१४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०७४ को तयारी पूरा

फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले स्वदेशी उत्पादनलाई प्रोत्साहित र प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ हरेक वर्ष जुत्ता–चप्पल तथा छालाजन्य वस्तुहरूको राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गर्दै आएकोमा यस वर्ष १४औं जुत्ता–चप्पल तथा छाला जन्य वस्तुहरूको औद्योगिक प्रदर्शनी आयोजना हुँदैछ । यो प्रदर्शनीमा जम्मा १३५ वटा स्टल रहने र जसमा जुत्ता–चप्पल उत्पादन गर्ने उद्योगहरू, छालाजन्य वस्तु उत्पदकहरू, र यस उद्योगहरूका लागि कच्चापदार्थ उत्पादन गर्ने उत्पादक तथा बितरकहरूको समेत सहभागिता रहने आयोजकले जनाएका छन् । जसमा छालाका जुत्ता, स्पोर्टस जुत्ता, क्याजुअल जुत्ता स्कुल कलेजका युनिफर्मका जुत्ता, जेन्टस तथा लेडिज चप्पल एवं यस उद्योगसँग सम्बन्धित कच्चा पदार्थहरू तथा फुड स्टलहरू रहनेछन् ।
‘आत्मनिर्भरताको आधार, स्वदेशी वस्तुको प्रयोग’ यस प्रदर्शनीको मूल नारा छ । प्रदर्शनीले स्वदेशी ब्रान्डलाई अनुशासित र मर्यादित बनाउनका निमित्त यो नारालाई महत्वका साथ उठाइ रहेको छ ।
नेपाली उपभोक्तालाई स्वदेशमा उत्पादित स्वदेशी ब्रान्डप्रति सजग र सचेत गराउँदै बिना ब्रान्डका वस्तुहरूप्रति विश्वास नगरी ब्रान्डेड वस्तुहरू मात्र गुणस्तरीय र उचित मूल्यका हुन्छन् भन्ने विश्वास दिलाउन यो नारालाई प्रदर्शनीको मुख्य नारा बनाइएको छ । यस संघले वार्षिक रूपमा आयोजना गर्ने गरेको एकल औद्योगिक प्रदर्शनी बाहेक हुने गरेका बिभिन्न सेल–मेलाहरूमा यस संघको कुनै संलग्नता नरहेको पनि पत्रकार मित्रहरूलाई जानकारी गराउन चाहन्छु ।
भृकुटीमण्डपस्थित सानो चौरमा हुने गरेका बाह्रमासे जुत्ता–चप्पल सेल मेलाले अन्ततः धेरै मेहनतपश्चात् नेपाली जुत्ता–चप्पलप्रति प्राप्त भएको उपभोक्ताहरूको माया तथा सद्भाव, वितृष्णामा परिवर्तन हुने खतरा रहेको पनि जानकारी गराउन चाहान्छौ । साथै यस वर्षको प्रदर्शनीमा प्रवद्र्धकका रूपमा वरिष्ठ कलाकार नीर शाह रहेको प्रदर्शनी व्यवस्थापन मूल समिति संयोजक नानिराज घिमिरेले बताए ।