प्रधानमन्त्री ओली शक्तिको भोको : कोइराला «

प्रधानमन्त्री ओली शक्तिको भोको : कोइराला

विराटनगर-नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली शक्तिको भोको भएको आरोप लगाएका छन् ।
वीपी अध्ययन प्रतिष्ठान नेपाल, मोरङले मोरङको सुन्दरहरैंचास्थित बाँसबारीमा आयोजना गरेको विचार गोष्ठीमा कोइरालाले सरकारका सबै संयन्त्रलाई अंकुश लगाएर ओलीले एकतर्फी शासन गर्न खोजिरहेको आरोप लगाए । “ओलीजी राज्यका सम्पूर्ण अधिकार आफैंमा केन्द्रित गरेर शक्तिशाली हुनेतर्फ अग्रसर हुनुहुँदैछ,” उनले भने, “सम्पत्ति शुद्धीकरणसहितका धेरै अधिकार प्रधानमन्त्रीले आफूसँग ल्याउनुभएको छ ।”
कोइरालाले प्रधानमन्त्री ओली यतिबेला सरकारका सबै सयंन्त्रलाई ध्वस्त पार्ने खेलमा रहेको बताए । कोइरालाले ओलीले प्रारम्भिक चरणमै न्याय क्षेत्रलाई निरीह बनाइसकेको दाबी गरे । लोकतन्त्रको खम्बा रहेको न्याय क्षेत्रलाई निरीह बनाएका ओलीले विस्तारै सबै क्षेत्रलाई नियन्त्रणमा लिने तयारीमा लागेको उनको भनाइ थियो । “न्याय क्षेत्रलाई समेत तहसनहस बनाउने खेलमा सरकार लागेको छ,” उनले भने ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णीम वाग्लेले वीपीले प्रतिवादन गरेको समाजवादी सिद्धान्तलाई समायानुकूल अध्यावधिक गरेर लैजानुपर्ने आवश्यकता रहेकोमा जोड दिए । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले वीपीको विचारसँग कांग्रेस एकीकृत भएमात्र कांग्रेस बलियो हुने विचार राखे ।

प्रतिक्रिया दिनुहोस्