सफा पानी उद्योग स्थापनामा टाटाले सघाउने «

सफा पानी उद्योग स्थापनामा टाटाले सघाउने

नेपालको ग्रामीण भेगमा सफा पानी उत्पादन गर्ने उद्योग स्थापना गर्न भारतीय कम्पनी टाटाले सघाउने भएको छ । नेपालमा महिला उद्यमशीलता विकासका गर्न तथा यस क्षेत्रमा वैदेशिक लगानी भित्र्याउनका लागि भएको महिला उद्यमीको अन्तर्राष्ट्रिय सम्मेलनमा यस्तो सहमति भएको हो ।
‘आर्थिक सशक्तीकरणसँगै समानता’ भन्ने नाराका साथ गत आइतबारबाट शुरु भएको सम्मेलन महिलाले नेतृत्व लिएका उद्योगमा वैदेशिक लगानी भित्र्याउन फलदायी बनेको आयोजक संस्था दक्षिण एसियाली महिला विकास मञ्चकी अध्यक्ष प्रमिला आचार्य रिजालले बताइन् । उनका अनुसार सम्मेलनकै क्रममा नेपालको ग्रामीण भेगमा सफा पानी उत्पादन गर्ने उद्योग स्थापना गर्न भारतीय कम्पनी टाटाले सघाउने भएको हो ।
तीन दिने सम्मेलन विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । सम्मेलनमा सार्क सदस्य राष्ट्र सहित विभिन्न २७ मुलुकका महिला उद्यमी सहभागी थिए । सम्मेलनकै क्रममा नेपालले इन्डो अफ्रिकन वुमन च्याम्बरको सदस्यता पनि पाएको छ । यस्तै, अफ्रिका र खाडी मुलुक सहित विभिन्न ४२ मुलुकमा महिला उद्यमशिलताका क्षेत्रमा क्रियाशील यूनिडो नामक संस्थाले नेपालमा पनि कार्यक्षेत्र विस्तार गर्नेबारेमा सहमतिपत्रमा हस्ताक्षर भएको छ । सम्मेलनमा सार्कसहित अमेरिका, बेलायत, चीन, कम्बोडिया, थाइल्यान्ड लगायतका मुलुकको समेत प्रतिनिधित्व थियो ।
सम्मेलन समापन समारोहलाई सम्बोधन गर्दै दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) संगठनका महासचिव अम्जाद बी. सियालले महिलालाई आर्थिक रुपमा सशक्त बनाउँदै लैंगिक विभद् अन्त्य गर्नुपर्नेमा जोड दिए । महासचिव सियालले समाज र अर्थ व्यवस्था परिवर्तन गर्न महिलालाई आर्थिक रुपमा सशक्त बनाउनुपर्ने बताए । “हामी एउटै प्रकृतिको सामाजिक, साँस्कृतिक, वैधानिक र राजनैतिक रुपमा महिलालाई शसक्तिकरण गर्ने अभियानमा छौँ,” उनले भने, “यसैको परिणामस्वरुप वैध अधिकारका लागि संसारभर गतिविधि बढेको छ ।”
एकल र पिछडिएका महिलाले पनि स–साना घरेलु उद्यममार्फत आर्थिक आयआर्जनका गतिविधि गरिरहेका महासचिव सियालको भनाइ छ । सार्क संगठनले सार्क वडापत्रअनुरुप महिला सशक्तीकरण, अपराध नियन्त्रण तथा महिला र किशोरी बेचविखनविरुद्धसँगै वेश्यावृत्ति नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्