भारतीय पर्यटकको उत्साहजनक वृद्धि «

भारतीय पर्यटकको उत्साहजनक वृद्धि

 नेपालमा भारतीय पर्यटकको आगमन दरले पुनः लय समात्न थालेको देखिएको छ । पछिल्ला वर्षहरूमा घट्दै गए पनि सन् २०१७ मा भारतीय पर्यटकको संख्या अहिलेसम्मकै सबैभन्दा बढी हुने अनुमान गरिएको छ । यसअघि २०१३ मा १ लाख ८० हजार ९ सय ७४ भारतीय पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक छ । यसअघि २०१२ मा १ लाख ६५ हजार ८ सय १५ भारतीय पर्यटक नेपाल भ्रमणमा आएका थिए ।चार वर्षदेखि निरन्तर घट्दै आएको भारतीय पर्यटकको आगमन २०१७ मा भने सुरुदेखि नै बढेर १० महिनामा १ लाख ३३ हजार २ सय ९ पुगेको छ । पछिल्ला वर्षमा भारतीय र चिनियाँ पर्यटक भित्र्याउने ठोस प्रर्वद्धनात्मक कार्यक्रम गर्न नेपाल चुकेकोले सोचेजस्तो आगमन नभएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने बताउँछन् । “चालू वर्ष नेपाल पर्यटन बोर्डको मुख्य प्रर्वद्धन कार्यक्रम नै चीन र भारत केन्द्रित गरेको छ,” न्यौपानेले भने । “भारतमा परिवारसहित घुमफिर गर्ने संस्कृति रहेकोले उनीहरूको प्रमुख पर्यटन गन्तव्य नेपाल हुनुपर्ने हो तर हुन सकिरहेको छैन,” होटल संघ नेपाल(हान) का महासचिव तथा एयरपोर्ट होटलका प्रबन्ध निर्देशक विनायक शाहले भने । नेपालमा हवाइ यातायात महँगो भएकोले भारतीयहरू नेपालमाभन्दा मलेसियामा भ्रमण गर्न जाने गरेकोले सोचेअनुसार भारतीय पर्यटक नेपाल भ्रमणमा नआएको शाहको बुझाइ छ । नेपालको पर्यटनलाई जीवन्त राख्न चीन र भारतबाट आउने पर्यटकको लागि हवाई भाडादरमा कमी ल्याउनुको साथै सिधा उडानहरूले जोड्नुपर्ने शाहले बताए ।   
चिनियाँ पर्यटक १ लाख हारहारी  भारतीय पर्यटक आगमनदरलाई पच्छ्याइ रहेको चिनियाँ पर्यटकको संख्या भने २०१७ मा १ लाख पनि नपुग्ने देखिएको छ । १० महिनामा चीनबाट ८३ हजार ३ सय ४२ पर्यटकले नेपाल भ्रमण गरेका छन् । २०१५ मा चिनियाँ र भारतीय झन्डै बराबरी रूपमा भित्रिएको तथ्यांक थियो । २०१५ मा चिनियाँ ७४ हजार ७ सय ७७ पर्यटक नेपाल आउँदा भारतीय ७४ हजार ८ सय ८४ मात्र भित्रिएका थिए । जुन १ सय ७ पर्यटक मात्र बढी थियो । २००३ मा चीनबाट ७ हजार ५ सय ६२ पर्यटक नेपाल आउँदा भारतीयहरू ८६ हजार ३ सय ६३ पर्यटक आएका थिए । सन् २००३ को संख्या बढेर सन् २०१४ मा आइपुग्दा चिनियाँ पर्यटक १ लाख २३ हजार ८ सय ५ पुगेका थिए । एक दशकमा यो संख्या १६ गुणाले बढी हो ।  सरकारले सन् २०१८ भित्रमा २ लाख चिनियाँ पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।सरकारको ध्यान भनेको छिमेकी मुलुकमै केन्द्रित भएकोले चीन र भारत नै पर्यटनको मुख्य बजार भएको नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत (सिइओ) दिपराज जोशी बताउँछन् । चिनियाँ नागरिक विश्वभर घुम्नेमा सवैभन्दा धेरै रहेकोले यसले नेपालले फाइदा लिन सकेमा नेपालको अर्थतन्त्रमा राम्रो प्रभाव पर्ने भएपनि फाइदा नेपालले लिन सकेको छैन । नेपालबाट चीनको बेइजिङ सिधा उडान हुने हो भने अहिलेको दोब्बर सजिलै पुग्ने जोशीले दावी गरे ।

प्रतिक्रिया दिनुहोस्