सिंगापुरमा फेसबुकको डाटा सेन्टर

काठमाडौं-विश्वकै ठूलो समाजिक सञ्जाल फेसबुकले पहिलो पटक एसियामा डाटा सेन्टर स्थापना गर्ने भएको छ । एसियाली मुलुक सिंगापुरमा डाटा सेन्टर स्थापना गर्ने निश्चित गरेको फेसबुकलाई उदृत गर्दै अन्तराष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् ।
फेसबुकले डाटा सेन्टर स्थापना गर्न एक अर्ब अमेरिकन डलर लगानीमा ११ तले कम्प्लेक्स बनाउदँैछ । कम्पनीले डाटा सेन्टरलाई आवश्यक सतप्रतिशत विद्युत नविकरणीय उर्जाबाट लिने गरि कम्प्लेक्सको निर्माण गर्ने तथा पानी र उर्जा बचत गर्न स्टेट पोइन्ट लिकुइड कुलिङ सिस्टमको प्रयोग गर्नेछ । डाटा सेन्टरको स्थापनाले यस क्षेत्रमा फेसबुकको सुविधा थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
यो नयाँ प्रोजेक्टले सिंगापुर र एसियाली मुलुकमाा सयौंको संख्यामा रोजगारीसमेत सिर्जना हुने फेसबुकले जनाएको छ । एसियाली बजार फेसबुकका लागि निकै नै महत्वपूर्ण बजार मानिन्छ । किनकी यस क्षेत्रमा मात्र फेसबुकका प्रयोगकर्ताहरुमध्ये ४० प्रतिशत हिस्सा रहेको छ । यस क्षेत्रमा मासिक रुपमा फेसबुक प्रयोग गर्नेको संख्या ८ सय ९४ मिलियन रहेको छ । एसियाली मुलुकमा मात्र फेसबुकले २ खव ३० अर्व डलरको कारोबार गर्दछ ।
फेसबुक मात्र नभई पछिल्लो समयमा विश्वका ठूला प्रविधि कम्पनीहरुसमेत एसियाली मुलुकमा आफ्नो ध्यान केन्द्रीत गरिरहेका छन् । विश्वकै ठूलो प्रविधि कम्पनी एप्पल, अनलाइन सपिङमा नम्बर एक अमेजन, सर्च इन्जिनको पर्याय बनेको गुगल लगाएतका कम्पनीले पनि एसियामा आफ्नो उपस्थिति बाक्लो बनाउँदै आएका छन् । यसअघि गुगलले पनि आफ्नो तेस्रो डाटा सेन्टर ताइवानमा स्थापना गरिसकेको छ ।
पछिल्ला दिनमा फेसबुक र गुगल भिडियो सेयरिङमा प्रतिस्पर्धामा देखिन्छन् । फेसबुकले गुगलको युट्युवको फिचरसँग मिल्दो फिचर सार्वजनिक गरेको छ । जुन सुविधा अनुसार युट््युवमा सस्क्राइब तथा हेरिएको संख्याका आधारमा रकम पाए जस्तै फेसबुकले पनि भिडियो सेयर र हेरिएको आधारमा पैसा कमाउन सक्ने व्यवस्था गरेको छ । यसअघि अमेरिकामा मात्र उपलब्ध फेसबुकले सुरु गरेको फेसबुक वाच फिचर अब विश्वका सबै मुलुकमा उपलब्ध हुने व्यवस्था गरिएको छ ।
नयाँ फिचर अनुसार फेसबुकका पब्लिसर्स तथा कन्टेन्ट क्रिएटर्सलाई उनीहरुको भिडियोहरुका लागि अन्तराष्ट्रिय बजार मिल्नेछ । “फेसबुक वाचको लन्चिंगका साथै हामी अन्तर्राष्ट्रिय स्तरमा पब्लिशर्स र क्रिएटर्सलाई दुई किसिमले सहयोग गर्न चाहन्छौं,” फेसबुकले भनेको छ, “पहिलो फेसबुकमा भिडियोबाट पैसा कमाउनेमा उनीहरुलाई सहयोग हुनेछ भने दोस्रो क्रिएटर्सले उत्कृष्टरुपमा उनीहरुको कन्टेन्टले कस्तो कार्यक्षमता देखाइरहेको छ थाहा पाउन सक्नेछन् ।” फेसबुकका अनुसार यो सेवा अंग्रेजी भाषाका बाहेक अन्य स्थानिय भाषाहरु पनि सपोर्ट गर्नेछ । वाचबाट आउने आम्दानीमा ५५ प्रतिशत हिस्सा क्रियटर्सले पाउनेछन् भने ४५ प्रतिशत फेसबुकले राख्नेछ ।