शिक्षण अस्पताल लोडसेडिङ मुक्त «

शिक्षण अस्पताल लोडसेडिङ मुक्त

जुम्ला-दैनिक लोडसेडिङको मार खेप्दै आइरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा २४ सै घण्टा बिजुली बलेको छ । गुठिचौर गाउँपालिकास्थित नौमुले लघुजलविद्युत् आयोजना देपालगाउँबाट अस्पतालका लागि छुट्टै विद्युत् लाइन दिएपछि अस्पतालमा बिजुलीको अभाव हटेको हो । गुठिचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारी र प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले सम्झौता पत्रमा हस्ताक्षर गरी स्वीच बालेर अस्पतालमा बिजुली बलेको घोषणा गरेका थिए ।
प्रतिष्ठानलाई आवश्यक बिजुली दिने भनेर दुई वर्षभन्दा पहिला सम्झौता भएको थियो । स्थानीय सरकार नआउँदै भएको सम्झौताअनुसार अहिले स्थानीय सरकार आएपछि ढिला नगरी अस्पताललाई विद्युत् उपलब्ध गराएको हो । सम्झौताअनुसार बिजुली आएपछि दैनिक लोडसेडिङ खेप्दै आएको तथा जेनेरेटरको भरमा चलेको प्रतिष्ठानमा लोडसेडिङ मुक्त भएको छ ।
विद्युत् सेवा प्रभावकारी नहुँदा जटिल प्रकारका अप्रेसनलगायतका प्रशासनिक काममा समेत असर पर्दै आइराखेको थियो । प्रतिष्ठानका रजिष्टार काफ्लेले भने, “नियमित रूपमा बिजुली बलेपछि अस्पतालका सबै सेवा नियमित गर्न टेवा पुगेको छ । अस्पतालको सेवा विस्तारमा समेत बिजुलीले ढोका खुलेको हो ।
झण्डै एक वर्षको पहलपछि अस्पतालमा बिजुली बलेको हो । बिजुली नहुँदा आईसीयू सेवा, सिटी स्क्यानलगायतका महत्वपूर्ण उपकरण सञ्चालनमा ल्याउन नसक्दा बिरामी मर्कामा परेका थिए । रजिष्टार काफ्लेले भने, “नियमित विद्युत् आपूर्तिसँगै आईसीयू, सिटी स्क्यान, रक्त सञ्चार केन्द्र, अक्सिजन प्लान्ट चलाउन सहज हुने भएको छ । उनले भदौ महिनाभित्रै यी सबै सेवा सञ्चालन गर्नका लागि प्रतिष्ठान जुटिसकेको बताए । “अप्रेसनका लागि चौबिसै घण्टा विद्युत् चाहिन्छ, यसअघि जेनेरेटर चलाएर अप्रेसन गर्नु बाध्यता थियो,” रजिष्टार काफ्लेले भने, “अब जस्तोसुकै जटिल प्रकारको अप्रेसन बिजुलीका लागि पर्खनु पर्दैन, जतिबेला पनि अप्रेसनका लागि अनुकूल हुनेछ ।”
तेल नहुँदा जेनेरेटर चलाउन कठिन थियो, साना जलविद्युत् उपभोक्ता समितिको बिजुली अधिकांश समय लोडसेडिङ हुँदा आवश्यकताका काम नहुने गरेका थिए । अहिले प्रशासनिक काम गर्न सहज भएको छ । सामान्य कामका लागि जेनेरेटर चलाउनु परेको छैन । अस्पतालले २५ देखि ३० किलोवाट खपत हुन गरी विद्युत् समितिसँग सम्झौता गरेको छ । प्रतियुनिट ८ रुपैयाँ भाडा तिर्नुपर्छ । प्रत्येक कक्षमा सवामिटर राखिने छ । तर गुठिचौर गाउँपालिकाले भने अस्पतालाई ५१ किलोवाट बिजुली दिएको छ । प्रतिष्ठानमा विद्युत् आएदेखि झिलीमिली भएको छ ।
अस्पतालका सेवा प्रवाहमा चुस्तदुस्त र प्रभावकारी हुने गुठिचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले जानकारी दिए । उनले भने, “गुठिचौर गाउँपालिकाले दिएको विद्युत् सेवाले गुणस्तरीय बिरामीको सेवामा पुग्ने आशा गरेका छौं, अब जाडोयाममा सोलार सिस्टमले काम गरेन भन्ने वहाना अन्त्य भएको छ ।” प्रत्येक कोठामा एसीको व्यवस्था गरिएको छ । बिजुली आपूर्तिले चिकित्सक, बिरामी, कर्मचारी र कुरुवा सबै उत्साहित भएको छन । अब बेडबेडमा अक्सिजन पुग्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्