लाभप्रद मात्र होइन, अनिवार्य नै हुन्छ, त्यसैले बुलमा केही सेयर बेचेर होस् वा बैंकमा मुद्दती वा बचतमा केही रकम तत्काल नगद वा लगानीका लागि उपलब्ध हुन सक्ने गरी तरलताका लागि सदैव राख्ने । सदैव लगानी क्षमताभन्दा केही कम लगानी गरेर सम्भावित जोखिम र अवसरका लागि तयारी अवस्थामा रहने । बियरिस अवस्थामा थप चनाखो भई जगेडा र वैकिल्पक स्रोतबाट रकम परिचालन गर्ने ।

निष्कर्ष
एउटै कम्पनीको विभिन्न समयमा किनिएको सेयरको लागत फरक हुन्छ । लगानीकर्ताहरूले औसत लागत हिसाब गरी सोही आधारमा मुनाफा सुरक्षित गर्ने वा एभरेजिङ गर्ने निर्णय लिनुपर्छ । बजार मूल्यको तुलनामा औसत लागत कम भएमा स्वेच्छिक तर बढी भएमा एभरेजिङ अनिवार्य र लाभदायक हुन्छ । एभरेजिङ दीर्घकालमा सम्पत्ति आर्जन (वेल्थ म्याक्सिमाइजेसन) गर्न लागत–लाभ सन्तुलनको अचुक र अनिवार्य औजार (टुल्स) हो । बजारको प्रत्येक अवस्थामा एभरेजिङ सम्भव छ, तर बियरिस वा घट्दो बजारमा थप महत्वपूर्ण हुन्छ ।
(लेखक सेयर बजार जानकार हुन् ।)

प्रतिक्रिया दिनुहोस्