स्याउबाट लाखौं कमाउँदै जुम्ली «

स्याउबाट लाखौं कमाउँदै जुम्ली

जुम्ला-जुम्लामा स्याउ टिप्ने चटारो छ । यहाँका अधिकांश किसान स्याउ टिप्न व्यस्त भए पनि कतिपयलाई बजारीकरण हुँदैन की भन्ने चिन्ता थियो । तर व्यापारीहरू स्याउ खोज्दै गाउँ–गाउँ पुग्न थालेपछि किसानले राहत महसुस गरेका छन् ।
भदौ लागेसँगै स्याउ टिप्ने चटारो चले पनि बजारीकरणमा समस्या देखिएको किसानहरू बताउँदै आएका थिए । तर स्याउ खरिद गर्न बगैंचामै व्यापारी आएपछि यहाँका किसानलाई राहत भएको छ । चन्दननाथ नगरपालिका–९ की स्याउ किसान प्रतिमा जिसीको बगैंचामा व्यापारीहरू स्याउ लिन पुगेपछि मख्ख परेकी छन् । “कहाँ लगेर बिक्री गर्ने भन्ने चिन्ता भइरहेका बेला व्यापारीहरू नै आएपछि अहिलेका लागि समस्या टरेको छ,” उनले भने, “व्यापारी नआएसम्म स्याउ टिप्न डराइरहेको अवस्थामा अब सहज भएको छ ।”
प्रतिमाको बगैंचामै पुगेर व्यापारी टिकाराज डाँगीले आफ्नै कामदार खटाएर स्याउ टिप्नेदेखि प्याकिङ गर्ने काम पनि गर्दै आएका छन् । “१० देखि १५ रुख भएको बगैंचालाई ३० हजार रुपैयाँमा खरिद गरेको छु, हिसाब गर्दा प्रतिकेजी ४० रुपैयाँ पर्न आएको छ,” उनले भने, “यहाँका किसानलाई बजारीकरणको समस्या छ भन्ने थाहै थिएन ।” उनले आफू स्याउ खोज्दै गाउँमा आएको बताए ।
त्यसैगरी तातोपानी–२ का विष्णु अधिकारी, कालो बुढा, मिम डाँगीलगायतका बगैंचा पनि बिक्री भइसकेका छन् । व्यापारीहरू गाउँमै पुगेर उनीहरूले लगाएको स्याउ खरिद गरेका हुन् । यी त केही उदाहरण मात्र हुन् । अहिले जुम्लाका अधिकांश गाउँगाउँमा स्याउ खरिद गर्न व्यापारीहरू पुगेका छन् । त्यसले गर्दा किसानलाई निकै सहज भएको छ ।

न्यूनतम १ देखि १५ लाखसम्म कमाई
जुम्लाका किसानको मुख्य आयस्रोत नै स्याउ हो । यहाँका १८ हजार घरधुरीमध्य १६ हजार घरधुरी स्याउमा आत्मनिर्भर छन् । खेती पनि गरिरहेका छन् । स्याउ उत्पादनका लागि जुम्ला निकै उर्बर मान्छिन् । यहाँ सरकारी तथा गैरसरकारी निकायले स्याउ खेतीका लागि सिँचाइदेखि विरुवा वितरणमा प्राथमिकता दिइरहेका छन् । किसानलाई आत्मनिर्भर बनाउने, जुम्लालाई स्याउबाटै समृद्ध बनाउने सोचका मलजल तथा मेहनत गरी यहाँका प्रत्येक किसानले न्यूनतम् १ लाखदेखि १५ लाख रुपैयाँसम्म कमाउने गरेका छन् । “वर्षभरीको मेहनत तथा परिश्रमले कमाएको फल थोरै भए पनि निकै मायालाग्दो रहेछ,” स्याउ कृषक प्रतिमा जिसीले भनिन, “विगतका वर्षको तुलनामा यस वर्ष थोरै कमाइ भए पनि सन्तोष मानेकी छु ।”
डाँगीडाका गाउँका अधिकांश किसानले यो वर्ष कम्तीमा पनि ३ लाख रुपैयाँ आम्दानी हुने बताउँदै आएका छन् । “गत वर्षभन्दा बढी स्याउ उत्पादन हुन सकेन,” किसान रतन दमाईले भने, “यो वष ३ लाख रुपैयाँ जति आम्दानी हुने देखिएको छ ।” उनले आफ्नो बगैंचामा भएको स्याउ व्यापारीले खरिद गरिसकेको बताए ।
जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत बालकराम देवकोटाले भने यो वर्ष किसानको आम्दानी वृद्धि हुने बताए । “गत वर्ष स्याउ निर्यातबाट जुम्लाले १७ करोड रुपैयाँ भिœयाएको थियो,” उनले भने, “यो वर्ष बढ्ने अनुमान छ ।” मूल्यमा एकरुपता नहुँदा भने केही समस्या देखिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्