नाम्खामा पर्यटन र व्यापारिक सम्भावनाको खोजी

हुम्लाको उत्तरी क्षेत्रमा पर्ने नाम्खामा पर्यटन र व्यापारिक सम्भावनाको खोजी सुरु गरिएको छ । उत्तरी नाम्खा गाउँपालिकालाई पर्यटन र व्यापारिक केन्द्रका रूपमा विकास गर्न स्थानीयले भदौ १८ देखि २० गतेसम्म एक व्यापार मेलाको पनि आयोजना गरेका थिए । सडक सञ्जालले नछोएको सुन्दर बस्ती नाम्खा–६ को हल्जीमा स्थानीय उत्पादनको प्रदर्शनी भएको थियो ।
बजारमुखी अर्थतन्त्रमा लिमी उपत्यका सम्भाव्य ठाउँ भएको मुख्य मन्त्री महेन्द्रबहादुर शाही बताउँछन् । लिमी उपत्यका पर्यटनको सम्भावना रहेकाले उनले कर्णाली प्रदेश विकट नभएको यस प्रदेशलाई यसको पहिचान बदल्न पर्ने योजना सरकारले प्राथमिकता दिएको बताए ।
हुम्ला स्रोतसाधनमा धनी रहेको कसैसामु लुकेको छैन, तर पनि यसको भरपुर उपयोग कहिले हुने हो भन्ने मात्रै चासोको विषय हो ।
कर्णाली प्रदेशमा रहेका सम्पदाको प्रयोगमा तत्कालीन सरकारले बन्देज लगाइएको र परनिर्भर हुनुभन्दा आगामी दिनमा यहाँ नै श्रमलाई सम्मान गरी मानसिक रूपले धनी भएको महसुस गर्नुपर्ने देखिन्छ ।
जलस्रोत, जडीबुटी, प्राकृतिक स्रोतसाधनको भरपुर उपयोगले कर्णालीको परिचय परिवर्तन हुने मुख्यमन्त्री शाही विश्वास व्यक्त गर्छन् । उनी भन्छन्, “आगामी वर्ष कर्णालीमा बस्नका लागि कर्मचारीको हानथाप हुने गरी विकास गरिनेछ ।”
लिमी उपत्यका हाल नदी कटानको जोखिममा पनि छ । यसलाई जोगाउन तटबन्ध आवश्यक छ । लिमीमा सञ्चारको समेत समस्या छ । पर्यटन, जडीबुटी र पर्यावरणको विकास गर्न सकिए कर्णाली प्रदेश सम्पन्न हुनेमा सामाजिक विकास मन्त्री दल बहादुर रावल जोड दिन्छन् । आफूलाई हुम्लामा जन्मेकोमा गौरव महसुस हुने गरेको र स्वर्ग भूमिलाई यहाँका सरोकारवाला निकायले ध्यान दिनुपर्ने उनले बताए । हुम्लाको विकासका लागि प्रदेश सरकारले विशेष जोड दिएको उनले । हुम्लाको विकासका लागि उल्लेख्य बजेटसमेत यस आर्थिक वर्ष विनियोजन गरिएको रावलले जानकारी गराए ।
आन्तरिक र बाह्य पर्यटक भित्र्याउन हुम्ला जिल्ला अगाडि भएकाले यसको विकासका लागि लागिपर्ने कर्णाली प्रदेशका उद्योग, वन तथा पर्यटन मन्त्री नन्दसिंह बूढाले बताए । विकासका लागि सबैले हातेमालो गरी अगाडि बढे कर्णालीको विकास चाँडै हुने र राष्ट्र अगाडि बढ्ने बूढाले बताए ।
पर्यटकलाई लिमी उपत्यकाबाट मानसरोवर कैलाश दर्शनका लागि सडक सञ्जाललगायत पूर्वाधार तयार गरेर यसबाट आर्थिक लाभ लिन सक्नुपर्ने संघीय सांसद छक्कबहादुर लामा बताउँछन् । लिमी उपत्यकाको पौराणिक र ऐतिहासिक महत्वको जानकारी विश्वमा फैलाउनका लागि सबैले सबै क्षेत्रबाट लाग्नुपर्नेमा सांसद लामाको जोड थियो ।
जैविक विविधता भएको गाउँपालिका भएकाले देश विदेशमा प्रचार गर्नका लागि गाउँपालिका लागि परेको अध्यक्ष विष्णु लामाले बताए । नाम्खा गाउँपालिकालाई हुम्लाको समृद्ध गाउँपालिका बनाउनका लागि यहाँका पर्यटकीय क्षेत्र र जैविक वस्तुको प्रवद्र्धनमा गाउँपालिकाको ध्यान उच्च रहेको अध्यक्ष लामाले बताए ।
अन्तरदेशिय व्यापार मेलामा स्थानीयले जैविक खाद्य पदार्थ, स्थानीय हस्तकलाका उत्पादन, चालचलन र वेशभूषासमेत प्रदर्शन गरेका थिए । हरेक वडाले आ–आफ्नै संस्कृति झल्कने स्याब्रो नृत्य र छ्याम नृत्य देखाइएको थियो । स्थानीयले करोडौं मूल्य पर्ने स्थानीय कपडा, गरगहना र वेशभूषाको समेत प्रदर्शन गरेका थिए । कर्णाली प्रदेश सरकारले मेला आयोजनाका लागि १५ लाख, गाउँपालिकाको आन्तरिक बजेट र इसिमोडको सहयोगमा मेला सम्पन्न भएको थियो । भौगोलिक विकटता भएपनि प्राकृतिक सौन्दर्यको धनी नाम्खा जिल्लाकै पर्यटकीय र नमुना बस्ती हो । सुदूर वस्तीका स्थानीयले भर्खर सम्पन्न गरेको मेलाले भविष्यमा यहाँका सम्भावनाहरु अझै उजागर हुने विश्वास राख्न सकिन्छ । हरेक वर्ष जैविक विविधता, पशुपन्छीको अध्ययन, अनुसन्धान र प्राकृतिक सौन्दर्यमा रमाउनका लागि पर्यटकहरू यहाँ पुग्ने गरेका छन् ।