‘पर्यटनको विकासबाटै १ नम्बर प्रदेशको समृद्धि’ «

‘पर्यटनको विकासबाटै १ नम्बर प्रदेशको समृद्धि’

प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएसँगै मुलुक औपचारिक रूपमा संघीयतामा प्रवेश गरिसकेको छ । मुलुक संघीयतामा प्रवेश गरेसँगै आर्थिक समृद्धिका सम्भाव्यता खोजी गर्न थालिएको छ । यसै सन्दर्भमा पूर्वका पर्यटन व्यवसायीहरूले १ नम्बर प्रदेशको आर्थिक समृद्धि पर्यटनबाट मात्रै सम्भव हुने निचोडमा पुगेका छन् ।
विश्वका कुना–कुनाबाट हरेक दिन आफूतिर आकर्षित गर्ने सर्वोच्च शिखर यही प्रदेशमा अवस्थित छ । यतिसम्म कि विश्वको तेस्रो अग्लो हिमशृंखला पनि १ नम्बर प्रदेशमै पर्छ । प्राकृतिक बनावटले पनि पर्यटनको सम्भावना यो प्रदेशमा धेरै छ । हिमालदेखि तराईसम्मको भूबनोटले पनि यहाँ भौगोलिक विविधता पाइन्छ । “सगरमाथालाई देखाएर पनि यो प्रदेशले प्रशस्त आर्थिक आम्दानी गर्न सक्छ,” पर्यटन व्यवसायी पुण्य भट्टराई भन्छन्, “त्यसका लागि भौतिक संरचनाको विकास र प्रचार–प्रसारको आवश्यकता छ ।”
१ नम्बर प्रदेश पर्यटनको सबैभन्दा बढी सम्भावना भएको क्षेत्र हो । भारतको पश्चिमबंगाल र बिहारको केही प्रतिशत जनसंख्या भित्र्याउन सके यो क्षेत्रको आर्थिक समृद्धि हेर्न धेरै समय कुर्न नपर्ने उनी बताउँछन् । प्रदेश संसदले पर्यटन विकासलाई नै प्रमुख प्राथमिकतामा राखेर आर्थिक समृद्धिको मार्गचित्र कोर्नुपर्ने भट्टराईको सुझाव छ । “जुन क्षेत्रबाट छिटो आर्थिक समृद्धि हासिल हुन्छ त्यसै क्षेत्रमा लगानी गर्नु आवश्यक छ,” उनले थपे, “अब धेरैतिर बजेटलाई कनिका छरेसरह छर्नुभन्दा एउटै क्षेत्रमा लगानी गर्नु उपयुक्त हुन्छ ।”
यो क्षेत्रमा पछिल्लो समय पर्यटन क्षेत्रमा लगानी बढ्दै गएको छ । लोडसेडिङ, बन्दहड्ताल, बजार अभाव, मजदुर अभावलगायतका समस्या उद्योगमा बढ्दै गएपछि नाम चलेका उद्योगीहरूसमेत पर्यटन क्षेत्रमा लगानी बढाउन थालेका छन् । उद्योगी मोती दुगडको १ अर्ब २० करोड रुपैयाँको लगानीमा पाँचतारे होटल धमाधम निर्माण भइरहेको छ । अबको १ वर्षभित्र उक्त होटल सञ्चालनमा आउनेछ । दुगडकै लगानीको चारतारे होटल सञ्चालनमा आइसकेको छ । पर्यटन व्यवसायी रेवतबहादुर थापाको लगानीमा धनकुटाको हिलेमा अत्याधुनिक सुविधाको होटल सञ्चालनमा आइसकेको छ । पुण्य भट्टराई र गिरिराज बस्नेतको लगानीमा होटल एसियाटिक पनि केही वर्षयता सञ्चालनमा छ ।
यसले गर्दा यो क्षेत्रमा पर्यटनमा लगानी थपिँदै गएको पाइन्छ । पछिल्लो दुई वर्षयता दुई दर्जनभन्दा बढी ठूला होटल सञ्चालनमा आइसकेका छन् । जसमा ५० अर्बभन्दा बढी लगानी छ । इलाम, झापा, धनकुटा, इटहरी, विराटनगरलगायतमा बढी लगानी भइरहेको क्षेत्रीय होटल व्यवसायी संघका अध्यक्ष राजन श्रेष्ठले जानकारी दिए ।
यो इलाम, पाथीभरा, हलेसी, भेंडेटार, सगरमाथा, मकालु, कञ्चनजंघा, बराहक्षेत्र, दन्तकालीलगायतका पर्यटकीयस्थलहरूमा हरेक दिन आन्तरिक र बाह्य पर्यटकको भीड लाग्ने गरेको छ । “भौतिक संरचनाको विकास र प्रचार–प्रसार अभियान सञ्चालन गर्ने हो भने अहिलेको दोब्बर पर्यटक भिœयाउन सकिन्छ,” श्रेष्ठको भनाइ छ, “बाह्य पर्यटकलाई भित्र्याएको खण्डमा मात्रै आर्थिक फाइदा लिन सकिने उनले बताए । आन्तरिक पर्यटकमा अझै खर्च गर्ने बानी बसिनसकेको उनको बुझाइ छ । “बाह्य पर्यटक आउने सगरमाथा हो,” उनी भन्छन्, “त्यसको फाइदा काठमाडौंले लिइरहेको छ ।” प्राकृतिक, सांस्कृतिक र धार्मिक पर्यटनको अत्यधिक सम्भावना छ यो क्षेत्रमा ।
मुलुक संघीयतामा गइसकेकाले अब बन्ने प्रदेश सरकारले पर्यटनलाई नै बढी प्राथमिकतामा राख्नुपर्ने उनीहरूको सुझाव छ । पर्यटनमा थोरै लगानीबाट धेरै प्रतिफल प्राप्त गर्न सकिन्छ । “पर्यटक आउँदा होटल, गाडी, चिया पसल चल्छन्,” पर्यटन व्यवसायी भविसकुमार श्रेष्ठ भन्छन्, “एकजना पर्यटक आउँदा ७ जनाले रोजगारी पाउँछन् ।” होटल व्यवसायलाई पनि उद्योगकै रूपमा सेवा सुविधा दिनुपर्ने उनको माग छ । अब आउने सरकारले पर्यटकीय क्षेत्रसम्म पुग्ने सडक, खानेपानी, विद्युत् विस्तारलगायतका भौतिक संरचनाको विकासमा ध्यान दिनुपर्नेमा पर्यटन व्यवसायीहरूले जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्