गोरखामा १० किलो सुनसहित दुई पक्राउ «

गोरखामा १० किलो सुनसहित दुई पक्राउ

गोरखा-१० किलो सुनसहित गोरखाको चुमनुब्री गाउँपालिकामा २ जना पक्राउ परेका छन् । शनिबार दिउँसो ४ बजेतिर चुमनुब्री गाउँपालिका वडा नम्बर ३ सिर्दीबासको फिलिममा उनीहरु पक्राउ परेका हुन् ।
फिलिमस्थित प्रहरी चेक पोष्ट अगाडिको मनासलु पदमार्गमा चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सोही गाउँपालिकाको वडा नम्बर ७ का ५८ वर्षका मुटुप लामा र २८ वर्षका लोप्चन पेम्बा रहेका छन् । उनीहरुले उक्त सुन तिब्बतसँग सीमा जोडिएको छेकम्पार नाकाबाट आरुघाट बजारतर्फ ल्याउँदै गरेको प्रहरीले जनाएको छ । दुवै जनाले कम्मरमा बाँधेर अवैध रुपमा लुकाई ल्याएको सुन बरामद गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । दुवैजनाको साथबाट ५-५ थान गोल्ड लेखेको १० थान सुन नियन्त्रणमा लिइएको छ । गोरखाको उत्तरी नाका हुँदै सुन तस्करी हुने गरेको सूचनाका आधारमा सो क्षेत्रमा सुरक्षा निगरानी बढाइएको थियो । स्थानीय प्रशासनले सो क्षेत्रमा हुने हेलिकप्टर उडानमा पनि कडाइ गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्