पूर्वाधार विकासमा वातावरणीय पक्षलाई ध्यान दिन जरुरी «

पूर्वाधार विकासमा वातावरणीय पक्षलाई ध्यान दिन जरुरी

पूर्वाधार विकासका लागि जैविक विविधता तथा वातावरणीय संरक्षणमा ध्यान दिन जरुरी रहेको सरोकारवालाले बताएका छन् । पछिल्लो समयमा भौतिक पूर्वाधारका कारण वातावरणीय प्रदूषण बढ्दै गइरहेको चिन्ता व्यक्त गर्दै सरोकारवालाले समयमा नै सबैको ध्यान जान आवश्यक रहेको बताएका हुन् ।विश्वमा बढ्दै गइरहेको वातावरणीय प्रदूषणले जैविक विविधताको ह्रास तथा जलवायु परिवर्तनको जोखिम बढ्दै गएपछि विश्वभरका वातावरणविद्हरूले चासो बढाउन थालेका हुन् । तर विभिन्न सरकारी निकायबीचको समन्वय अभावका कारण पूर्वाधार विकासमा वातावरणीय पक्षलाई ख्याल नगरिएको सरोकारवालाको गुनासो छ ।
क्यानाडामा भएको जैविक विविधतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर हालै नेपाल फर्किएका वन तथा भू–संरक्षण मन्त्रालयका सहसचिव महेश्वर ढकालले अन्तर्राष्ट्रिय सभा सम्मेलनमा पनि जैविक विविधता तथा वातावरणीय एजेन्डालाई चिन्ता र चासोको विषय बनाउन थालिएको बताएका छन् । “विश्वमा पछिल्लो समय विकासका गतिविधि पनि बढ्दै गइरहेको छ, विकास रोक्नुपर्छ भन्ने पनि होइन,” उनले भने, “तर वातावरणीय पक्षलाई ख्याल गर्नु आजको आवश्यकता हो, हालै मात्र क्यानडामा सम्पन्न सम्मेलनमा जैविक विविधता संरक्षणका लागि विश्वव्यापी रूपमा नै वातावरणीय पक्षलाई ख्याल गर्दै विकासका गतिविधि अगाडि बढाउन पहल गर्ने विषयमा छलफल भएको थियो ।” उनका अनुसार दिगो विकासको लक्ष्य हासिल गर्दा विकासको काम धेरै गर्नुपर्ने तथा पूर्वाधार निर्माणको कामले गति लिने भएकाले समयमा नै वातावरणीय पक्षलाई ख्याल गर्दै वातावरणमैत्री विकासलाई जोड दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्