समुद्रमा बन्यो विश्वकै ठूलो वायु ऊर्जा फर्म «

समुद्रमा बन्यो विश्वकै ठूलो वायु ऊर्जा फर्म

लन्डन-बेलायतको उत्तर–पश्चिम तटको आयरिस सागरमा विश्वकै ठूलो वायु ऊर्जा फर्म बनाइएको छ । बिहीबार यो फर्मलाई आधिकारिक रूपमै खोलिएको छ । बिजुली उत्पादनको काम पनि सुरु भएको छ । यो वायु ऊर्जा फर्मको बिजुली उत्पादन क्षमता ६५९ मेगावाट रहेको छ । यो उत्पादनले ५.९० लाख घरलाई पर्याप्त बिजुली पुग्ने बताइएको छ ।
यो आयोजनाको सञ्चालन गर्ने डेनिस ऊर्जा कम्पनी ओर्सटेडका अधिकारीले यो आयोजना १४५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको बताएका छन् । यो क्षेत्रफल फुटबलको २० हजार मैदान बराबर हो । कम्पनीका अनुसार यो वायु फर्ममा ८७ टर्बाइन राखिएको छ । जुन बेलायतको संसद्मा राखिएको ठूलो घण्टीभन्दा पनि दुई गुना अग्लो छ ।
बिजुली उत्पादनको मामिलामा यो विश्वकै सर्वाधिक ठूलो वायु ऊर्जा फर्म भएको संयुक्त अधिराज्यका व्यापार, ऊर्जा तथा औद्योगिक रणनीति विभागका प्रवक्ताले दावी गरेका छन् ।
मन्त्री क्लेयर पेरीका अनुसार यो आयोजना इन्जिनियरिङको उत्कष्ट नमुना हो । यसबाट हजारौं मेगावाट बिजुली उत्पादन हुन्छ, साथसाथै रोजगारीको पनि हजारौं अवसर मिल्नेछ ।
विश्वव्यापी वायु ऊर्जा समीतिका अनुसार विश्वमा अपतटीय वायु ऊर्जा क्षमताको मामिलामा बेलायत सबैभन्दा अगाडि छ । २०१७ मा बेलायतको वायु ऊर्जा फर्मको बिजुली उत्पादन क्षमता ६ हजार ८ सय मेगावाट थियो । यो कट्टर प्रतिद्वन्द्वी जर्मनीको भन्दा १३ सय मेगावाटले बढी हो ।

प्रतिक्रिया दिनुहोस्