नेपाल महिला चेम्बरद्वारा तीज मेलाको आयोजना «

नेपाल महिला चेम्बरद्वारा तीज मेलाको आयोजना

काठमाडौं– नेपाल महिला चेम्बर, व्यापार समितिले भदौ २३ गते शनिबार तीज स्पेसल फेस्टा–२०१८ को आयोजना गरेको छ । जमलस्थित चेम्बर भवनमा आयोजित सो मेलाको उद्घाटन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले गरेकी छन् । मेलाको उदुघाटनपश्चात् मन्त्री थापाले मेलाको अवलोकनसमेत गरिन् । मेलामा महिला उद्यमीद्वारा उत्पादित तथा बिक्री वितरण हुँदै आएका पहिरन, श्रृंगार, हस्तकलाका सामग्री, खानाका परिकारलगायतका सामग्रीहरू प्रदर्शनीका लागि राखिएको थियो ।
मेलामा कलाकारद्वय दीपाश्री निरौला र रेखा शाहले प्रस्तुति दिएका थिए । मेलाको आयोजनासँग चेम्बर भवनको सभा हलमा एक औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममन्त्री थापाले महिला दिदी–बहिनीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सहुलियतपूर्ण व्याजदरमा ऋण सुविधा दिलाउने सरकारको योजना रहेको बताइन् । कार्यक्रममाझ बोल्ने क्रममा चेम्बर अफ कमर्सका कार्यबाहक अध्यक्ष राजेन्द्र मल्लले महिला उद्यमीको उद्यमशीलताको कदर हुनसके मात्रै देशको वाणिज्य क्षेत्र सबल हुने धारणा राखेका थिए ।
यसैगरी महिला चेम्बरका अध्यक्ष डा. अन्जान शाक्यले महिलाहरूले व्यवसाय सञ्चालन गर्दै राज्यलाई कर तिर्ने, रोजगारीको अवसर सिर्जना गर्ने जस्ता महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताइन् । कार्यक्रममा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृतसमेत रहेकी नेपाल महिला चेम्बरका सह–अध्यक्ष उर्मिला श्रेष्ठ, कलाकारद्वय दीपाश्री निरौला र रेखा शाह, नेपाल महिला चेम्बरका सदस्य, महिला उद्यमीलगायतको उपस्थित थियो ।
नेपाल महिला चेम्बरका सह–अध्यक्ष उर्मिला श्रेष्ठले तीज पर्व र उद्यमशीलतालाई जोडेर व्यावसायिकताको विकास गराउनु मेला आयोजना गर्नुको उद्देश्य रहेको प्रकाश पारिन् ।

 

प्रतिक्रिया दिनुहोस्