एक तिहाइले मात्र दोस्रो किस्ता अनुदान लिए

म्याग्दी-म्याग्दीका एक तिहाइ भूकम्पपीडितले मात्र निजी आवास पुनर्निर्माणका लागि राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट दोस्रो किस्ता अनुदान लिएका छन् । दुई तिहाइ भूकम्पपीडित अनुदानको दोस्रो किस्ता लिन सम्र्पकमा आएका छैनन् ।
प्राधिकरणले बुधबार बेनीमा आयोजना गरेको नगर/गाउँपालिकास्तरीय पुनर्निर्माण सम्बन्धी अभिमुखीकरण तथा कार्ययोजना निर्माण कार्यशालामा हालसम्म २४४ जना भूकम्पपीडितले मात्र दोस्रो किस्तावापतको अनुदान लिएको जानकारी गराइएको हो । प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख शिवराम गेलालले ७८० जनाले पहिको किस्तावापत ५० हजार रुपैयाँका दरले अनुदान लगेका जानकारी दिए । १६ जनाले तेस्रो तथा अन्तिम किस्ता अनुदान लगेका छन् । ११ जना दोस्रो किस्ता र २५ जनाले तेस्रो किस्ताका लागि प्रक्रियामा छन् । ४२५ जनाले भूकम्पपीडितको सूचीमा छुटेको भन्दै गुनासो दर्ता गराएका छन् । आर्थिक वर्ष २०७३/७४ मा ४ र ७४/७५ मा ७ वटा विद्यालय भवन पुनर्निर्माण भएका छन् । चालु आर्थिक वर्षमा २० वटा विद्यालयमा कक्षा कोठा भवन पुनर्निर्माणका लागि कोटा परेकोमा ४० वटा प्रस्ताव परेको छ ।
आयोजनामार्फत ४४ करोड रुपैयाँ बजेट स्वीकृत भएको पोखरेबगर घार खिवाङ शिख चित्रे सडकको ठेक्का प्रस्तावको म्याद बिहीबार सकिँदैछ । विभिन्न माध्यमबाट निजी आवास पुनर्निर्माणलाई गति दिन पहल गरिए पनि दुई तिहाइभन्दा बढी भूकम्पपीडित दोस्रो किस्ता अनुदानका लागि अझै सम्र्पकमा नआएकोमा कार्यक्रममा सहभागीहरुले चिन्ता व्यक्त गरेका छन् । इकाईका अनुसार भूकम्पबाट कमप्रभावित १७ जिल्लामा पर्ने म्याग्दीका एक हजार ३५० घरको सर्वेक्षण गरिएको थियो । प्राधिकरणले २०७५ पुस मसान्तसम्म अन्तिम तथा तेस्रो किस्तावापतको अनुदान वितरण गरिसक्ने लक्ष्य राखेको छ । पहिलो किस्ता पचास हजार र दोस्रो किस्ता एक लाख ५० हजार रुपैयाँका दरले अनुदान वितरण गर्ने व्यवस्था छ । राजनीतिक दबाब, प्रशासनिक लापरबाही, सरकारी निकाय र प्राविधिकसमेतको मिलेमतोमा खडा भएका नक्कली भूकम्पपीडित बढी हुनु पुनर्निर्माणले गति लिन नसक्नुको प्रमुख कारण बनेको सरोकारवालाको भनाइ छ । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले म्याग्दीमा पुनर्निर्माणलाई गति दिन सहजिकरणको आवश्यकता रहेको बताए ।
प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले आयोजना कार्यान्वयन र पुनर्निर्माणमा सुशासनको आवश्यकता देखिएको विचार व्यक्त गरे । पत्रकार महासंघका अध्यक्ष तारानाथ शर्माले अनुदान लिएर निजी आवास पुननिर्माणमा वास्ता नगर्नेहरुको संख्या धेरै हुनु म्याग्दीका लज्जाको विषय हुने बताए ।
पुननिर्माण प्राधिकरणले म्याग्दीको बेनी नगरपालीकामा दुई, धौलागिरी, मालीका, मंगला, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा एक, एकजना प्राविधिक खटाएको छ ।