मोरङमा सडक निर्माण तीव्र «

मोरङमा सडक निर्माण तीव्र

विराटनगर-सडकलाई विकासको पहिलो आधारका रूपमा लिने गरिन्छ । हुन पनि सडक सुविधा पुगेका ठाउँहरूले विकासमा फड्को मारेको देखिन्छ । अझ कालोपत्रे सडक भएका ठाउँहरूले छोटै समयमा रूपरंग नै फेरेको पाइन्छ ।
यतिबेला मोरङका स्थानीय तहहरूबीच सडक निर्माणमा प्रतिस्पर्धा चलेको छ । अझ स्थानीय तहले ग्रामीण सडकलाई पहिलो प्राथमिकता दिएका छन् । त्यसमाथि पनि बढीभन्दा बढी कृषक लाभान्वित हुने सडकलाई प्राथमिकतामा राखेर काम गरिरहेको मोरङको सुन्दरहरैंचाका प्रमुख शिव ढकालले जानकारी दिए । उनले कार्यभार सम्हालेपछिको १४ महिनामा २० किलोमिटर सडक कालोपत्रे गरिसकेको बताए । “ग्रामीण क्षेत्रमा उत्पादित कृषिजन्य सामग्री सहज रूपमा बजारसम्म पुगोस् भनेर गाउँका सडकलाई कालोपत्रे गर्ने कामलाई पहिलो प्राथमिकतामा राखेका छौं,” ढकालले भने, “ग्रामीण क्षेत्रमा कालोपत्रेसहितको सकडको पहुँच पुगेमा बसाइँसराइ पनि रोकिन्छ ।”
५० किलोमिटर ड्रेन निर्माण र ६० किलोमिटरमा ग्राभेल गरिएको उनको भनाइ छ । योजनामा नपरेको सडक राष्ट्रिय सभाका सदस्य रमेशजंग रायमाझीको पहलमा बजेट ल्याएर नगरपालिकाको समन्वयमा स्थानीय ५ वडा ग्रामीण सडकसमेत कालोपत्रे भइरहेको छ । जसमध्ये बेलगाछी–त्रिजुगा–मृगौलिया हुँदै विराटनगर जोड्ने सडकमध्ये डेढ किलोमिटर कालोपत्रे भइसकेको छ । यो सडक ३ करोड ५० लाख रूपैयाँ बजेटमध्येबाट बनेको हो । अब अन्य ४ वडा सडक पनि सोही बजेटबाट कालोपत्रे हुनेछन् ।
एक सडक कालोपत्रे योजना पनि अघि सारिएको प्रमुख ढकालले बताए । “हरेक वर्ष एउटा वडामा स्तरीय कालोपत्रेसहितको सडक बनाउने योजना अघि सारेका छौं,” ढकालले भने, “हरेक वडालाई १ करोड ११ लाख रूपैयाँ दिएका छौं । त्यो बजेटमध्ये आधा सडकमै लगानी हुन्छ ।” आफ्नो कार्यकालमा नगरपालिकाका अधिकांश सडक कालोपत्रे गर्ने योजना रहेको प्रमुख ढकालले सुनाए ।
केन्द्रको बजेट पनि ल्याउने पहल भइरहेको छ । जसमध्ये १२ करोड रूपैयाँ केन्द्र सरकारले छुट्याइसकेको राष्ट्रिय सभाका सदस्य रायमाझीले सुनाए । यो क्षेत्रमा केरासँगै तरकारी उत्पादन हुन्छ । यहाँको मुख्य बजार विराटनगर र इटहरी नै हो । सडक बनेपछि स्थानीयसमेत खुसी भएका छन् । वर्षौंदेखि हिलो र धुलोमा बसेका स्थानीय आफ्ना घर अगाडि चिल्लो सडक बनेपछि उत्साहित देखिएका छन् । “बसाइँ सरेर इटहरी र विराटनगर गएकाहरू पनि फर्किन थालेका छन्,” स्थानीय तेजबहादुर बरुवालले भने, “विकास भनेकै सडक रहेछ । अरु त विस्तारै गर्दा पनि हुने रहेछ ।” सडक कालोपत्रे भएपछि स्थानीयको जीवनशैली नै फेरिएको उनले सुनाए । मोटरसाइकल र साइकलमा समेत हिंड्न नसकेर स्थानीयले सास्ती भोगेका थिए । सडक नबन्दा कतिको तरकारी खेतमै कुहिएर नष्ट भएको थियो । अब त व्यापारीहरू तरकारी खरिद गर्दा कृषकको घरघरमै आउने गरेको अर्का स्थानीय सूर्य सुवेदीले बताए ।

१७ वटै स्थानीय तह सडक निर्माणमा
त्यसो त सुन्दरहरैंचा मात्रै होइन विराटनगर महानगरपालिका, रंगेली, रतुवामाई, सुनवर्सी, केराबारी, उर्लाबारी, बेलबारी, बूढीगंगालगायत मोरङका १७ वटै स्थानीय तहले सडक निर्माणलाई प्राथमिकतामा राखेका छन् ।
विराटनगर महानगरपालिकामा धमाधम ढल र नालासहितको सडक निर्माण भइरहेको छ । केराबारी गाउँपालिकाले सबै वडा जोड्ने सडक सञ्जाल विस्तारको कामलाई तीव्रता दिएको छ । रंगेली नगरपालिकाले ग्राभेललाई कालोपत्रे र कच्ची सडकलाई ग्राभेल गर्ने योजना अघि सारेर काम गरिरहेको छ । “साँच्चै जनप्रतिनिधि आएपछि गाउँमा विकासको मूल फुटेको छ,” केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीले भने, “कसले राम्रो काम गर्ने भनेर स्थानीय तहबीच प्रतिस्पर्धा नै चलेको छ ।” जनताका असीमित चाहना भएपछि स्रोत साधनले भ्याएसम्म काम गरिरहेको उनको दाबी छ । “सडक निर्माण जनताको पहिलो माग छ,” रंगेली नगरपालिकाका प्रमुख दिलीप बगडिया भन्छन्, “बजेटले भ्याएसम्म सडकमा लगानी गरिरहेका छौं ।”

प्रतिक्रिया दिनुहोस्