रानीपोखरी पुनर्निर्माणमा मेयर र उपमेयर विभाजित

रानीपोखरी पुनर्निर्माणको विषयलाई लिएर काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबीच विवाद देखिएको छ । ऐतिहासिक महत्वको रानीपोखरी पुनर्निर्माणमा मेयर शाक्यले आफूखुशी गरेको भन्दै उपमेयर खड्गीले असन्तुष्टि व्यक्त गरेकी छन् । मेयर र उपमेयर निर्वाचित भएको ७ महिना हुँदा औपचारिक कार्यक्रममा जम्मा २ पटकबाहेक मेयरसँग आफ्नो भेट नभएको पनि उनले बताएकी छन् । लिभेबल काठमाडौं र सोसाइटी अफ नेप्लिज आर्किटेक्ट्स नामक संस्थाले सोमबार आयोजना गरेको कार्यक्रममा उनले मेयरको कार्यशैली र रानीपोखरी पुनर्निर्माणमा असन्तुष्टि व्यक्त गरेकी हुन् । मेयर शाक्य नेकपा एमाले र उपमेयर खड्गी नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार भई निर्वाचित भएका थिए । गत जेठमा निर्वाचित भएयता अहिलेसम्म मेयरसँग एक पटक पनि ‘वान टु वान’ छलफल नभएको उपमेयर खड्गीले बताइन् ।
पुरातत्व विभागले स्वीकृत गरेको नक्साविपरीत पुनर्निर्माणको काम अगाडि बढाएको भन्दै मेयर शाक्यको आलोचना भइरहेको छ । “रानीपोखरी पुनर्निर्माणबारे बाहिर कुरा आएपछि मैले कुरा गर्दा उहाँले सल्लाह गरौंला भन्नुभयो । अब म काम रोक्नेतिर लाग्छु । हाम्रो सम्पदालाई बिग्रन दिन्नँ,” उपमेयर खड्गीले भनिन् ।
ऐतिहासिक महत्व मेट्ने गरी रानीपोखरी पुनर्निमार्णको काम अगाडि बढाइएको भन्दै त्यसमा आफ्नो सहमति नरहेको पनि उनले स्पष्ट पारेकी छिन् । “ऐतिहासिक महत्वको रानीपोखरी पुनर्निर्माणमा मेरो पनि ध्यान गएको छ । यो विषयमा मेयरसँग भेट गर्न खोज्दा आइतबार कुरा गर्ने भन्नुभएको थियो,” उनले भनिन्, “सोहीअनुसार आइतबार सबै आफ्ना कार्यक्रम स्थगन गरेर बिहानै कार्यालय पुगेँ । सभागृहमा बैठक बसे पनि मलाई डाकिएन ।”
मेयर शाक्य एकलौटी ढंगले अगाडि बढेको र रानीपोखरीको पुनर्निर्माणमा सांस्कृतिक र ऐतिहासिक महत्वलाई बेवास्ता गरी व्यापारिक हिसाबले काम गरेको उनको आरोप थियो । सोही कार्यक्रममा उपमेयर खड्गीको कुरा सुनेपछि कांग्रेस सांसदहरु गगन थापा र भिमसेनदास प्रधानले रानीपोखरी पुनर्निर्माणको काम तत्काल रोकिनुपर्ने धारणा राखे ।
काठमाडौं ४ बाट निर्वाचित थापाले मेयर शाक्यले रानीपोखरीलाई आफ्नो व्यक्तिगत सम्पत्तिजस्तो गरेको आरोप लगाए । रानीपोखरी मुलुककै गहना भएको भन्दै उनले पुनर्निर्माण तत्काल रोकेर निर्माणको डिजाइनबारे छलफल गरिनुपर्ने बताए । “रानीपोखरी देशकै गहना हो । मेयरको व्यक्तिगत सम्पत्ति होइन,” सांसद थापाले भने, “तत्काल काम रोकेर डिजाइनका बारेमा छलफल गर्नुपर्छ ।” मेयर शाक्यमात्र नभई आफूहरू पनि निर्वाचित जनप्रतिनिधि भएको भन्दै मिलेर अघि बढ्नुपर्ने उनले बताए ।
अर्का सांसद प्रधानले सम्पदा विगार्न आफूहरूले नदिने बताए । महानगरपालिकाले पुरातत्व विभागले स्वीकृत गरेको नक्सा विपरित कंक्रिटको पर्खाल बनाउने र व्यापारिक प्रयोजनका भवन बनाउने गरी काम अगाडि बढाएपछि आलोचना भइरहेको छ ।
मेयर शाक्यले भने पुरातत्व विभागबाट स्वीकृत डिजाइनअनुसार नै रानीपोखरीको पुनर्निर्माण भइरहेको दाबी गरेका छन् । रानीपोखरी पुनर्निर्माणमा अनावाश्यक विवाद झिकिएको जिकिर गर्दै उनले सम्पदा नमासिने गरी काम भइरहेको बताएका छन् । “सम्पदा सबैको साझा सम्पत्ति हो । त्यसैले अनावश्यक विवाद झिकेर पुनर्निर्माणमा समस्या नल्याउनुस्,” उनले भने, “रानीपोखरी पुनर्निर्माणको आयोजना म निर्वाचित हुनुअघिकै हो । सम्पदा नमासिने गरी छिटो काम सक्न निर्देशन दिइसकेको छु ।”
पुरातत्व विभाग, पुनर्निर्माण प्राधिकरण र महानगरको सहमतिमै राष्ट्रपतिले रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेका मेयर शाक्यको भनाइ छ ।