सम्पत्तिमा दम्पतीको समान हक «

सम्पत्तिमा दम्पतीको समान हक

“सम्पत्तिकै लागि लोग्ने स्वास्नीमा मुद्दामामिला भइरहेको पनि देखिन्छ । पुर्जा संयुक्त भएपछि हक नै आधाआधा सम्पत्ति खोज्दै अदालत धाउनै परेन । जग्गा बेच्न, धितो राख्न पनि श्रीमतीको सहमति चाहिने, आफू खुसी गर्न नमिल्ने । यसले घरसल्लाह हुँदा विश्वास पनि बढ्दो रहेछ ।” –शुक्रराज श्रेष्ठ

गोरखाको सहिद लखन गाउँपालिका बुंकोटकी लीलामाया श्रेष्ठको दैनिकी खेती किसानीमै बित्छ । वर्षौंदेखि खेतबारीमा पसिना भिजाएकी उनको जग्गामा स्वामित्व थिएन । तर ४ वर्षअघि उनी त्यही खेतबारीको मालिक पनि बनिन् । श्रीमान् शुक्रराज र उनको नाममा संयुक्त लालपुर्जा भएपछि उनी १५ रोपनी जग्गाको मालिक भएकी हुन् । “४३ वर्षसम्म मेरा नाममा एउटा टुक्रो जग्गा पनि थिएन,” उनले भनिन् “बुढाले लालपुर्जामा मेरो नाम पनि थपिदिनु भयो । सम्पत्तिमा बुढाबुढीको बराबर अधिकार भयो ।”
सम्पत्तिमा दम्पतीको समान हक भन्ने शन्देस दिन संयुक्त लालपुर्जा बनाएको शुक्रराजले बताए । “अझै पनि हाम्रो समाजमा महिलालाई केही दिन हुन्न भन्ने भ्रम छ,” उनले भने, “सम्पत्तिकै लागि लोग्ने स्वास्नीमा मुद्दामामिला भइरहेको पनि देखिन्छ । पुर्जा संयुक्त भएपछि हक नै आधाआधा सम्पत्ति खोज्दै अदालत धाउनै परेन । जग्गा बेच्न, धितो राख्न पनि श्रीमतीको सहमति चाहिने, आफू खुसी गर्न नमिल्ने । यसले घरसल्लाह हुँदा विश्वास पनि बढ्दो रहेछ ।” आव ०६८÷६९ को नीति तथा कार्यक्रममा सरकारले श्रीमान् श्रीमतीको संयुक्त लालपुर्जा बनाउन सक्ने भनेर घोषणा गरेको थियो । तर गोरखामा भने २०७१ सालदेखि मात्रै संयुक्त लालपुर्जा बनाउने क्रम सुरु भएको जिल्ला मालपोत कार्यालयको अभिलेख छ । कार्यालयका अनुसार हालसम्म जिल्लाका २२ दम्पतीले संयुक्त लालपुर्जा बनाएका छन् । सरकारले भूमिमाथि महिलाको अधिकार स्थापित गराउन संयुक्त लालपुर्जा गराउँदा जग्गापास शुल्क सय रुपैयाँ मात्र कायम गरेको छ । तर पनि जानकारीको अभाव तथा सिधै श्रीमतीको नाममा मात्रै सम्पत्ति राख्ने प्रचलनले पनि धेरैजसो दम्पतीले संयुक्त लालपुर्जा बनाउन नसकेको मालपोत अधिकृत देवेन्द्र थापाले बताए । “यो व्यवस्था राम्रो हो,” उनले भने, “संयुक्त लालपुर्जा बनाउँदा यसले परिवारभित्र एक–अर्कामा विश्वासको वातावरण बढाउँछ । तर गोरखामा थोरैले मात्रै बनाउनुभएको छ ।” श्रीमान् श्रीमती खुल्ने नाता प्रमाणित, नागरिकता, फोटो लिएर सहमतिमा श्रीमान् श्रीमतीको संयुक्त नाममा जग्गा पास गर्न आए सहजै पास हुने बताए । उनले भने, “श्रीमान्को नाममा रहेको लालपुर्जामा श्रीमतीको नाम थप्न वा श्रीमतीको नाममा रहेको लालपुर्जामा श्रीमानको नाम थपेर सम्पत्तिमा बराबरी स्वामित्व राख्न सकिन्छ ।”
श्रीमान् वा श्रीमतीको निधन भएपछि मृत्यु दर्ता मालपोत कार्यालयमा बुझाएपछि एक जनाको नाम कार्यालयले हटाउने छ । नेपालको संविधान २०७२ को धारा ३८ को उपधारा ६ मा सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको बराबर हक लाग्ने उल्लेख छ । सम्पत्तिमा बराबर हक भनेर कानुनमा उल्लेख भए पनि व्यावहारिक रूपमा कार्यान्वयनका लागि संयुक्त पुर्जा उपयोगी रहेको अधिवक्ता स्थानेश्वर दुवाडीले बताए । संयुक्त लालपुर्जाले महिला पनि जग्गाको मालिक बन्दा महिला सशक्तीकरणमा सहयोग पुग्ने महिला अधिकारकर्मी सावित्री भट्टले बताइन् । “सम्पत्तिमा पहुँच भएपछि महिलाको आत्मविश्वास बढ्छ ।”

प्रतिक्रिया दिनुहोस्