चीनमाथि लगाइएको भन्सारको मुल्य चुकाउदै एप्पल «

चीनमाथि लगाइएको भन्सारको मुल्य चुकाउदै एप्पल

वासिङटन-ट्रम्पले चीनमाथि लगाएको भन्सारले एप्पलका विभिन्न सामग्रीमाथि नकारात्मक असर पार्न थालेको एप्पलले अमेरिकी व्यापार प्रतिनिधिलाई लेखेको पत्रमा उल्लेख गरिएको छ । दुई मुलुकबीचको व्यापार तनावमा कम्पनी पर्न थालेको पत्रमा उल्लेख गरिएको छ ।
२ सय अर्ब डलरको चिनियाँ सामग्रीमा ट्रम्पको प्रस्तावित भन्सारले एप्पल वाच, एयरपोड र एप्पल पेन्सील परेको कम्पनीले पत्रमा उल्लेख गरेको छ । यसले उत्पादनका सहयोगी मानिएका सामग्रीहरू मोम पोड, म्याक मिनी, एडप्टर र चार्जरमा पनि नराम्रो असर परेको छ । यसको परिणामस्वरूप उपभोक्ताले एप्पलका उत्पादनहरूलाई बढी पैसा तिर्नुपर्ने र महँगो हुने कम्पनीले जनाएको छ ।
सैद्धान्तिक रूपमा एप्पलको प्रभावशाली मार्जिन, नाफा र नगद प्रवाहले बढेको केही मूल्य पूर्ति गर्न सहयाग गर्नेछ । गत त्रैमासिक अवधिमा कम्पनीले ५३.३ अर्ब डलरको बिक्रीमा ११.५ अर्ब डलर नाफा आर्जन गरेको थियो । कम्पनीसँग हाल पनि २ सय ४३ अर्ब डलरको नगद सञ्चिति रहेको छ ।
एप्पल विश्वकै ठूलो बजार पुँजीकरण्ण भएको सार्वजनिक कम्पनी हो । यसको बजार पुँजीकरण अगस्टको सुरुमा १० खर्ब अमेरिकी डलर नाघेको थियो । कम्पनीले आफ्नो वार्षिक आम्दानी २ सय अर्ब डलर भएको जनाएको छ । यसले विगतका २२ त्रैमासिक अवधिमा २१ सम्म ठूलो धनराशि आर्जन गर्दै आएको थियो । भन्सारले आफ्नो लागतमा कतिसम्म वृद्धि गर्छ भन्ने विषयमा कम्पनीले लेखेको पत्रमा केही पनि अनुमान उल्लेख गरेको छैन ।
“भन्सारले कसरी अमेरिकी कम्पनीहरूलाई नोक्सानी पु¥याउँछ र अमेरिकी उपभोक्ताले चीनको प्रविधि नीतिको सम्मान गर्दै सरकारी उद्देश्यलाई कसरी लिन्छन् भन्ने विषय बुझ्नका लागि अझै कठिन रहेको छ,” पत्रमा भनिएको छ ।
एप्पलले पत्रमार्फत भनेको छ, “यसको सट्टा तपाईंले यी नीतिहरूलाई पुनर्विचार गर्नुहुनेछ र अन्य समाधानका लागि प्रयास गर्नुहुनेछ भन्ने आशा हामीले लिएका छौं । अन्य प्रयास प्रभावकारी हुनेछ, जसले अमेरिकी अर्थतन्त्र र अमेरिकी उपभोक्तालाई योभन्दा पहिलेको तुलनामा पनि बलियो र स्वस्थ बनाउनेछ ।”
योभन्दा पहिले पनि एप्पलका सिइओ टिम कुकले भन्सारप्रति चासो व्यक्त गरेका थिए । उनले भन्सारको विषयमा ट्रम्पसँग कुराकनी भएको बताएका छन् । उक्त कुराकानीको समयमा भन्सारले आईफोनलाई असर नपर्ने विश्वास उनले पाएका थिए । एप्पलको धेरैजसो नाफा आईफोनबाटै हुने गरेको छ । भन्सारबाट प्रभावित हुने उत्पादनको सूचीमा एप्पलको आइफोन समावेश भएको थिएन ।
प्रस्तावित अतिरिक्त भन्सारका लागि अमेरिकी व्यापार प्रतिनिधिको सार्वजनिक जानकारी र टीकाटिप्पणी बिहीबार समाप्त भएको ह्वाइट हाउसका प्रवक्ता लिन्डसे वाल्टर्सले विज्ञप्तिमार्फत बताएकी छन् ।
शुक्रबार एप्पलको सेयर झन्डै १ प्रतिशतले घटेर कारोबार बन्द भएको थियो । यद्यपि यसको अघिल्लो कारोबार अवधिमा भने कम्पनीको सेयरमा १ प्रतिशतको वृद्धि भएको थियो । एप्पलका वितरकहरूको सेयर भने मिश्रित देखिएको थियो । क्वालकमको सेयर उकालो लागेको छ भने स्काइवर्कर्सको १.३ प्रतिशतले ओरालो लागेको थियो । यसैगरी सिरस लगिकको सेयरमा २.३ प्रतिशतको गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्