राष्ट्रिय मर्यादाक्रम संशोधनको तयारी «

राष्ट्रिय मर्यादाक्रम संशोधनको तयारी

काठमाडौं-सरकारले राज्यका विभिन्न ओहोदामा रहेका पदाधिकारी, पूर्व विशिष्ठ अधिकारी तथा राष्ट्र सेवक कर्मचारीको मर्यादाक्रम संशोधन गर्ने भएको छ । प्रदेश र स्थानीय सरकारका अधिकारीहरुले अहिलेको मर्यादाक्रमले जनप्रतिनिधिहरुको अवमूल्यन गरेको भन्दै असन्तुष्टि जनाएपछि गृह मन्त्रालय यसमा संशोधन गर्न लागेको हो ।
साउन २३ गते बसेको मन्त्रीपरिषद् बैठकले राष्ट्रिय मर्यादाक्रम संशोधन गरी मन्त्रीपरिषदको प्रशासन समितिमा छलफल गरी पेश गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । गृह मन्त्रालयका अधिकारीले दिएको जानकारी अनुसार छिट्टै नयाँ मर्यादाक्रम सम्वन्धि व्यवस्था लागू गरिने छ ।
“अहिलेको मर्यादाक्रममा केही असन्तुष्टि आएको छ, त्यसलाई समेत सम्बोधन हुनेगरी नयाँ मर्यादाक्रमको व्यवस्था ल्याउन लागिएको हो,” गृहका एक अधिकारीले भने ।
२०७४ माघमा सरकारले राष्ट्रपतिदेखि नेपाली सेनाका सहायक सेनानीसम्म १ देखि २७ नम्बरसम्म समेटेर राष्ट्रिय मर्यादाक्रम निर्धारण गरेको थियो । “राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका महानुभावहरुको मर्यादाक्रम स्वीकृत गर्ने विषयको प्रस्ताव मन्त्रीपरिषद प्रशासन समितिमा छलफलका लागि पेश गर्ने,” मन्त्रीपरिषदको साउन २३ गतेको बैठकले गृहमन्त्रालयलाई दिएको निर्देशनमा भनिएको छ ।
अहिलेको मर्यादाक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायधीश, सभामुख÷राष्ट्रिय सभाका अध्यक्ष तथा पूर्वराष्ट्रप्रमुख÷उपप्रधानमन्त्रीलाई क्रमशः १ देखि पाँचौं वरियताक्रममा समाबेस गरिएको छ । मर्यादाक्रममा समाबेस गरिएका मध्ये २७ औं नम्बरमा नेपाली सेनाका सहायक सेनानी समाबेस छन् । अहिलेको मर्यादाक्रम अनुसार संवैधानिक निकायका सदस्य/आयुक्त, मूख्यसचिव, राष्ट्र बैंकका गभर्नर लगायत भन्दा प्रदेश सभाका सभामुखको वरियता तल छ । प्रदेश सरकारले यसमा संसोधन हुनुपर्ने माग रख्दै आएको छ । त्यस्तै निजामति कर्मचारी भन्दा स्थानीय र प्रदेश सरकानरका कर्मचारीको मर्यादाक्रम तल पारेकोमा पनि विवाद हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्