कुमाल बस्तीमा घरघरै खानेपानी «

कुमाल बस्तीमा घरघरै खानेपानी

दमौली-तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित किमलडाँडा माझटारकी देउमाया कुमाल घण्टौं लागेर खानेपानी ल्याउनुपर्दा हैरान थिइन् । क्याङ्दी खोलाबाट डोकोमा पानी बोकेर ल्याउनु पर्दा उनको समय खेर गइरहेको थियो । तर अहिले आफ्नै घरमा पानीको धारा आएपछी उनी दंग छन् ।
उनीजस्तै सोही ठाउँकी कल्पना कुमाल पनि घरमै पानी आएपछि खुसी भएकी छन् । “एक गाग्रो खानेपानीको जोह गर्न घण्टौं लागेर खोलाको पानी डोकोमा बोक्नु पथ्र्यो,” उनले भनिन, “त्यही खोलाको पानी लिन पनि लाइनमै बस्नुपर्ने बाध्यता थियो, अब पानीको दुःख हट्नेभयो ।” एक गाग्रो पानीको जोहो गर्दा समय त्यसै खेर जाने र अरु कुनै काम गर्न नपाइने अवस्था रहेको उनले बताइन् । “अहिले त सबैका घर–घरमा चौबिसै घण्टा कलकल बग्ने धारा बनिसके, अब अन्य काम गर्न पनि सहज भयो,” उनले खुसी हुँदै भनिन् ।
पिउने पानीको अभावमा दिनरात खोला तथा कुवाको पानी लिन लाइन बस्नुपर्ने बाध्यता रहेको किमलडाँडाको कुमाल बस्तीको घर–घरमा पानीको धारा पुगेपछि स्थानीयवासी हर्षित छन् । वर्षौंदेखि खानेपानीको चरम समस्या हुने गाउँमा घर–घरमा पानी पुगेपछि सहज भएको छ । खोलाको, कुन्टा कुन्टीको पानी खाने स्थानीयले त्यही पनि सुकेर हैरानी खेप्न परेको पीडा सुनाउँदै अब भने निक्कै सजिलो भएको स्थानीय टिकाराम कुमालले बताए । “एक गाग्री पानी लिन बिहानै उठेर खोलामा जान्थे लाइनमा बस्नुपथ्र्यो । खानेपानीको लाइन कुर्दा कुर्दा एक बिहान जान्थ्यो,” कक्षा १२ मा अध्ययनरत कुमालले भने, “पानीको जोहो गर्दा सधैं विद्यालयमा एक/दुई घण्टी नै छुट्थ्यो ।”
धारापानीको मुहानबाट ल्याइएको पानीलाई किमलडाँडामा ट्यांकी निर्माण गरी संकलन गरिएको छ । त्यहाँबाट घर–घरमा पानी वितरण गरिएको छ । किमलडाँडा माझटारका ७४ घरधुरी रहेको उक्त बस्तीमा खानेपानी पुराउन केन्द्रीय खानेपानी आयोजना र शुक्लागण्डकी नगरपालिकाले संयुक्त रूपमा ६८ लाख लगानी गरेको छ । एक घर एक धाराको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले सुखी नेपाली समृद्ध नेपाल युगको प्रारम्भ भएको बताउँदै नेपालमा स्थिरता, सामाजिक सद्भाव र आर्थिक समृद्धि हासिल गरी नेपाली जनतालाई सुखी र खुसी बनाउने बताए ।
प्रत्येक तीन÷तीन महिनामा नेपाली जनताले देशमा परिर्वतन र विकास भएको महसुस गर्ने गरी सरकराले काम अगाडि बढाएको मन्त्री लम्सालको भनाइ थियो । “जसरी नालामा पानीको गति जोडले प्रवाह भइरहेको छ, त्यस्तै गतिमा काम अगाडि बढ्छ,” उनले भने । प्रदेश सरकारले गण्डकी प्रदेशका ११ वटै जिल्लाका प्रत्येक घरधुरीमा स्वच्छ खानेपानी पुराउनका लागि योजना अगाडि बढाइसकेको बताउँदै मन्त्री लम्सालले आगामी ५ वर्षमा प्रत्येक घरमा स्वच्छ खानेपानीको पहुँच पुग्ने बताए ।
प्रदेश सभा सदस्य आशा कोइरालाले जिल्लाको विकासका लागि आफू निरन्तर लागिरहेको बताइन् । कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङ, वडाध्यक्ष कृष्ण रेग्मीलगायतको सहभागिता थियो ।

 

प्रतिक्रिया दिनुहोस्