कांग्रेस जनतासँग हुनुपर्छ : रिजाल «

कांग्रेस जनतासँग हुनुपर्छ : रिजाल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद डा. मीनेन्द्र रिजालले विपीको विचारलाई आत्मसात् गर्दै कांग्रेस सधै जनतासँगै हुनुपर्ने बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा कांग्रेस धनकुटा–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको ‘विपीको १०५ औं जन्मजयन्ती र कांग्रेसको संगठन’ विषयक कार्यक्रममा बोल्दै डा. रिजालले यस्तो दाबी गरेका हुन् ।
उनले भने, “विपीको बारेमा धेरै चर्चा हुने गर्दछन्, मानिसको व्यक्तिगत सोचलाई सिमाभित्र नराखेर अघि बढ्ने व्यक्तिको नाम विपी हो । कुनै दुविधा आइलाग्यो भने माटो समाऊ अनि अन्तर्मनले जे बोल्छ त्यही गर भनेर भनेको कुराले पनि यो स्पष्ट पार्छ ।” राष्ट्रियताको विषय खतरामा परेको बेला विपीले राष्ट्रिय मेलमिलाप नीति लिएर अघि बढेको स्मरण गराउँदै नेता रिजालले भने, “जनता र राजा नमिलि देशको रक्षा नहुने देखिपछि राजासँग मेरो घाँटीसम्म जोडिएको छ भनेर भन्नुभयो । अनि प्रजातन्त्र पुनःस्थापनाको लागि सशस्त्र क्रान्ति आवश्यक छ भनेर भन्नुभयो ।”
कांग्रेसको विधान संशोधन मस्यौदा समितिका सदस्यसमेत रहेका डा. रिजालले कुनै व्यक्ति विषेशको आग्रहभन्दा माथि उठेर पार्टीको विधान निर्माण गरिने बताए । उनले भने, “पार्टीको स्थिति अनुसार चल्ने नेतृत्व र कार्यकर्ता हुनुपर्छ । हार्दा मेरो कारण पार्टीले हार्यो भनेर बिदा लिने कांग्रेस चाहिन्छ, नेतृत्वले भनेको मान्ने कार्यकर्ता चाहिन्छ, पार्टीको हारमा दुईवटा थुम्का मिलेर एउटा भन्दा अग्लो हुने नै भयो । जनताको मन जित्ने कांग्रेस बनेन भने फेरी पनि चुनावमा पराजित हुनुपर्ने स्थिति आउँछ ।”

प्रतिक्रिया दिनुहोस्