बैंकिङ बिजनेस ग्याम्बलिङ होइन

चार पटकसम्म निमित्त प्रमुख कार्यकारी अधिकृत भएका जनक शर्मा पौड्यालले केही समयअघि मात्र ग्लोबल आईएमई बैंकको व्यवस्थापन नेतृत्वको जिम्मेवारी सम्हालेका छन् । नबिल बैंकदेखि बैंकिङ क्षेत्रमा जोडिएका पौड्यालसँग तत्कालीन एनआईसी बैंक स्थापना कालदेखि काम गरेको अनुभव छ । त्यसो त पौड्यालसँग लक्ष्मी बैंक स्थापनाको अनुभव पनि छ । नबिल बैंकमा मात्रै करिब ११ वर्ष बिताएका पौड्यालले ग्लोबल आईएमई बैंकमा पनि १० वर्ष बिताइसकेका छन् । बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा धेरै बिताएका पौड्यालले बेलायतबाट एक्सलेरेटेड प्रोग्रामअन्तर्गत व्यावसायिक प्रशासनमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । वाणिज्य बैंकको पछिल्लो अर्थात् कान्छो प्रमुख कार्यकारी अधिकृत पौड्यालले बैंक चिर अनन्तसम्म चल्ने संस्था भएकाले तत्काल प्रतिफल खोज्न नहुने बताउँछन् । नाफा गर्नका लागि कृषि खेती गर्नुपर्ने बताउने पौड्याल वित्तीय संस्था सञ्चालनका क्रममा नीति निर्देशकसहित पूर्ण प्रक्रियागत रूपमा काम गरेको खण्डमा समस्या नहुने बताउँछन् । बैंकसँग लाखौं जनताको जिन्दगी जोडिने भएकाले नियामकको पूर्ण पालना गरेर अघि बढ्नुपर्ने उनको तर्क छ । नेपालको सन्दर्भमा बैंकहरूकै कारणले गर्दा नेपाल राष्ट्र बैंकले सानाभन्दा साना विषयमा पनि गहिरो अनुगमन गर्न बाध्य भएको बताउने पौड्यालसँग ग्लोबल आईएमई बैंंकलाई अघि बढाउने नयाँ योजना तथा समग्र वित्तीय प्रणालीको विषयमा कारोबारकर्मी भुवन पौडेलले गरेको कुराकानी :
वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेको हिसाबले तपाईं कान्छो हुनुहुन्छ । भर्खरै मात्र ग्लोबल आईएमई बैंकको व्यवस्थापनको नेतृत्व गर्नुभएको छ । नयाँ जिम्मेवारीमा चुनौती पनि उत्तिकै भएको हुनाले प्रतिस्पर्धी बजारमा आफूलाई स्थापित गर्न कस्ता योजना बनाउनुभएको छ ?
मैले पाएको नयाँ जिम्मेवारीलाई सकारात्मक चुनौतीका रूपमा लिएको छु । मेरा लागि यो अवसर पनि हो । नेपाली बैंकिङ प्रणालीसँग लामो समयदेखि जोडिएको हुनाले फरक वा चुनौतीपूर्ण छ भन्ने लाग्दैन । पछिल्लो प्रमुख कार्यकारी भएर यति ठूलो बैंकको नेतृत्वको जिम्मेवारी पाउँदा एकदमै खुसी पनि छु । त्यसका साथै आगामी दिनमा बैंकलाई कसरी अघि बढाउने भन्ने सन्दर्भमा केही चुनौती छन् । मैले यो बैंकमा १० वर्ष बिताइसकेको हुनाले पनि बैंक र म दुवैले एक–अर्कालाई राम्रोसँग चिनेका छौं । त्यसले गर्दा पनि बैंकलाई अघि बढाउन समस्या हुन्छ भन्ने मलाई लाग्दैन । नयाँका लागि नयाँभन्दा पनि बलियो र सुदृढ रूपमा काम गरेर केही फरक गर्नुपर्ने चुनौती मेरा लागि छ । खास गरी बैंकको व्यवसाय विस्तार गरेर लगानीकर्तालाई समयअनुसारको उपयुक्त प्रतिफल दिन मेरो पहल हुन्छ नै । त्यसका साथै नियामक निकायको पूर्ण परिपालना गरेर संस्थालाई जोखिममुक्त गरेर चुस्त–दुरुस्त राख्नु महत्वपूर्ण हुन्छ ।
नेपालको आर्थिक क्षेत्रमा धेरै उतारचढाव आइ नै रहेका छन् । अर्थतन्त्रमा के हुन्छ भन्ने कसैले पनि प्रेडिक्ट गर्न नसक्ने अवस्था छ । यस्तो अवस्थामा बैंकलाई चनाखो र बौद्धिक भएर चलाउनुपर्ने हुन्छ । बैंक भनेको दीर्घकालीन रूपमा सञ्चालन हुने संस्था भएकाले यसको फाउन्डेसन बलियो हुनुपर्छ । बैंकका लागि आवश्यक नीति–निर्माण गरेर समयअनुसार संस्थाका हरेक पक्षको समीक्षासहित आवश्यकताअनुसारको जोखिम नियन्त्रणका उपायहरू अपनाएर काम गरेको खण्डमा अघि बढ्न सहज हुन्छ । यसो भन्दै गर्दा नीति–नियमको पूर्ण पालनमा आवश्यक हुन्छ । त्यसका लागि व्यक्तिले कमजोरी गरेको खण्डमा नीति परिवर्तन नभई व्यक्ति परिवर्तन गर्ने रणनीतिअनुसार काम गर्नुपर्छ । बैंकजस्तो संस्थाले कानुनी तथा नीतिगत जोखिम लिने नै होइन । हामीले ग्याम्बलिङ गरेको होइन । आज आम्दानी गरिहाल्छु भनेर बैंक चलाउने होइन । यसले दुर्घटना निम्त्याउँछ । पूर्ण प्रक्रियामा रहेर ऐन–नियम तथा निर्देशनभित्र रहेर काम गर्दा गलत हुने सम्भावना न्यून रहनुका साथै अस्वाभाविक घटना हुन पाउँदैन । बैंकलाई प्रतिस्पर्धी बनाएर लैजान नियमअनुसार प्रक्रियागत रूपमा बैंकिङ व्यवसाय विस्तार योजना छ ।
त्यसै गरी नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार करिब १५ स्थानीय तहमा शाखा विस्तार गर्ने तयारीमा छौं । त्यसका साथै एटीएम सेवा पनि सोहीअनुसार विस्तार गर्ने योजना छ । हामी शाखारहित बैंकिङ सेवामा भने थप १ सय शाखा विस्तार गर्ने योजनामा छौं । हाल बैंकका एक सय ८ वटा शाखा छन् । ५७ वटा शाखारहित केन्द्रहरू छन् भने १ सय २६ वटा एटीएम काउन्टर छन् । ग्लोबल आईएमई बैंकले वित्तीय साक्षरता र वित्तीय सहभागितामा विशेष पहल गरेको छ । नेपालको परिवेश तथा भौगोलिक स्थितिले गर्दा सबै जनता बैंकिङ सेवामा आउन सकेका छैनन् । त्यसका लागि हामी हिजो पनि लागेका थियौं र भोलि पनि लाग्ने नै छौं । आगामी दिन पनि ब्रान्चलेस बैंकिङ सर्भिसमार्फत सक्दो धेरै नेपाली दाजुभाइ, दिदीबहिनीलाई बैंकिङ सेवामा आबद्ध गराउने योजना छ । शाखा पुग्न नसक्ने ठाउँमा ब्रान्चलेस बैंकिङ स्थापना गरी नेपालीहरूलाई बचतको बानी सिकाउने योजना छ । आगामी दिन १ सय ब्रान्चलेस बैंकिङमार्फत वित्तीय सेयर प्रदान गर्ने समेत योजना छ ।
बैंकको प्रमुख कार्यकारी पदको जिम्मेवारी लिँदा लगानीकर्तालाई उच्च प्रतिफल दिने सर्तमा राखिन्छ भन्छन्, वास्तविकता के रहेछ ?
मेरो अनुभवमा लगानीकर्तालाई दिने प्रतिफललाई नै सर्त राखेर जिम्मेवारी दिन भन्ने नै होइन । हिजोका दिन कुन संस्थामा के भएको थियो भन्ने कुरा मलाई गाह«ो भएन । मेरो आफ्नो सन्दर्भमा यो होइन । अन्य संस्थामा यस्तो होला पनि । यसमा नेतृत्व दिने सन्दर्भमा कस्तो नीति–निर्देशन लिएर संस्था अघि लैजाने योजना छ । संस्था थप राम्रो हुने तथा आम्दानी बढाउने सन्दर्भमा प्राकृतिक रूपमा बहस हुन्छ । यो आवश्यक पनि हो । यदि यस्तो नहुने हो भने लाइनमा आएको मान्छेलाई टीका लगाइदिए भयो । त्यसका लागि यो क्षेत्रको राम्रो ज्ञान तथा अनुभव भएको र ऐन–नियमको सन्दर्भमा जानकार व्यक्ति हुनु जरुरी छ । बैंक भनेको निक्षेपकर्ताले जीवनभरको बचत रहने संस्था भएकाले यो क्षेत्रको नेतृत्व लिने व्यक्ति सबल र सक्षम हुन जरुरी छ । बैंक जोखिम लिने तथा स्प्याकुलेसन गर्न मिल्ने क्षेत्र होइन । बैंकले व्यवस्था गर्दा जोखिम लिन्छ । त्यो फरक पाटो हो । त्यसमा पनि हामीले पर्याप्त अध्ययन तथा तयारी गरेर मात्र जोखिम लिएका हुन्छौं । हाम्रो वित्तीय क्षेत्रलाई फर्केर हेर्दा प्रक्रिया नपु¥याई हतार गरेकाले समस्या आएका धेरै उदाहरण छन् । त्यसमा कति व्यक्तिले गरे भने कति व्यवसायीले गरेका छन् ।
मेरो सन्दर्भमा प्रमुख कार्यकारी भएपछि बैंकलाई अघि बढाउन लिने रणनीतिको विषयमा छलफल भएको हो । मैले पनि आफ्ना एजेन्डाहरू पनि राखें । नाफा नै यति हुनु पर्छ भनेर जिम्मेवारी दिनु पनि हुँदैन र लिनु पनि हँुदैन । किनभने हामीलाई बाहिरको बजारले असर गर्छ । आगामी ४ वर्षमा बाहिरको बजार के हुन्छ, कसैलाई थाहा छैन । यति कमजोर भविष्यवाणी क्षमता रहेको क्षेत्रमा भोलिको वित्तीय अवस्था, अर्थतन्त्र, लगानीको अवस्था कस्तो होला भन्ने नियमनको पक्षमा हुन सक्ने परिवर्तनको विषयमा केही जानकारी छैन । तर, अन्य सबै पक्ष उस्तै रहेको खण्डमा प्राकृतिक वृद्धिलाई लिएर अघि बढ्नुपर्छ । प्राकृतिक वृद्धि त गर्नुपर्छ नै । त्योभन्दा माथि के गर्न सकिन्छ भन्ने हो । अप्राकृतिक रूपमा व्यवसाय वृद्धि गर्न खोजेको खण्डमा हानिकारक पनि हुन सक्छ । बैंक भनेको दीर्घकालीन संस्था हो । बैंकिङ व्यवसाय गर्नेले छोटो समयमा प्रतिफल खोज्ने नै होइन । बैंक भनेको ५० वर्षपछि बन्द गर्छु भन्ने संस्था होइन । यो चिरकालसम्म चलिरहनुपर्छ । असफल भएर संस्था विभिन्न कारणले अस्तित्वमा नहुनु फरक कुरा हो । व्यवसाय सञ्चालनको क्रममा आउने अनेक बाधा–अड्चनहरू पार गरेर संस्था अघि जानुपर्छ । आजको युगमा ग्लोबल भिलेज भनेर आर्थिक क्षेत्र करिब एउटै भएको छ । हामीले एक देशबाट अर्को देशमा एउटै प्लेटफर्मबाट कारोबार गरेका छौं ।
बैंक जति माथि गए पनि असर नहुने गरी फाउन्डेसन बलियो बनाउने हो । त्यसका साथै संस्था बलियो र सक्षम बनाएर अघि लैजानुपर्छ । त्यसका साथै ग्लोबल आईएमई बैंकको ग्राहक सेवा विशेष बनाउन चाहन्छु, जसले गर्दा ग्लोबल आईएमई बैंकका ग्राहक भएकै कारण फरक महसुस गर्न सकून् ।
बैंक सञ्चालनका क्रममा प्रमुख कार्यकारी अधिकृतलाई चुनौती अवश्य छन् । बैंकका लगानीकर्तालाई उपयुक्त प्रतिफल दिनु छ, बैंकको पूर्वाधार बलियो बनाउनु छ भने ग्राहकलाई पनि प्रभावकारी सेवा दिएर बजारमा प्रतिस्पर्धा भएर अघि बढ्नु छ ।
ग्लोबल आईएमई बैंकले तुलनात्मक रूपमा धेरै संस्थालाई साथमा लिएर आज ग्लोबल आईएमई बैंक बनेको छ । वित्तीय क्षेत्रलाई हेर्दा सबै मर्जर तथा प्राप्ति सफल भएका पनि छैनन् । तर, ग्लोबल आईएमई बैंकको धेरै संस्था मर्जर तथा प्राप्तिपछि अनुभव कस्तो रह्यो ?
फरक स्वभाव, व्यवसायिक कल्चर एक भएर काम गर्दा धेरै उत्साहित अनुभव भएको छ । मेलै ११ वर्ष नबिल बैंकमा काम गरेर एनआईसी बैंक स्थापना गर्न गएँ । बैंक स्थापना हुँदा समयमा के–कस्ता चरण पार गर्नुपर्छ, त्यसको समेत अनुभव भयो । शून्यबाट बैंक सुरु गरेर करिब चार वर्ष काम गरें । त्यसका साथै लक्ष्मी बैंक स्थापनाको चरणमा पनि उत्तिकै सकारात्मक अनुभव रह्यो । त्यसैगरी ग्लोबल आईएमई बैंकको मर्जर तथा प्राप्ति पनि मेरा लागि नयाँ ऊर्जाका रूपमा रहेको छ । ग्लोबल आईएमई बैंकमा १० वटा संस्था मर्जर तथा प्राप्ति भएर आएका छन् । यसमा हरेक संस्थाको फरक व्यावसायिक संस्कार तथा कर्मचारीहरूको काम गर्ने शैली एक भएर काम गरेका छौं ।
अन्य संस्थाहरूको मर्जरमा कर्मचारी समायोजनमा समस्या भएको सुनियो । त्यसका साथै मर्जरपछि कर्मचारी तथा कामको शैली छुट्टिने समस्या आउने कुरा पनि सुनिए । तर, ग्लोबल आईएमई बैंकको केसमा मलाई त्यस्तो केही अनुभव नै भएन । कर्मचारी संयोजन पनि निकै सरल ढंगबाट भयो । मर्जरका कारण संस्थाअनुसार टिम बन्ने पनि अवस्था आएन । सबै एक भएर अघि बढेका छन् । त्यसका साथै म आफैं पनि मानवस्रोतमा चासो राख्ने भएकाले पनि सहज भएको महसुस हुन्छ । हिजोका १० संस्था आज एक भएर अघि बढेका छन् । नेपाली मर्जर इतिहासमा ग्लोबल आईएमई बैंकलाई नमुनाकै रूपमा लिइन्छ ।
पछिल्लो समयमा वित्तीय प्रणालीमा पुनः लगानीयोग्य पुँजी (तरलता) को समस्या देखिन थालेको हो ?
पछिल्लो समयमा तरलता कसिलो हुँदै छ, हुन लाग्यो वा हुन्छ भन्ने सुनिएको छ । तर, हाल तरलता समस्या हुनुपर्ने कारण मैले अनुभूत गरिसकेको अवस्था होइन । गत वर्षको जस्तो समस्या हुन्छ भन्ने लाग्दैन । सरकारी खर्च पनि केही हदसम्म भइरहेको अवस्था छ । सरकारी पुँजीगत खर्च पनि ९ देखि १० प्रतिशत खर्च भएको भन्ने आएको छ । त्यसले गर्दा तरलता समस्या भइसकेको होइन कि । तर, अलिकति बोर्डर लाइनमा बसेर काम गर्ने संस्थाहरूको केसमा टाइट फिल भएको हुन सक्छ । यसमा जोखिमलाई पूर्वानुमान गरेर प्रभावकारी व्यवस्थापना गरेको खण्डमा समस्या नआउला भन्ने लाग्छ । ग्लोबल आईएमई बैंकको सन्दर्भमा मेरा साथीहरू तरलताभन्दा पनि निक्षेपको ब्याजदर माथि जाने सम्भावना बढेको बताउनुहुन्छ । त्यसमा सरकारी खर्चको दोस्रो किस्ता पनि निकासा भएको छ, त्यसका साथै चुनाव भएको खर्च पनि वित्तीय प्रणालीमा आइनसकेको हुनाले असर गरेको हुन सक्छ । त्यो पनि ढिलो–चाँडो आउँछ । बैंकमा आउने पैसा त्यो हो भने आगामी पुस मसान्तमा ५० देखि ६० अर्ब करका हिसाबले सरकारी कोषमा गएर बस्छ । माघपछि यो समस्या सहज हुन्छ कि भन्ने हो । सरकार निर्माण भएर कामहरू अघि बढ्न थालेको खण्डमा समस्या नआउला । तर, सरकार गठन गर्न समय लाग्ने तथा काम ढिला हुनेबित्तिकै समस्या बढ्न सक्छ । यो समस्या बजारको भएकाले कुनै एक संस्थाले मात्र रणनीति बनाएर हँुदैन । तर, संस्थाले त्यो अवस्थालाई कसरी डिल गर्ने भन्ने तयारी त हुनुपर्छ नै । नेपाल राष्ट्र बैंकले ब्याजदरमा स्थिरता कायम गर्नका लागि ब्याजदर करिडोर लागू गरेको छ । यसले पहिलेजस्तो महँगो निक्षेप लिनुपर्ने अवस्था नआउला । उच्चदर ७ प्रतिशत भएकाले नेपाल राष्ट्र बैंकबाट सस्तोमा छोटो अवधिको सुविधा लिए ब्याजदर नियन्त्रण हुन्छ भन्ने हो । यसले काम गर्नुपर्छ । सरकारले ढुकुटीको पैसा पनि खर्च नगर्ने, बजारबाट पनि ऋण उठाउने हो भने समस्या बढ्छ । नेपाल राष्ट्र बैंकले पनि त हेरेको छ नि । बजारको अवस्थाअनुसार माग र आपूर्तिबीच सन्तुलना गर्ने काम गर्छ ।
अहिलेको वित्तीय प्रणालीको परिस्थितिमा सुधार नआएको अवस्था ब्याजदर करिडोरले नै काम नगर्ने अवस्था आउने भयो होइन र ?
कतिपय अवस्था बैंकहरूबाटै हुने क्रियाकलापका कारणले सानाभन्दा साना कुरामा पनि केन्द्रीय बैंकले निरङ्कुस भएर नियमन गर्नुपरेको अवस्था छ । केन्द्रीय बैंकले ल्याएको नियम त सबै बैंकका लागि हो । तर, बैंकहरूले गलत तरिकाबाट व्यवसाय सञ्चालन गरिदिँदा बजार बिग्रन्छ । त्यसैले प्रुडेन्ट भएर हेर्दा निर्णय लिने प्रक्रिया व्यक्तिअनुसार फरक हुन सक्छ । तर, नीति–निर्देशन तथा प्रुडेन्ड नम्स त सबैका लागि एउटै हो । वाणिज्य बैंकका हिसाबले हेर्दा २८ वटै वाणिज्य बैंकले कमर्सियल बैंकको प्रुडेन्ट नम्स, उपयुक्त प्रतिफल, जोखिम न्यूनीकरण र नेपाल राष्ट्र बैंकको पूर्ण पालना गरेको खण्डमा समान्यतः पद्धति एउटै हुन्छ ।
बुझाइ व्यक्तिअनुसार फरक हुन्छ । बजारमा तरलता टाइट हुन थाल्यो भनेर अगाडि नै निक्षेप लिएर बसेको खण्डमा घातक हुन्छ । अब बजारमा १० मा चलिरहेको रेटलाई १०.५ दिएको खण्डमा खर्च बढी लिनुका साथै बजारका लागि पनि गलत सन्देश हुन्छ अनि बजारले फलानाले साढे १० दिइसकेको छ भने पनि ११ गर्नुप¥यो । यसरी बजार अघि बढिरहेको हुनाले रेट बढेको हो । यसमा बैंकहरू प्यानिक हुनुपर्ने अवस्था छैन । बैंकहरू नेपाल राष्ट्र बैंकसँग जान सक्छन्, जसले अल्पकालीन समस्या समाधानको उपाय निस्कन्छ । त्यसकारण ब्याजदर करिडोरले काम गर्नुपर्छ । तरलता समस्याको विकल्पमा गएका खण्डमा समस्या हुँदैन । समस्या भयोे भनेर हतारिएर निक्षेप उठाउने होडबाजीमा गएको खण्डमा समस्या झन बढ्ने हो । त्यसले ब्याजदर पनि बढ्छ, समस्या पनि झनै बढ्छ ।
बैंकहरूको बेस रेट दोहोरो अंकमा छ, तर कर्जाको ब्याजदर घटेको छ । यसले बजारमा अस्वस्थ प्रतिस्पर्धा बढेको देखिन्छ । यस्तो गर्न आवश्यक हो ?
बैंकहरूले अस्वस्थ प्रतिस्पर्धा गर्नु जरुरी नै छैन । बैंकहरूबीचको प्रतिस्पर्धा पनि स्वस्थ हुनुपर्छ । बैंकले काम गर्दा प्यानिक नभएको खण्डमा यस्तो समस्या आउँदैन । नेपाल राष्ट्र बैंक छ नि हामीलाई हेर्ने । केन्द्रीय बैंकले वित्तीय प्रणालीको समस्या समाधान गर्ने संयन्त्र तयार गरेको छ । त्यसैले लस लिडरसिपको काम गरेर कसलाई फाइदा भयो ? बेस रेट बढेको अवस्थामा पनि ब्याजदर घटाएर कर्जा दिने भनेको लस लिडरसिप हो । यसले तत्कालको काम मात्र भयो । यसले बजार अस्वस्थ बनायो । ग्राहक खुसी बनाउन तत्कालका लागि लस लिडरसिपको काम गर्दा दीर्घकालीन हुँदैन । दीर्घकाल हुनका लागि निश्चित मार्जिन लिएर नै जानुपर्छ । बेस रेट हाई हुँदा पनि ब्याजदर घटाएर बैंकले काम गर्न भएन । यसकारणले गर्दा नेपाल राष्ट्र बैंकले पनि गहिरो निगरानी गर्नुपरेको हो ।
बैंकहरूको पुँजी परिचालनको अवस्था कमजोर हो ?
विगतको तुलनामा विप्रेषण आप्रवाह वृद्धिदर घटेको मात्रै होइन, नकारात्मक नै हुने अवस्थामा देखिएको छ । त्यसले बैंक–वित्तीय संस्थाको निक्षेपमा असर गरेको छ । त्यसका साथै सरकारले पनि समयमा खर्च नगर्ने प्रवृत्ति कायमै छ । देशको राजनीतिक अस्थिरता कारण पनि लगानी गर्ने पुँजी परिचालन हुन नसकेको हो भन्न लाग्छ । देशका लागि आवश्यक धेरै विकास–निर्माणका काम गर्नुपर्नेछ । तर, त्यसका लागि स्थिर सरकार नहुँदा समस्या आएको छ । राजनीतिक अवस्थाले पनि लगानीकर्ताका लागि ढुक्कको वातावरण बन्न सकेन । छिनछिनमा नीति परिवर्तनले गर्दा लगानीकर्ता पनि ढुक्क हुन सकेका थिएनन् । पुँजी परिचालनको गुणात्मक वृद्धि राज्यकै लगानी आवश्यक छ । त्यसका लागि अब राजनीतिक स्थिरता आएको खण्डमा बढ्न सक्छ । सर्वसाधारणलाई विश्वासमा लिएको स्थिर सरकार भएको खण्डमा पुँजी परिचालन बढ्ने देखिन्छ । विगतका समयमा जस्तो अर्थतन्त्रमा आउने उतारचढाव पनि समाधान हुन्छ ।
बैंकहरूको नाफा घटेको छ, यो अवस्थामा पनि बैंकहरूले आइटी सेक्युरिटीमा लगानी गर्नुपर्ने अवस्था छ । सुरक्षाका लागि कसरी लगानी गर्ने योजना गर्नुभएको छ ?
बैंक–वित्तीय संस्थालाई अन्य संस्थासँग तुलना गर्नु नै हुँदैन । बैंक–वित्तीय संस्था सञ्चालनका क्रममा धेरै ठाउँबाट स्रोतको चुहावट हुन सक्छ । त्यसलाई नियन्त्रणका लागि नीतिगत तथा प्रक्रियागत सुधार गर्नुपर्छ । यसो गरेको खण्डमा घटना हुँदैनन् । थाहा नभएर हुने घटना थोरै छ । अस्वस्थ प्रतिस्पर्धा गरेर गएको खण्डमा दिगो हुँदैन ।
हामीले दिने सेवा विश्वभर फिँजिएको छ । यो प्रविधिलाई कुनै पनि बेला आक्रमण गर्न हेरेर बसेका हुन सक्छन् । त्यसका लागि पर्याप्त सुरक्षाका उपाय अपनाउनुपर्छ । त्यसका लागि फेयर वाल प्रशस्त बनाएका हुन्छौं । ग्लोबल आईएमई बैंक पनि सुरक्षामा सम्झौता गर्दैन । एउटा बैंकमा लाखौंको जीवन जोडिएको छ । बैंकमा सुरक्षाका लागि दीर्घकालीन लगानी आवश्यक छ । यसले अल्पकालीन रूपमा नाफा घटाउँछ । तर, स्थिर भएर काम गरेको खण्डमा दीर्घकालीन हुन्छ । नम्सभन्दा बाहिर गएर काम नगरी नीति र प्रक्रिया प्रभावकारी भएको खण्डमा समस्या आउने सम्भावना कम हुन्छ । बैंकको व्यवसाय विस्तारका लागि पुँजीगत आधार पनि बढाउनुपर्छ । बढ्दो पुँजीमा बढ्दो प्रतिफल नभई नियमित प्रतिफल दिन पनि सहज छैन ।