शीतलहरबाट क्षति रोक्न सरकारी तयारी

–प्रहरी प्रधान कार्यालयका अनुसार शीतलहर र चिसोका कारण कठ्यांग्रिएर आर्थिक वर्ष २०७२-७३ मा ५३ र गत वर्ष ४० भन्दा बढीको ज्यान गएको थियो । |
गृह मन्त्रालयले शीतलहरका कारण हुनसक्ने मानवीय क्षति नियन्त्रण तथा न्यूनीकरणका लागि पूर्वतयारी गर्न देशभरका प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्र र केन्द्रीय दैवीप्रकोप उद्दार समितिमा भएको छलफलपछि गृह मन्त्रालयले शीतलहर र चीसो प्रभावित सबै क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गर्न ७७ वटै स्थानीय प्रशासनलाई परिपत्र गरेको हो । शीतलहर तथा चिसोबाट व्यक्तिको ज्यान गएमा पीडित परिवारलाई आर्थिक सहायतासमेत उपलब्ध गराउने जनाइएको छ ।
देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई गृह मन्त्रालयले शीतलहर र चीसो नियन्त्रण, राहत सामग्री वितरण तथा ‘न्यानो कार्यक्रम’ सञ्चालन गर्न ५ बुँदे निर्देशन पनि दिएको छ । गृह मन्त्रालयले विशेषगरी तराइ–मधेस, हिमाली तथा भूकम्पप्रभावित क्षेत्रको मौसमलाई ख्याल गरेर शीतलहर नियन्त्रण अभियान चलाउन भनेको छ ।
प्रशासन कार्यालयहरुको अभियानमा सहयोग गर्न गृह मन्त्रालयले स्थानीय निकायसहित अन्य सरकारी तथा गैरसरकारी र निजी क्षेत्रलाई पनि आग्रह गरेको छ । “शीतलहर तथा चिसोबाट उत्पन्न सम्भावित जोखिमलाई न्यूनीकरण गर्न आवश्यक स्रोतसाधनको पूर्वप्रबन्ध गरी प्रभावित परिवारमाझ पुर्या उन तथा उद्दार-राहत कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन विषयगत मन्त्रालय-विभाग तथा कार्यालय सहित स्थानीय प्रशासनले व्यवस्था मिलाउनु पर्नेछ,” गृह मन्त्रालय अन्तर्गतको आपतकालिन कार्यसञ्चालन केन्द्रको निर्णयमा भनिएको छ ।
केन्द्रले दिएको ५ बुँदे निर्देशनमा खाद्यान्न तथा लत्ताकपडा व्यवस्थापनसहित दाउरा, कम्बल, औषधिलगायत बन्दोबस्तीका सामग्री भण्डारण, वितरण तथा सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ । त्यसैगरी भूकम्पप्रभावित जिल्लाहरुमा चीसो तथा शीतलहरबाट हुनसक्ते मानवीय तथा भौतिक क्षति न्यूनीकरण तथा प्रभावकारी राहत वितरणमा ध्यान पुर्याउन पनि गृह मन्त्रालयले अनुरोध गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार शीतलहर र चिसोका कारण कठ्यांग्रिएर आर्थिक वर्ष २०७२-७३ मा ५३ र गत वर्ष ४० भन्दा बढीको ज्यान गएको थियो । गृह मन्त्रालयले यसवर्ष मानवीय क्षति हुन नदिन विशेष सावधानी अपनाउन पनि प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ । “शीतलहर प्राकृतिक प्रक्रिया भएका कारण हामीले रोकथाम पनि त्यहीअनुसार गर्नुपर्ने हुन्छ,” गृह मन्त्रालयका एक अधिकारीले भने, “प्रभावित क्षेत्रका सर्वसाधारणलाई राहत उपलब्ध गराउन तथा चीसोबाट बच्ने गरी सुसूचित गर्न स्थानीय प्रशासनलाई निर्देशन गरिएको छ ।”
गृहले विहानको समयमा बाहिर ननिस्कन, तातो झोल पदार्थ सेवन गर्न, न्यानो कपडा प्रयोग लगायतमा ध्यान दिन पनि सर्वसाधारणलाई आग्रह गरेको छ । गृहले शीतलहरबाट पशुपञ्छीको मृत्यु तथा अन्नबालीमा नष्ट भए किसान तथा सर्वसाधारणलाई कृषि विकास मन्त्रालय र पशुपंछि विकास मन्त्रालयमार्फत राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन प्रमुख जिल्ला अधिकरीहरुलाई निर्देशन दिएको छ ।